

महेन्द्रनगर । भीमदत्त नगरपालिका १६ स्थित मझगाँउ विमानस्थलको निर्माण तथा विस्तार कार्यमा देखिएका समस्या समाधानका लागि भीमदत्तका मेयर पदम बोगटीले सरोकारवालासित छलफल गरेका छन् ।
गृहमन्त्री रमेश लेखकले केही महिना अघि गृहमन्त्रालयमा सरोकारवाला निकायसित छलफल गरी समस्या समाधान भएको दावी गर्दै बैशाख १ गतेदेखि परीक्षण उडान गर्ने बताएका थिए ।
गृहमन्त्रीको भनाई अनुसार परीक्षण उडान नभएपछि उनी चौतर्फी आलोचित भएका छन् । गृहमन्त्री लेखकले चौतर्फी आलोचना खेपि रहेका बेला मेयर पदम बोगटीले विमानस्थल समस्या समाधानका लागि सक्रियता देखाएका हुन् ।
भीमदत्तका मेयर बोगटी र उप मेयर निलम लेखक जोशी दुबै गृहमन्त्री बोगटी पक्षका हुन् । कञ्चनपुर काँग्रेसमा गृहमन्त्री लेखक र पूर्व परराष्ट्र मन्त्री एनपी साउँदका दुई गुट छन् । काँग्रेस संस्थापभित्र लेखक र साउँदले आ–आफ्नो गुट बनाएका हुन् । साउँद समूहका बोगटी स्थानीय तह निर्वाचन अघि लेखक गुटमा आएका हुन् ।
विमानस्थल निर्माण कार्य एवम् विस्तारमा देखिएका समस्या समाधानका विषयमा सरोकारवालासंग सकारात्मक छलफल भएको नगरप्रमुख पदम बोगटीले बताए ।

‘विमानस्थल निर्माण तथा विस्तार कार्यमा देखिएका समस्या समाधानका लागि सम्बन्धित निकायहरु बिच सकारात्मक छलफल सम्पन्न भएको छ ।’ उनले भने ‘जनताहरुको लामो समयदेखिको सपना साकार पार्न विमानस्थल विस्तार अपरिहार्य छ । सबै सरोकार पक्षको सहकार्यले अब यो परियोजना द्रुत गतिमा अघि बढ्नेछ ।’
उनकाअनुसार बैठकले विमानस्थल विस्तारमा अवरोध पु¥याइरहेका संरचना व्यवस्थापन, नेपाली सेनाका लागि अस्थायी पेरिमिटर फेन्सिङ निर्माण, सुरक्षित बसोबासको व्यवस्था, सेनालाई अस्थायी परेड ग्राउण्डको व्यवस्था, खानेपानी तथा सरसफाई सुविधा लगायतका विषयमा निर्णय भएका छन् ।
त्यस्तै, विमानस्थल क्षेत्रभित्रका जग्गा व्यवस्थापन तथा हाल नेपाली सेनाले प्रयोग गरिरहेको क्षेत्रलाई वैकल्पिक रूपमा व्यवस्थित गरी विमानस्थल विस्तार कार्यलाई दिने सहमति भएको नगर प्रमुख बोगटीले बताए ।
मझगाउँ विमानस्थलको जग्गा सेनाले संकटकालमा कब्जा गरी जग्गाधनी पूर्जा बनाएको थियो । नागरिक उड्डयन प्राधिकरणका अधिकारीहरुले आफूहरुसित समन्वय नगरी संकटकालमा जग्गा गरेको बताउँदै आएका छन् ।
रक्षा मन्त्रालय र जङ्गी अड्डासित छलफलमा पनि प्राधिकरणका अधिकारीहरुले जग्गा कब्जाको विषय उठाउँदै आएका छन् ।
छलफलमा नगर उपप्रमुख निलम लेखक जोशी, प्रमुख प्रशासकीय अधिकृत महेश बहादुर बम, नेपाली सेनाका प्रमुख सेनानी कमल सिंह विष्ट, सेनानी रोशन पन्थ, तथा विमानस्थल आयोजनाका आयोजना प्रमुख युवराज रिजाल लगायत सहभागी भएका छन् ।

