

महेन्द्रनगर । भीमदत्त नगरपालिका १ बाराकुण्डाकी रिशिका कुँबर सुदूरपश्चिम विश्वविद्यालयमा बीबीएस पाँचौ सेमेष्टरमा अध्ययनरत छिन् । विश्वविद्यालय अध्ययनसंगै उनी घरमा कुखुरा पालन व्यवसाय गर्ने तयारी गरेकी छिन् । कुखुरा पालनका लागि खोर लगायतका संरचना बनाइ सकेकी छन् ।
खोरमा एक सय चल्ला हालेर पोल्ट्री सञ्चालन गर्ने योजना कुँबरको छ । ‘पढाई गरि रहेका छौ, यसबाट केही सिक्न सक्छौ, केही गर्न सक्छौ, त्यस कारण कुखुरा पालन गरि रहेकी छु’ उनी भन्छिन्,‘घरबाट सपोर्ट छ, तालिम लिई सकेकी छु, पोल्ट्री सुरु गर्छु ।’

भीमदत्त नगरपालिका ३ का मन्जु गुरुधामी तरकारी खेतीमा लागेकी छन् । उनी पनि सुदूरपश्चिम विश्वविद्यालयमा पढ्छिन् । पढे लेखेको व्यक्तिले काम गर्न नहुने सोचाई विरुद्ध आफू तरकारी खेतीमा लागेको उनी बताउँछिन् ।
‘हाम्रो समाजमा पढे लेखेको मान्छेले केही गर्न हुँदैन भन्ने सोचाई व्यापक छ, यो एकदमै गलत छ, पढे लेखेको मान्छेले झन अरुलाई पनि सिक्ने गरी काम गर्ने हो’ उनी भन्छिन् ।
दोधारा चाँदनी नगरपालिका ७ रामपुरे टापुकी पुनम सुनार बंगुर पालनमा लागेकी छन् । १२ कक्षा उत्तीर्ण गरी उच्च शिक्षा अध्ययन गर्ने तयारीसंगै बंगर पालनका लागि अघि बढेकी छन् । उनी बंगर पालनको तालिम लिएर अघि बढेकी छन् ।
‘यो तालिम पहिला नै लिएको भए पहिला नै सुरु गर्थे’ उनी भन्छिन् ।
भीमदत्तका कुँबर, गुरु धामी र दोधारा चाँदनीकी सुनार सहित किशोर समूहमा आवद्ध भएर उद्यम व्यवसायमा लागेका हुन् । भीमदत्त र दोधारा चाँदनी नगरपालिकाका १२ किशोरी समूहमा ३ सय ६० किशोरी आवद्ध छन् ।
बाल विवाह न्यूनीकरणका लागि दुबै नगरपालिकाका ३÷३ वडामा गैर सरकारी संस्था पेसवानका परियोजना सञ्चालन गरिएपछि किशोरी समूह गठन गरिएका थिए ।
किशोरीहरुलाई बाल विवाह विरुद्ध जागरुक गरी सामाजिक सचेतना फैलाएर न्यूनीकरणमा सहयोगका लागि किशोरी समूह गठन गरिएका छन् ।
संस्थाका सदस्य दमन चन्दले कमजोर आर्थिक अवस्थाले हुने बाल विवाह न्यूनीकरण गर्न सहयोग पुग्ने आशले किशोरी समूहका सदस्यका लागि लघु उद्यम व्यवसायका कार्यक्रम सञ्चालन गरिएको बताए ।

‘हाम्रो टार्गेट एरिया भनेकै गरीब, सीमान्तकृत समुदाय हुन्, यो समुदायको आर्थिक अवस्था कमजोर भएर बाल विवाह पनि धेरै यिनै समुदायमा हुने गरेको छ’ उनले भने,‘ आर्थिक अवस्थामा सुधार भएर रोक्न सकिन्छ भनेर अहिले किशोरी समूहमा आवद्ध सदस्य व्यवसायमा लागेका छन्, यसबाट किशोरी र अभिभावक दुबैको आर्थिक अवस्था सुधार हुन्छ ।’
संस्थाका सदस्य चन्द अनुसार दुबै नगरपालिकामा ४६ किशोरी उद्यम व्यवसाय सुरु गरेका छन् । उनीहरु च्याउ खेती, बंगुर पालन, पोल्ट्री, तरकारी र मसला खेतीमा लागेका छन् ।
संस्थाबाट किशोरीहरुले तालिम, आवश्यक सामाग्री र प्राविधिक सहयोग पाएका छन् । तरकारी खेती सिँचाईका लागि बोरिङ्ग संस्थाबाट जडान गरिएको छ । भीमदत्त नगरपालिका १ रौटेलामा सिँचाई कुलो निर्माण गरी सिँचाई सुविधा पुगाईएको छ ।
सरकारले विश्व सहश्राब्दी लक्ष्य अनुसार सन् २०३० सम्म बाल विवाह अन्त्य गर्ने लक्ष्य राखेको छ । नेपालमा २० वर्ष नपुगेर विवाह गर्न नपाउने कानुनी व्यवस्था छ ।
किशोरीहरु समूहमा आवद्ध भएपछि बाल विवाह सम्बन्धि कानुनी ज्ञान र बेफाइदाबारे थाह पाएकी छन् ।
भीमदत्त नगरपालिका १ बाराकुण्डाकी जिज्ञासा विकले समूहमा लागेपछि २० वर्ष पुगेर मात्रै विवाह गर्न पाउने कानुनी व्यवस्थाबारे थाह पाएको बताइन् ।
‘समूहमा लागेर धेरै कुरा सिकियो, चाह्यौ भने धेरै कुरा गर्न सक्छौ, समाजमा गलतलाई गलत भन्न सक्छौ, अहिले हाम्रो कुरा पनि सुनिन्छ’ कक्षा १० मा अध्ययनरत विकले भनिन्,‘ २० वर्ष भन्दा माथि पुगेपछि मात्रै विहे गर्न पर्छ भनेर पनि थाह पायौ ।’
दोधारा चाँदनकी प्रभा भट्ट जलवायु परिवर्तन र सामाजिक सञ्जालले बाल विवाह बढाउने कार्य गरिएको बताउँछिन् ।
बाल विवाह न्यूनीकरण परियोजना सञ्चालनपछि स्थानीय तहलाई योजना ल्याउनु पर्ने दबावमा परेका छन् ।
दोधारा चाँदनी नगरपालिकाले यस वर्ष बाल विवाह मुक्त वडा बनाउने अभियान सञ्चालन गर्ने योजना बनाएको महिला तथा बालबालिका शाखा प्रमुख डम्मरा लेखकले बताइन् ।
‘अहिलेसम्म त्यस्तो कार्यक्रम गरिएको छैन, यस वर्ष बाल विवाह मुक्त वडा बनाउने योजना बनाएका छौ, त्यस अनुसार अभियान चलाउँछौ’ उनले भनिन् ।
पेसवानका अध्यक्ष डा. तिलामाया ढकाल खरेल गरीबि, अशिक्षा, सामाजिक संस्कार, सामाजिक सञ्जाल, जल वायु परिवर्तन, कानुनी सचेतनाको कमीले उमेर बाल विवाह हुने गरेको बताउँछिन् ।
‘किशोरी समूह बलियो बनाएर जान सक्यौ भने बाल विवाह अन्त्य गर्न सकिन्छ’ अध्यक्ष ढकाल भन्छिन् ।
