
बेलौरी खुला मञ्चमा माघ म्याला सकियो, स्थानीय संस्कृति र समृद्धि प्रोत्साहनमा टेवा पुगेको मेयर चौधरीको भनाई

हरिश्चन्द्र बाग
बेलौरी । बेलौरीमा भलमन्सा समितिले आयोजना गरेको माघ म्याला सकिएको छ । बेलौरी नगरपालिकाले डगौरा थारु र रानाथारु समुदायको परम्परागत भलमन्सा प्रणालीलाई कानुनी मान्यता प्रदान गर्दै “भलमन्सा ऐन” पारित गरेको ऐतिहासिक अवसरमा तीन दिनसम्म माघ म्याला आयोजना गरेको थियो । पुस २६ देखि तीन दिनसम्म बेलौरी खुला मञ्चमा सञ्चालित मेलाको आइतबार साँझ समापन गरिएको छ ।
समापन समारोहका प्रमुख अतिथि बेलौरी नगरपालिकाका नगर प्रमुख पोतीलाल चौधरीले माघ पर्व (माघी) को अवसरमा सबैलाई शुभकामना व्यक्त गरे । उनले भने, “भलमन्सा प्रणाली थारु समुदायको परम्परा र पहिचानको मुख्य आधार हो । यसलाई कानुनी मान्यता दिएर नगरपालिकाले सांस्कृतिक सम्पदाको संरक्षणमा ऐतिहासिक कदम चालेको छ । यस प्रकारका कार्यक्रमले स्थानीय एकता र समृद्धिलाई प्रोत्साहन गर्नेछ ।”

विशिष्ट अतिथि नगर उपप्रमुख जोगराम चौधरीले थारु समुदायको सांस्कृतिक रीतिरिवाज जोगाउन बेलौरी नगरपालिका प्रतिबद्ध रहेको सुनाए । “ मेलाले परम्परागत पहिचानलाई बचाएको मात्रै नभई स्थानीय र राष्ट्रिय स्तरका कलाकारहरूको योगदानले हाम्रो संस्कृति उजागर गर्न महत्त्वपूर्ण भूमिका खेलेको छ ।”
मेलामा स्थानीयदेखि राष्ट्रिय स्तरका थारु कलाकारहरूले झाँकी, नृत्य र सांस्कृतिक प्रस्तुति दिनु भएको थियो । साथै, थारु समुदायका परम्परागत परिकारहरूको प्रदर्शनले दर्शकहरूको मन जितेको थियो । कार्यक्रमका दौरानमा नगरपालिकाले ९८ वटा गाउँलाई भलमन्सा प्रणालीमा दर्ता गराएको घोषणा पनि गरेको छ ।
माघ पर्व (माघी) थारु परम्परा, पहिचान र एकताको प्रतीकका रूपमा स्थापित भएको छ । बेलौरी नगरपालिकाले विभिन्न समुदायले मनाउने चाडपर्वहरू तथा मेला महोत्सव जस्ता कार्यक्रमहरूलाई निरन्तरता दिने प्रतिबद्धता जनाएको छ ।
