
एमाले कञ्चनपुर इन्चार्ज पालले लिइन् प्रधानमन्त्रीलाई मझगाउँ विमानस्थल सञ्चालन समितिको ज्ञापन बुझाउने जिम्मा

महेन्द्रनगर । प्रधानमन्त्री केपी शर्मा ओलीसित समय नभएपछि एमाले कञ्चनपुर इन्चार्ज निरुदेवी पालले प्रधानमन्त्रीलाई ज्ञापन बुझाउने जिम्मा लिएकी छन् ।
सुदूरपश्चिम विश्वविद्यालय केन्द्रीय कार्यालयमा गरिएको पाँचौ दीक्षान्त समारोहमा आएका प्रधानमन्त्री ओलीलाई मझगाउँ संघर्ष समितिले विमानस्थल सञ्चालनका लागि ज्ञापन पत्र बुझाउन समय माग गरेको थियो ।


प्रधानमन्त्रीको व्यस्तताका कारण समय नभएपछि समितिले पाल सहितका नेताहरुसित छलफलमा पालले ज्ञापन पत्र प्रधानमन्त्रीलाई बुझाउने जिम्मा लिएकी हुन् ।
एमाले पोलिटब्युरो सदस्य पाल पूर्व साँसद हुन् । उनी प्रधानमन्त्री ओलीसम्म पहुँच भएकी नेता हुन् । समितिले एमाले केन्द्रीय सचिव लेखराज भट्ट, सुदूरपश्चिम प्रदेशका पूर्व मुख्यमन्त्री राजेन्द्र सिह रावल, भीमदत्तका मेयर पदम बोगटी, एमाले कञ्चनपुर अध्यक्ष लक्ष्मी बुढा, दोधारा चाँदनी नगरपालिकाका मेयर किशोर कुमार लिम्बू लगायतका नेताहरुसित कार्यक्रम स्थलमा छलफल गरेको थियो ।
समितिका सचिव राजेन्द्र बहादुर चन्दले एमाले पूर्व साँसद पालले प्रधानमन्त्रीलाई ज्ञापन बुझाउने जिम्मा लिएको बताए । समितिले प्रधानमन्त्री ओलीलाई निर्माणाधिन विमानस्थल निरीक्षणका लागि समेत पहल गरि दिन नेताहरुसित आग्रह गरेको थियो ।
