

महेन्द्रनगर । चैत पहिलो साता महाकाली प्रादेशिक अस्पतालका अध्यक्ष महेश प्रसाद पन्तले व्यवस्थापन समिति अध्यक्षको पदभार ग्रहण गर्दा निकै उत्साहित भएर अस्पताल सुधार्ने वाचा गरेका थिए ।
अध्यक्ष पन्तले तत्काल अस्पतालको सेवा सुधार, शैय्या विस्तार र जनशक्ति व्यवस्थापनलाई प्राथमिकता दिएका थिए । सुदूरपश्चिम प्रदेश सरकारमा आफ्नै दल एमाले साझेदार भएकाले अध्यक्ष पन्त अस्पताल सुधारमा साथ पाउनेमा विश्वस्त थिए ।
महाकाली प्रादेशिक अस्पताल सुदूरपश्चिम सरकार मातहत हो । एमाले नेता सन्तोस शर्मा थापा सामाजिक विकास मन्त्री छन् । आफ्नै दलको मन्त्री हुँदा महाकाली प्रादेशिक अस्पतालमा माग अनुसार बजेट नआएपछि अध्यक्ष पन्त अहिले निराश भएका छन् ।
‘म अहिले यसबारे केही बोल्दिन, कार्तिक १५ गतेपछि बोल्छु’ समितिको कार्यकक्षमा अध्यक्ष पन्तले भने,‘१५ गतेसम्म पुरक बजेट ल्याउने भनेको छ, त्यसमा समावेश गर्ने भनेको छ, के हुन्छ, त्योपछि जे गर्नु पर्ने हो हामी गर्छौ ।’
सुदूरपश्चिम सरकारलाई अस्पतालका लागि बजेट माग गर्दै अध्यक्ष आफैले मुख्यमन्त्री खगराज भट्ट र सामाजिक विकास मन्त्री थापालाई माग पत्र बुझाएका थिए ।
मुख्यमन्त्री भट्टले सेती प्रादेशिक अस्पतालपछि महाकालीलाई प्राथमिकता दिने आश्वासन दिएका थिए ।
‘मैले भेटेर योजना बुझाउँदा सेती पछिको प्राथमिकता दिन्छौ भन्यो, बजेट आउँदा सेतीलाई दिएको एक भाग जति पनि आएन’ पन्तले भने ।
अस्पतालको नयाँ भवन सञ्चालन, आइसियु व्यवस्थापन, एक्सरे मेसिन जडान, एमआरआई र डायलोसिस मेसिन थप लगायतका विभिन्न कार्यका लागि बजेट माग गरिएको थियो ।
अस्पातलमा ३० करोड बढी लगानीमा बनेको भवन आन्तरिक व्यवस्थापन हुन नसकेर प्रायेगमा आउन सकेको छैन । त्यसका लागि अस्पतालले ५ करोड बजेट दिएको थियो ।
बजेटमा भवनका लागि २ करोड बजेट मात्रै हालिएको छ । यो भवन शिशु र मातृत्वका लागि संघीय सरकारको बजेटमा बनेको हो ।
दुई करोड भवन प्रयोगमा आउन सक्ने अवस्था नभएको अध्यक्ष पन्तले बताए । महाकाली अस्पताल मृगौला विरामीको चाप बढेपछि डायलोसिसका लागि मेसिन थप गर्न बजेट माग गरिएको थियो ।
सघन उपचार कक्षमा विरामीको चाप अनुसार शैय्याको अभाव छ । अहिले पाँच बेड छन् । त्यसलाई बढाएर १५ शैय्याको बनाउन बजेट माग गरिएको थियो ।
आइसियुमा भेन्टिलेटर सहित बेड थप गर्ने योजना अस्पतालको थियो । डायलोसिसिका लागि १० मेसिन थप्न माग गरिएको थियो ।

संघ सरकारले अस्पतालका लागि बजेट नदिएपछि प्रदेश सरकारले दिने आश गरिएको थियो । अहिले प्रदेशले पनि माग अनुसार बजेट नदिएपछि अस्पताल चिन्तामा परेको छ ।
‘अस्पतालले माग अनुसार हालेको छैन, केन्द्रको केही पनि छैन, प्रदेशले पनि त्यस्तै गरि दियो’ उनले भने, ‘स्थानीय सरकारले पनि त्यति दिएको छैन, जनशक्ति कम छ, कार्यक्रम हालि दिनु भएको हुन्थ्यो, अब समस्या चाहिँ हुन्छ ।’
अध्यक्ष पन्तले गैर सरकारी संस्था छाँया नेपालले अस्पताललाई ८२ लाख सहयोग गरेको बताए ।
बजेटमा अस्पतालका कार्यक्रमका लागि बजेट नआएपछि कर्मचारी कटौती गर्न पर्ने अवस्था आएको उनी बताउँछन् । ‘कार्यक्रम नआएपछि कर्मचारी हटाउन पर्नेछ, कार्यक्रमबाट तलब भत्ता खाने गरी व्यवस्थापन गरिएको जनशक्तिलाई समस्या हुन्छ’ उनले भने ।
प्रदेश सरकारले सेती अस्पताललाई २६ करोड बढी बजेट दिएको छ । यस अघि संघ सरकारबाट १४ करोड बजेट आएको थियो ।
महाकाली अस्पतालाई यस वर्ष चार करोड बजेट आएको छ । नेकपा एमाले गठबन्धनको सरकार बन्न अघि तत्कालिन कमल शाह नेतृत्व सरकारका आर्थिक मामिला मन्त्री बहादुर थापाले अस्पतालका लागि ५ करोड बजेट छुट्याएका थिए ।
प्रदेश सभामा बजेट पेश हुन नपाउँदै थापा अर्थमन्त्रीबाट बाहिरिएका थिए ।
भीमदत्त नगरपालिका ६ का थापा कञ्चनपुर २ ख का प्रदेश सभा सदस्य हुन् । महाकाली अस्पताल कञ्चनपुर ३ ख मा पर्छ ।
थापापछि काँग्रेसका अर्थमन्त्री बिक्रम सिह धामीले प्रदेश सभा पेश गरेको बजेटमा अस्पतालका लागि अढाई करोड बजेट विनियोजन गरिएको थियो ।
अहिले सरकारमा एमालेका अर्थ मन्त्री चक्र मल्ल छन् । असोज २५ गते मल्लले बजेट ल्याएका थिए । अर्थमन्त्री मल्लले अस्पताललाई दुई करोड मात्रै बजेट दिएका छन् ।
अहिले अस्पतालमा ४५ चिकित्सक कार्यरत छन् । गेटामा दशरथ चन्द सहिद स्वास्थ्य विज्ञान विश्वविद्यालय सञ्चालन भएपछि डाक्टर टिकाउन सकिने समस्या हुने पन्तले बताए ।
अस्पताल व्यवस्थापन समितिमा प्रशान्त भट्ट, इन्द्र साउद, कमली चन्द, कृष्ण कुवँर र पार्वती कुमारी भट्ट सदस्य छन् ।
६ दशक अघि २०२० मा प्राथमिक स्वास्थ्य केन्द्रका रूपमा स्थापना गरिएको अस्पताललाई सुदूरपश्चिमका तत्कालिन सामाजिक विकास मन्त्री लाल बहादुर खड्काले मन्त्री स्तरीय निर्णयबाट प्रादेशिक बनाएका थिए ।
२०३१ सालमा २५ शैयाको स्वीकृति पाएपछि जिल्ला अस्पताल भएको थियो । २०४३ मा अञ्चल अस्पताल र २०७८ सालमा प्रादेशिक अस्पतालमा स्तरोन्नति गरिएको हो ।
