

बाल विवाह कानुनी रुपमा बन्देज छ । यसलाई दण्डनीय अपराध मानिएको छ । २० वर्ष उमेर नपुगी विवाह गर्न नपाउने कानुनी प्रावधान छ । समाजमा अझै उमेर नपुगी विवाह गर्ने क्रम रोकिएको छैन । कानुनी ज्ञानको कमी, कमजोर आर्थिक अवस्था, सामाजिक संस्कार, अशिक्षा, सामाजिक सञ्जालको दुरुपयोग लगायतका विभिन्न कारण बाल विवाहका कारक ठानिन्छन् । कानुनी अज्ञानता हटाउन सके बाल विवाह अन्त्य गर्न सहयोग पुग्ने सम्बन्धित क्षेत्रका जानकारहरु बताउँछन् । त्यसका पछाडि कानुनको प्रभावकारी कार्यान्वयको खाँचो छ । कानुनको फितलो कार्यान्वयन, कानुनी सचेततना, बाल विवाह नियन्त्रणका लागि सरोकारवाला निकायको भूमिका सम्बन्धि विद्यार्थी सपना स्नेहीसित गरिएको कुराकानी
– २० वर्ष उमेर नपुगी विवाह गर्न नपाइने कानुनी व्यवस्था छ । गाउँ समाजमा अझै पनि बालविवाह भएको सुन्न र देख्न पाइन्छ, यो कानुन नमानेर हो कि नजानेर हो वा सामाजिक कारणले यस्तो भएको हो ?

बालविवाह हुनुका पछाडि धेरै कारण छन् । केही मानिसले कानुनको जानकारी नपाएर गर्छन् भने केहीले जानकारी हुँदाहुँदै पनि सामाजिक परम्परा, गरिबी, परिवारको दबाब वा इज्जत जोगाउने सोचका कारण कानुन उल्लङ्घन गर्छन् । त्यसैले यो केवल कानुन नजानेर मात्र होइन, सामाजिक र आर्थिक कारणले पनि भइरहेको छ ।
–. कानुनले पूर्ण रूपमा रोक्न सकिन्छ कि सकिँदैन ?
कानुनले बालविवाह नियन्त्रण गर्न महत्त्वपूर्ण भूमिका खेल्छ, तर कानुन मात्रले पूर्ण रूपमा रोक्न सक्दैन । जबसम्म समाजको सोच परिवर्तन हुँदैन, शिक्षा र चेतनाको विकास हुँदैन, तबसम्म बालविवाह लुकेर भइरहन सक्छ ।
३. कानुन कार्यान्वयनको अवस्था के कस्तो देख्न हुन्छ त ?
नेपालमा बाल विवाह विरुद्ध कानुन बनेको छ र दोषीलाई सजायको व्यवस्था पनि छ । तर कार्यान्वयन सबै ठाउँमा समान छैन । शहरतिर अवस्था सुधार हुँदै गएको देखिन्छ भने ग्रामीण र दुर्गम क्षेत्रमा अझै पनि बालविवाहका घटना भइरहेका छन् ।
४. कानुन कार्यान्वयन हुन नसक्नुका कारण के हुन सक्छन् ?
यसमा पछाडि धेरै कारण छन् । ती मध्ये जनचेतनाको कमी, गरिबी, सामाजिक परम्परा र रूढिवादी सोच, जन्मदर्ता र उमेर प्रमाणित गर्ने कमजोरी, स्थानीय स्तरमा कमजोर, निगरानी, परिवार र समुदायले घटना लुकाउने प्रवृत्ति लगायतका छन् । यी कारणले कानुन प्रभावकारी रूपमा लागू हुन कठिन भएको छ ।
–. बालविवाहलाई कानुनको प्रभावकारी कार्यान्वयनले पूर्ण रूपमा रोक्न सकिन्छ कि त्यो बाहेक अरू कुरा पनि गर्न आवश्यक देखिन्छ ?

कानुनको कडाइ आवश्यक छ, तर त्यो मात्र पर्याप्त हुँदैन। गुणस्तरीय शिक्षा, जनचेतना, महिला सशक्तीकरण, किशोर–किशोरीलाई जीवनोपयोगी शिक्षा तथा आर्थिक अवसरको व्यवस्था पनि आवश्यक छ ।
– बाल विवाह हुने कारण के देखिन्छ ?
बाल विवाह समाजको विद्यमान सबैभन्दा ठूलो समस्या हो । यसका पछाडि धेरै कारण छन् । त्यसमा गरिबी, अशिक्षा, सामाजिक तथा सांस्कृतिक परम्परा, लैङ्गिक विभेद, छोरीलाई बोझ ठान्ने सोच, परिवारको दबाब, किशोर–किशोरीको अधिकारबारे, जानकारीको कमी, असुरक्षाको भावना लगायतका छन् । अहिले सामाजिक प्रविधिको विकाससंगै बढ्दो सामाजिक सञ्जालको प्रयोगले पनि बाल विवाह भएको देखिन्छ ।
– बालविवाह रोक्न तीन तहका सरकारले के कस्ता कार्यक्रम गरी रोक्न सक्छन् ?
संघीय सरकारः नीति निर्माण, कानुन कार्यान्वयन, राष्ट्रिय अभियान सञ्चालन गर्न सक्छन् । प्रदेश सरकारः विद्यालय तथा समुदायमा चेतनामूलक कार्यक्रम, निगरानी तथा समन्वय गर्न सक्छन् । स्थानीय सरकारः घरदैलो अभियान, विद्यालय भर्ना सुनिश्चित गर्ने, बाल क्लब गठन गर्ने, बालविवाहको सूचना संकलन र तत्काल हस्तक्षेप गर्ने लगायतका कार्यक्रम अघि बढाउन सक्छन् ।
–. यसमा गैरसरकारी संस्था र नागरिक समाजको भूमिका कस्तो हुनु पर्छ ?
गैर सरकारी संस्थाले सामाजिक जागरणका कार्यक्रम सुरु गर्न सक्छन् । जनचेतना फैलाउने, बालअधिकारबारे शिक्षा दिने, जोखिममा रहेका बालबालिकालाई सहयोग गर्ने सरकारसँग सहकार्य गर्ने, बालविवाहविरुद्ध सामाजिक अभियान सञ्चालन गर्ने जस्ता कार्य गैर सरकारी क्षेत्रबाट गर्न सकिन्छ ।
– सरकारले सन् २०३० सम्म नेपालबाट बालविवाह अन्त्य गर्ने प्रतिबद्धता गरेको छ । यो प्रतिबद्धता पूरा होला ?
यो लक्ष्य प्राप्त गर्न सम्भव छ, तर चुनौतीपूर्ण छ । यदि सरकार, समुदाय, विद्यालय, अभिभावक, गैरसरकारी संस्था र युवाहरूले मिलेर निरन्तर काम गरे भने बालविवाहको दर धेरै घटाउन सकिन्छ । तर केवल प्रतिबद्धता गरेर मात्र लक्ष्य हासिल हुँदैन; प्रभावकारी कार्यान्वयन आवश्यक हुन्छ ।
–त्यसो भए अरु चाहिँ के गर्न पर्छ होला ?
बालविवाहले बालबालिकाको शिक्षा, स्वास्थ्य, आत्मविश्वास र भविष्यमा गम्भीर असर पार्छ । त्यसैले बालविवाह अन्त्य गर्नु सरकारको मात्र होइन, सम्पूर्ण समाजको जिम्मेवारी हो । सचेत अभिभावक, शिक्षित समाज र प्रभावकारी कानुन कार्यान्वयनबाट मात्र बालविवाहमुक्त नेपाल निर्माण गर्न सकिन्छ ।

