

महेन्द्रनगर । मर्निङ्ग ग्लोरी सेकेन्डरी स्कुलले विजया दशमी तथा शुभ दीपावलीको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम गरेको छ । विद्यालय परिसरमा आयोजित कार्यक्रममा विद्यार्थीहरूले विभिन्न सांगीतिक प्रस्तुति तथा नाटक प्रदर्शन गरेका थिए ।
विद्यार्थीहरूले गीत, संगीत र नाटकमार्फत नेपाली मौलिक संस्कृति, परम्परा तथा चाडपर्वको महत्व झल्काउने प्रस्तुति दिएका थिए ।


विद्यार्थीहरूलाई नेपाली समाजमा प्रचलित परम्परा, संस्कृति, रीतिरिवाज तथा चाडपर्व मनाउने तौरतरिकाबारे जानकारी गराउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको विद्यालयका प्रिन्सिपल चुडामणि शर्माले बताए ।
उनका अनुसार विद्यालयले विद्यार्थीहरूलाई पाठ्यपुस्तकमा आधारित शिक्षासँगै आफ्नो मौलिक संस्कृति, संस्कार र परम्पराको संरक्षण तथा प्रवद्र्धनमा समेत सहभागी गराउँदै आएको छ ।

यस्ता कार्यक्रमले विद्यार्थीहरूको प्रतिभा प्रस्फुटन गर्न, सिर्जनात्मक क्षमताको विकास गर्न र आफ्नो संस्कृति तथा चाडपर्वप्रति सम्मानभाव बढाउन सहयोग पुग्ने उनले बताए ।
कार्यक्रमले विद्यार्थीहरूलाई नेपाली मौलिक संस्कृति र परम्पराको महत्व बुझाउनुका साथै आपसी सद्भाव, भाइचारा र एकताको भावना अभिवृद्धि गर्न सहयोग पुग्ने विश्वास गरिएको छ ।
