

महेन्द्रनगर । पाँच राजनीतिक दलको भीमदत्त नगर कमिटीले मदन चोकका २२ सटर भत्काएको स्थानमा फुट निर्माण कार्य अघि बढाउन माग गरेका छन् ।
भीमदत्त नगरपालिकाले फुटपाथ निर्माण कार्य सुरु गरी अचानक स्थगित गरेपछि माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, नेकपा एकीकृत समाजवादी र नेपाल कम्युनिष्ट पार्टी(बहुमत) ले बुधबार संयुक्त विज्ञप्ति जारी फुट निर्माण कार्य अघि बढाउन माग गरेका हुन् ।

पाँच दलले नगरपालिका कार्यालय आफैंले निर्देशन दिएर सुरु गरेको फुटपाथ निर्माण कार्य स्थगित गर्नका लागि कार्यालयबाट सूचना सार्वजनिक गर्ने कार्य भत्र्सना योग्य भएको ठहर गरेका छन् । ती दलले २२ सटर भत्काइएको स्थानमा फेरि सटर बनाउन उपयुक्त नभएको भन्दै फुटपाथ बनाउनु भीमदत्त नगरपालिकासित आग्रह गरेका छन् ।

भीमदत्त नगरपालिकाले सार्वजनिक सूचना गरी २२ सटर निर्माण प्रक्रिया थालेपछि माओवादी केन्द्र सहित प्रतिपक्ष दलका युवा विद्यार्थी विरोध गरेका थिए । युवा विद्यार्थीले लगातार विरोध गरी दबाव दिएपछि केही दिन अघि फुटपाथ निर्माण सुरु गरिएको थियो ।
नगरपालिकाले अचानक फेरि निर्माण कार्य स्थगिन गर्न सार्वजनिक सूचना गरेपछि युवा विद्यार्थीसंगै राजनीतिक दल संयुक्त रुपमा विरोधमा देखिएका हुन् ।

नेकपा माओवादी केन्द्रका भीमदत्त नगर उपाध्यक्ष रघुबीर धामी तुफान, राष्ट्रिय प्रजातन्त्र पार्टीका नगर अध्यक्ष करन सिह पाल, नेकपा एकीकृत समाजवादीका नगर अध्यक्ष मदन सेराला, राष्ट्रिय स्वतन्त्र पार्टीका नगर सभापति अम्बादत्त जोशी र नेपाल कम्युनिष्ट पार्टी(बहुमत)का नगर इन्चार्ज रितिकले विज्ञप्तिमा हस्ताक्षर गरेका छन् ।
पाँच दल सम्बद्ध विद्यार्थीले दिउँसो नगरपालिका कार्यालयमा प्रमुख प्रशासकीय अधिकृत महेश बहादुर बमलाई फुटपाथ निर्माण कार्य स्थगितका लागि सार्वजनिक सूचना रद्द गर्न दबाव दिएका थिए ।

