

महेन्द्रनगर । कञ्चनपुर ३ का रास्वपा साँसद ज्ञानेन्द्र सिंह महताले सामाजिक सञ्जालमा पार्टी सिद्धान्त र नीति विपरित सामाजिक सञ्जालमा अवाञ्चित गतिविधि, व्यक्तिगत आरोप प्रत्यारोप र टिप्पणी बढेको गुनासो आएको भन्दै चिन्ता व्यक्त गरेका छन् ।
रास्वपा भीमदत्त नगर समितिले गरेको शुभ कामना आदानप्रदान कार्यक्रममा साँसद महताले सामाजिक सञ्जाललाई विधि, विचार बहस गर्ने माध्यमका रुपमा बनाउनु पर्नेमा जोड दिए ।

‘कसैलाई अपमान गर्ने, व्यक्तिगत रुपमा खुइल्याउने, पार्टीभित्रै एक अर्का विरुद्ध उभ्याउने, असन्तुष्टि व्यक्त गर्ने राष्ट्रिय स्वतन्त्र पार्टीलाई स्वीकार्य हुँदैन’ उनले भने ।
पार्टीका असहमति आन्तरिक छलफलमा हल गर्न सकिने साँसद महताले उल्लेख गरे ।
साँसद महताले सामाजिक सञ्जालमा लेखेर राजनीतिक पहिचान बन्न नसक्ने भन्दै समाजका लागि के योगदान दिएर राजनीतिक पहिचान बनाउन सोच्न नेता कार्यकर्तालाई आग्रह गरे ।
‘पार्टी सदस्य हुनु भनेको पार्टीको नाम र झण्डा बोक्नु मात्रै होइन, पार्टीको विचार, अनुशासन र मर्यादालाई पालना गर्ने बनाउने हो’ उनले भने, ‘त्यसैले सामाजिक सञ्जालमा जिम्मेवार, संयमित अभिव्यक्ति दिन सबैलाई आग्रह गर्दछु ।’
