

गोकर्ण दयाल
महेन्द्रनगर । देउडा गायक तथा कलाकार जयराज भट्ट (जेआर) उपचार नपाएर ओछ्यानमा थला परेका छन् । मञ्चमा उभिएर हजारौँ दर्शकलाई नचाउने र सुदूरपश्चिमको संस्कृति जोगाउने सर्जक आज जीवन रक्षाका लागि छटपटिँदै ओछ्यानबाट उपचारका लागि याचना गरि रहेका छन् ।
बैतडीको पञ्चेश्वर गाउँपालिका –६, बिजुल घर भएका गायक भट्ट ८ महिनाअघि सुदूरपश्चिमबाट काठमाडौं जाने क्रममा चितवनमा मोटरसाइकल दुर्घटनामा परेर गम्भीर घाइते भएका थिए । दुर्घटनापछि साँगितिक जीवन बन्द कोठामा कैद भएको पीडा सुनाउँदै उनी हिँडडुल गर्न नसक्ने गरी थला परेका छन् ।
सुदूरपश्चिमको माटो, संस्कृति र मौलिकतालाई आफ्नो स्वरमार्फत देश–विदेशमा गुञ्जाउने चर्चित लोक तथा देउडा गायक भट्टको उपचारका लागि राज्यका निकायबाट पहल हुन सकेको छैन ।
“दुर्घटनामा परेपछि जीवनको लय एकाएक बिग्रियो” सर्जक भट्टले भने, “दुर्घटनामा परेको गम्भीर चोटका कारण शरीरको तल्लो भागले राम्रोसँग काम गर्दैन । आफैँ उठ्न, बस्न वा हिँडडुल गर्न सकिदैन । लामो समयसम्म ओछ्यान पर्दा पारिवारिक आर्थिक अवस्था पूर्णरूपमा थिलथिलो भइसकेको छ । उपचारमा अहिलेसम्म १४ लाख खर्च भइसकेको छ ।”

उनीसित अहिले नियमित रूपमा चाहिने औषधी, उपचार र हेरचाहको खर्च धान्न नसक्ने अवस्था छैन । उपचार अभावकै कारण उनी लामो समयदेखि पीडा सहेर ओछ्यानमै बस्न बाध्य भएको उनी बताउँछन् ।
जयराज भट्टको यो कारुणिक अवस्थाले कलाकारप्रति राज्य र स्थानीय सरकारको प्राथमिकतामाथि प्रश्न खडा गरेको छ । आम नागरिक भनिरहेका छन् “सर्जक तथा कलाकार त राष्ट्रका गहना हुन्, तर संकट पर्दा यो गहनालाई राज्यले किन उपेक्षा गरेको हो ?”
सामाजिक अगुवा प्रेमसिंह भाट भन्छन्, “पछिल्लो समय स्थानीय तथा प्रदेश सरकारहरू राजनीतिक दलका कार्यकर्ता रिझाउन, चियापान, गोष्ठी र दलका कार्यकर्ताको नाममा खोलिएका प्रतिष्ठानलाई लाखौँ रुपियाँ आर्थिक सहायताको नाममा राज्यको ढुकुटी बदामजस्तै बाँडिरहेका हुन्छन् । देशको कला र संस्कृति जोगाउन जीवन अर्पण गरेका साधक ओछ्यानमा परेर छटपटिँदा भने कुनै चासो देखाएन ।”
हाल उनको उपचारका लागि सामाजिक सञ्जालबाट आर्थिक सहयोगको सङ्कलनको अभियान चलाएको भाटले जानकारी दिए ।
उपचारका लागि सबै ढोका बन्द भएपछि र राज्य कतै नदेखिएपछि गायक भट्टले अन्ततः सामाजिक सञ्जालमार्फत देश तथा विदेशमा रहेका संगीतप्रेमी नेपालीहरूसँग जीवन रक्षाको अपिल गरेका छन् ।
