

महेन्द्रनगर । प्रेस चौतारी नेपाल कञ्चनपुरले एमाले महासचिव शंकर पोखरेललाई प्रमुख अतिथि बनाएर आयोजना गरेको पत्रकार सम्मेलनमा उद्योग, बाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले आशन ग्रहण लिएर आक्रोश पोखेका छन् ।
सोमबार विहान होटेल ओपेरामा पत्रकार सम्मेलन आयोजना गरिएको हो । कार्यक्रममा महासचिव पोखरेललाई प्रमुख अतिथिको आशन ग्रहण गराएपछि अन्य अतिथिको आशन ग्रहण गराइएको थियो । मन्त्री भण्डारीलाई एमाले केन्द्रीय सल्लाहकार परिषद् सदस्य नन्दलाल चटौतभन्दा पछि आशन ग्रहण गराएपछि रिसाएर आक्रोश पोेखेका छन् ।

मन्त्री भण्डारीले रिसाएर चौतारीको कार्यक्रम उपस्थिति रजिष्ट्ररलाई मञ्चबाट फालि दिए । कार्यक्रममा सहभागी नेताको उपस्थितिको हस्ताक्षर गराउन रजिष्ट्रर मन्त्री भण्डारीसम्म पुगेको थियो ।

आशन ग्रहणका क्रममा मन्त्री भण्डारीले कार्यक्रम सञ्चालकलाई एकमुष्ट आशन ग्रहण समेत आग्रह गरे । त्यसपछि पनि आशन ग्रहण कार्यक्रम नरोकिएपछि उनी रिसाएर रजिष्ट्रर फाल्ने अवस्थामा पुगेका छन् ।
बैतडीका प्रतिनिधि सभा सदस्य भण्डारी एमाले केन्द्रीय सदस्य छन् । उनी आइतबार महेन्द्रनगर आएका हुन् ।
एमाले कञ्चनपुरको जिल्ला प्रतिनिधि परिषद बैठकलाई सम्बोधन गर्न महासचिव पोखरेल आइतबार महेन्द्रनगर आएका थिए ।
महासचिव पोखरेल सहित पत्रकार सम्मेलनमा एमालेका अन्य नेताहरु सहभागी थिए । प्रेस चौतारी कञ्चनपुरका अध्यक्ष मदन गिरीको अध्यक्षतामा गरिएको कार्यक्रममा सचिव धन बहादुर बोहराले कार्यक्रम सञ्चालन गरेका थिए ।

