

महेन्दनगर । बेलडाँडी गाउँपालिकामा निर्माणाधीन १५ शैया अस्पताल भवनको निर्माण कार्य झण्डै डेढ महिनादेखि रोकिएको छ ।
डिपिआरमा निर्माणाधिन भवनको विमहरुको(क्षमता)मोटाई कम रहेको र उक्त प्राविधिक त्रुटि हटाउन माग गर्दै भवन निर्माण कम्पनि बङलामुखी बैजनाथ जेभीले कार्तिक २४ गतेदेखि निर्माण कार्य स्थगित गरेको हो ।
निर्माण कम्पनीले डिपिआरमा उल्लेख गरिए अनुसारको विमहरुले भवनलाई धान्न नसक्ने र डिपिआरमा प्राविधिक त्रुटी रहेको भनेर निर्माणकार्य स्थगित गरेको गाउपालिका अध्यक्ष हरिश चन्द्र रानाले बताए ।
‘डिपिआरमा उल्लेख गरीएको अनुसारका विमहरुले दुईतले भवनलाई धान्न नसक्ने भनेर निर्माण कम्पनीले हामीलाई गुनासो गरेको छ,‘ गाउँपालिका अध्यक्ष रानाले भने, ‘भवनको विमहरु मोटो राख्नुपर्ने तर पातलो राखेकोले भवनको दिर्घकालिन स्थायित्वका लागि पनि डिपिआर भएको त्रुटी नै सच्याउन निर्माण कम्पनिले सुझावसहित आग्रह गरेको छ । हामीले त्यो गुनासो डिपिआर निर्माण कम्पनीलाई भनेका छौ, त्यसको प्रतिक्रिया आएको छैन । प्रतिक्रिया आउनेवित्तिकै निर्णय लिन्छौ ।’
निर्माण कम्पनिले कार्तिक २५ गतेदेखि निर्माण कार्य स्थगित गरेको छ । निर्माणाधीन भवनको बिमको मोटाइ पातलो रहेकाले दुई तल्लाको संरचना भार धान्न नसक्ने जोखिम रहेको भन्दै कन्सल्टेन्सीले तयार पारेको डिजाइनले भवनलाई दीर्घकालीन रूपमा सुरक्षित बनाउन नसक्ने निर्माण कम्पनीले जानकारी दिएको छ । वीमको मोटाई २ फिट हुनुपर्नेमा १.८ रहेको छ, भने चौडाई १.२ फिट हुनुपर्नेमा १ फिट मात्र रहेको निर्माण कम्पनीका इन्जिनियर सुनिल कुँवरले बताए ।

निर्माण कम्पनीलाई दिईएको डिपिआरमा विमको मोटाई कम देखिएकोले निर्माण कार्य रोकिएको गाउपालिकाको तर्फबाट साईडहेर्ने सव ईन्जिनियर पदम विष्टले बताए ।
‘निर्माण कम्पनीलाई दिएको डिपिआरमा विमहरु पातलो राखिएको छ,’ सव ईन्जिनियर विष्टले भन्नुभयो ‘अव वास्तविकतामै विमको मोटाई कम राखिएको हो कि निर्माणकम्पनीलाई दिईएको डिपिआरमा मात्रै कम हो, एकिन गरेर निर्माण कार्य अगाडि बढाउन ताकेता गछौ ।’
डिपिआर निर्माण कम्पनिसंग भएको डिपिआरको आधारमा निर्माण कम्पनीमा निर्माण गर्न निर्देशन दिने पालिकाका साईड हेर्ने सवईन्जिनियर बिष्टले बताए ।
‘डिपिआरमै गल्ती हो भने डिपिआर सच्याएर दिन्छौ, त्यसलाई स्विकृती गराएर काम गराउनुप¥यो,’ उनले भने,‘डिपिआरमा गल्ती छैन भने पहिले जे छ त्यहि अनुसार काम गर्न लगाउछौ ।’
निर्माणाधिन भवनको २० प्रतिशत मात्रै कार्य प्रगति भएको निर्माण कम्पनीले जनाएको छ । गाउँपालिकाले २०७९ मङ्सिर ६ गते बङलामुखी बैजनाथ जेभी धनगढी कैलालीसँग रु. १६ करोड ५१ लाख ६२ हजार ५ सय २२ रुपयाँमा दुई बर्षमा निर्माण सम्पन्न गर्ने गरी ठेक्का सम्झौता गरेको थियो । तर ठेक्काको म्याद सकिएर कार्तिकमहिनामै दुई बर्षका लािग म्याद थपिएको छ ।
पहिले पनि बजेट अभावका कारण निर्माण कार्य एक बर्षजति रोकिएको थियो । उहाँका अनुसार डिपिआर एम एच इन्जिनियरिङ कन्सल्टिङ एण्ड कन्स्ट्रक्सन प्रा.लि.ले तयार पारेको हो ।
