
धौलीगंगा बाँधको सिल्ट सफा गर्न ढोका खोल्न थालिएपछि कञ्चनपुर प्रशासनले गर्यो महाकाली तटीय क्षेत्रका वासिन्दालाई सतर्क रहन आग्रह

महेन्द्रनगर । भारतको उत्तराखण्डस्थित धौलीगंगा जलविद्युत् परियोजनाको बाँधबाट महाकाली नदीमा पानी छोड्न थालिएको छ । बाँधमा जम्मा भएको सिल्ट सफा गर्न शनिबार बिहान १ः०० बजेदेखि बाँधका ढोका खोलिएको हो ।
एनएचपीसी लिमिटेड धौलीगंगा पावर स्टेसनका अनुसार जलाशयमा जम्मा भएको सिल्ट सफा गर्न ४८ घण्टासम्म सिल्ट फ्लसिङ गरिनेछ । असोज १७ गते बिहान १ बजेदेखि सुरु भएको यो प्रक्रिया असोज १९ गते बिहान १ बजेसम्म चल्नेछ ।
बाँधबाट पानी छोडिएपछि महाकाली नदीको तल्लो तटीय क्षेत्रमा जलस्तर बढ्न सक्ने भन्दै जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले नदी किनारका बासिन्दालाई सतर्क रहन आग्रह गरेको छ । प्रशासनले असोज १७ देखि १९ गतेसम्म र त्यसपछि पनि महाकालीको जलस्तर बढ्न सक्ने सम्भावना रहेको जनाएको छ ।
धौलीगंगा बाँधबाट पानी छोड्ने पूर्वनिर्धारित कार्यक्रम यसअघि असोज ११ र १२ गतेका लागि तय गरिएको थियो । तर निरन्तर वर्षा र महाकाली नदीमा बढेको जलस्तरका कारण कार्यक्रम स्थगित गरिएको थियो ।

त्यतिबेला धारचुलाका उपजिलाधिकारी आशीष जोशीले धौलीगंगा पावर स्टेसनलाई पत्र पठाउँदै बाँधबाट पानी छोड्दा महाकालीको जलस्तर खतरा तहभन्दा माथि पुग्न सक्ने जोखिम औँल्याएका थिए ।
बमक÷१४४०ह२३३बकmष्क२६–दगिभपख–१–३०९२०२६०८१६२८१–०४१०२०२६०७३१३७. वउन त्यस बेला बनबासास्थित शारदा ब्यारेजमा गरिएको मापनअनुसार महाकाली नदीको बहाव १ लाख ७७ हजार ९ सय २ क्युसेकसम्म पुगेको थियो ।
पछिल्लो समय भने नदीको बहाव घट्दै गएको छ । शनिबार बिहान ६ बजेको मापनअनुसार शारदा ब्यारेजमा महाकालीको बहाव ४० हजार ५ सय ९९ क्युसेक रहेको छ ।
बाँधबाट छोडिएको पानी क्रमशः तल्लो तटीय क्षेत्रमा पुग्दा महाकालीको बहाव बढ्न सक्ने भएकाले प्रशासनले नदीमा माछा मार्न, दाउरा संकलन गर्न, फोटो तथा भिडियो खिच्न वा अन्य प्रयोजनले नदी किनार तथा नदीभित्र नजान आग्रह गरेको छ ।
स्थानीय प्रशासन र सुरक्षा निकायले महाकाली नदीको जलस्तरमा भइरहेको परिवर्तनको निगरानी गरिरहेका छन् । जोखिम देखिए तत्काल सुरक्षित स्थानमा जान र प्रशासन तथा सुरक्षा निकायबाट जारी हुने सूचना पालना गर्न नदी तटीय क्षेत्रका बासिन्दालाई आग्रह गरिएको छ ।
साभार : इकान्तिपुर
