

महेन्द्रनगर । सुदूरपश्चिम रोयल्सलाई हराउँदै लुम्बिनी लायन्सले दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) क्रिकेटको उपाधि जितेको छ ।
कीर्तिपुरको त्रिवि क्रिकेट मैदानमा शनिबार भएको फाइनलमा लुम्बिनीले सुदूरपश्चिमलाई ६ विकेटले हरायो । सुदूरपश्चिमले दिएको ८६ रनको लक्ष्य लुम्बिनीले ९ ओभरमा ४ विकेट गुमाएर भेटायो । लुम्बिनीका दिनेश अधिकारीले ४२ रन बनाए । सुदूरपश्चिमका हेमन्त धामीले २ विकेट लिए ।


यसअघि टस जितेर ब्याटिङ गरेको सुदूरपश्चिमले १९ ओभर १ बलमा ८५ रन बनाउँदा सबै विकेट गुमायो। सुदूरपश्चिका ईशान पाण्डेले सबैभन्दा धेरै ५१ बलमा ३३ रन बनाए । लुम्बिनीका कप्तान रोहित कुमार पौडेलले ह्याट्रिक विकेट तथा शेर मल्ल र रुबेन ट्रम्पेलमानले ३÷३ विकेट लिए ।
पहिलो संस्करणमा तालिकाको पुछारमा रहेर लिग चरणबाटै बाहिरिएको लुम्बिनीले यस पटक उपाधि जित्यो । सुदूरपश्चिम भने लगातार दोस्रो पटक उपविजेता बन्यो । सुदूरपश्चिम पहिलो संस्करणको फाइनलमा जनकपुर बोल्ट्ससँग पराजित भएको थियो ।
लुम्बिनीले एनपिएलको उपाधिसँगै १ करोड १० लाख रुपैयाँ पुरस्कार प्राप्त गरेको छ । यस्तै उपविजेता बनेको सुदूरपश्चिमले ५१ लाख रुपैयाँ, तेस्रो भएको विराटनगर किङ्ग्सले २५ लाख र चौथो भएको काठमान्डु गोर्खाजले १५ लाख रुपैयाँ प्राप्त गरेको छ ।

