

–मनोज बडू
प्रशिक्षण विभाग प्रमुख
पतञ्जली योग भीमदत्त नगर समिति
मान्छे को तन को असन्तुलनता , तोड्ने कला योग हो
मान्छे को मन शीघ्र सन्तुलन मा , मोड्ने कला योग हो
यो शारीरिक होस् कि मानसिक होस्,हो शक्ति को दायक
यो श्रद्धामय होस् कि तर्कमय होस् , हो भक्ति को दायक
बच्चा ले यदि योग गर्दछ भने , ऊ बन्छ झन् तेजिलो
बूढा ले यदि योग गर्दछ भने , ऊ बन्छ झन् ओजिलो
गर्छन् योग भने युवा र युवती , बन्छन् बडो दक्ष ती
चिर्छन् योग गरेर व्योम धरती , चुम्छन् जुनै लक्ष्य ती

बाटा जीवन का अनेक जति छन् , देखाउने योग हो
पाटा नैतिक का चरित्र – तह का , भेटाउने योग हो
योगः कर्मसु कौशलम् किन भने ? यो ध्यान ले गुन्नु छ
चित्तवृत्ति निरोध हो पनि भने , यो आत्म ले सुन्नु छ
पार्ने क्रोध र काम शान्त सहजै , केही भए योग हो
गर्ने लोभ र मोह अन्त्य सहजै , केही भए योग हो
यो हो दम्भ – घमण्ड – पर्वतचुली , तोड्ने फलामे घन
यो हो दुःख र दर्द का समय मा , गर्ने सुखी जीवन
यो हो स्वास्थ्य समृद्धि सत्फल दिने , हो ज्ञान विज्ञान यो
यो हो शान्ति सहिष्णुता बल दिने , हो आत्मसन्धान यो
बन्ने उन्नति मा सहायक यही , व्यक्तित्व सम्बद्र्धक
बन्ने मान र शानदायक यही , अस्तित्व संरक्षक
मान्छे जत्ति दबाब मा छ उसले , हो योग गर्ने उति
मान्छे जत्ति तनाब मा छ उसले , हो योग गर्ने उति
भेटी दक्ष गुरु प्रशिक्षित भई , गर्ने सदा योग हो
योगी वृत्ति लिएर धर्मफल को , भोग्ने महाभोग हो
खोला सागर बीच को घुलन नै , हो योग को आशय
आत्मा को परमात्म मा मिलन नै , हो योग को आशय
सारा सिद्धि र भुक्ति भक्ति जति को,दाता यही योग हो
संसारार्णव को विशाल भय को , त्राता यही योग हो
…………………………
व्योम= आकाश
योगः कर्मसु कौशलम् = काम गर्न सक्षम बनाउने कुरा योग हो
चित्तवृत्तिनिरोध = मन का वृत्तिहरू नियन्त्रण गर्ने काम
आत्मसन्धान = आत्मा को खोजी
महाभोग = प्रसाद प्राप्ति
भुक्ति = विभिन्न भोगहरू
संसारार्णव = संसाररूपी समुद्र
