
शुक्लाफाँटाका जनप्रतिनिधि, कर्मचारी र शिक्षकले भोटेकोशी बाढी पीडितलाई एक दिनको पारिश्रमिक सहयोग गर्ने

महेन्द्रनगर । रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीबाट भएको जनधन तथा भौतिक पूर्वाधारको क्षतिप्रति शुक्लाफाँटा नगरपालिकाले दुःख व्यक्त गर्दै विपद् प्रभावितको उद्धार, राहत तथा पुनर्लाभका लागि सहयोग गर्ने निर्णय गरेको छ ।
नगरपालिकाका अनुसार २०८३ भदौ २० गते बिहान ८ः४० बजे नेपाल–चीन सीमाबाट बग्ने भोटेकोशी नदीमा आएको भीषण बाढीका कारण रसुवा, नुवाकोट, धादिङ, गोरखा लगायत १४ भन्दा बढी स्थानीय तहमा ठूलो जनधन तथा भौतिक पूर्वाधारमा क्षति पुगेको छ ।

बाढीमा परी ज्यान गुमाउनेप्रति नगरपालिकाले भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनप्रति समवेदना व्यक्त गरेको छ । साथै घाइतेहरूको शीघ्र स्वास्थ्यलाभ तथा बेपत्ता भएकाहरूको शीघ्र खोजी र सकुशल उद्धारको कामना गरेको छ ।
विपद्को कठिन अवस्थामा प्रभावित नागरिकको उद्धार, राहत, पुनर्लाभ तथा विपद् व्यवस्थापनमा थप सहयोग पु¥याउने उद्देश्यले शुक्लाफाँटा नगरपालिकाका जनप्रतिनिधि, कर्मचारी तथा सामुदायिक विद्यालयका शिक्षकहरूबाट एक दिनको पारिश्रमिक बराबर हुने करिब रु. ७ लाख रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्ने निर्णय गरिएको नगर प्रमुख रणबहादुर महराले जानकारी दिएका छन् ।
नगरपालिकाले विपद्को समयमा सबै नागरिक, संघसंस्था, निजी क्षेत्र तथा सरोकारवाला निकायलाई प्रभावित नागरिकको उद्धार, राहत, पुनर्लाभ तथा पुनर्निर्माणका कार्यमा सहयोग गर्नसमेत अपिल गरेको छ ।
नगर प्रमुख महराले विपद्को यस कठिन घडीमा सबै एकजुट, संयमित र जिम्मेवार भएर प्रभावित नागरिकको साथमा उभिनुपर्ने बताएका छन् ।
