

महेन्द्रनगर । भीमदत्त नगरपालिका ९ मटेनाका जय नाथ शनिवार बिहान आँखा जाँच गराउन मालिकार्जुनस्थित शिबिरमा पुगे । मोतियाबिन्दु समस्या भएपछि नाथले महाकाली प्रादेशिक अस्पतालमा जाँच गराएका थिए ।
घर नजिक शिबिर हुने थाह पाएपछि उनी बिहानै मालिकार्जुन विद्यालय पुगे । उद्घाटनसम्म अन्य स्थानीयसित बसे ।

उद्घाटन सुरु हुन लाग्दा उनलाई अगाडि मञ्चतिर बोलाइयो । आँखा जाच्ने मेसिनले उनको आँखा जाँच गरी गरियो । त्यसपछि आखा शिविर औपचारिक रुपमा सुरुवात भयो ।
‘मेरो मोति बिन्दुको समस्या थियो,सरकारी अस्पताल चेक गरेको थिए, आज यहाँ पनि चेक गराउन आएको छु’ उनले भने, ‘घर नजिक जाँच गर्न पाउदा म निकै खुसी छु ।’

शिबिर उदघाटनपछि स्थानीय मानमती नाथ आखा जाँचका लागि नाम दर्ता गराउन लाइन लागिन् । लाठी टेकेर आएकी उनले एउटा आँखाको शल्यक्रिया यस अघि नै गराई सकेकी छन् । अर्को आँखा जाँच गराउन आएको बताइन् ।
‘मेरो एउटा आँखाको अप्रेसन भयो, अर्कोको छैन, अब जसो गरि दिन्छन’ उनले भनिन् ।
उनले आफूले अहिलेसम्म भत्ता नपाएको बताइन । ‘बर्ष कति भयो, मलाई त थाह छैन, भत्ता मिल्दैन’ उनले भनिन ।
मटेनाका ७५ बर्षिय सुरेन्द्र साउँदका आँखा साना अक्षर पढेपछि झयाझयाम गर्छन् । त्यसपछि आँशु आउने समस्यामा पीडित छन् । अस्पताल जान नसकेर उनी समस्या सहेर बसेका छन् ।
‘साना अक्षर हेरे झ्याम्म आउँछ, साल बर्ष भो, आँशु आउँछ, त्योपछि समस्या हुन्छ’ उनले भने, ‘कही देखाउन गएको छैन, घर नजिक जाँच गर्ने आएपछि आएको छु, बडिया भयो ।’

मटेनाका पुन्चे नाथले आँखा शल्यक्रिया गरेपछि शिविरमा जाँच गराए । ‘मलाई पनि आँशु आउने समस्या छ’ उनले भने ।
लाइन्स क्बल अफ महाकाली इन्जिनियर्सले शनिबार मालिकार्जुन आधारभूत विद्यालयमा आँखा शिविर लगाएको छ । नेपाल नेत्र ज्योति संघ, गेटा आँखा अस्पताल र महेन्द्रनगर आँखा अस्पतालको सहयोगमा शिविर आयोजना गरिएको छ ।
शिविरमा २५ दिनको शिशु आइन्स महर सहित बाल बालिका, ज्येष्ठ नागरिक, युवा सबैका आँखा जाँच गरिएका छन् । महरको आँखा संक्रमण भएपछि उनलाई शिविरमा ल्याएर जाँच गरिएको छ ।

शिविरमा चार सय ६ जनाको आँखा जाँच गरिएको छ । शिविरमा जाँच गरिएकामध्ये ४५ जनाको आँखाको शल्यक्रिया गर्नु पर्ने देखिएको छ । उनीहरु सबैको आँखा अस्पताल महेन्द्रनगरमा शल्यक्रिया गरिने जानकारी दिइएको छ ।
शिविरमा आँखा जाँच गरिएका सबैलाई औषधि र चश्मा प्रदान गरिएको छ । गेटा र महेन्द्रनगर आँखा अस्पतालका नेत्र विशेषज्ञले आँखा जाँच गरे ।
आँखा जाँच सुरु हुन औपचारिक कार्यक्रम गरियो । कार्यक्रममा नेत्र ज्योति संघका पदाधिकारी, आँखा अस्पतालका चिकित्सक, आयोजक क्लबका पदाधिकारी र स्थानीय सहभागी भए ।

गत वर्ष खल्लामा आँखा शिविर आयोजना गरिएको थियो । यस वर्ष अन्य वडालाई पनि पायक पर्ने गरी मटेनामा राखिएको छ ।

स्थानीय दिपेन्द्र सिंह ऐरीले लाइन्स क्बल र आँखा अस्पताललाई शिविर सञ्चालनका लागि आग्रह गरिएको बताए ।
‘हामीले आग्रह गरेपछि वहाँहरुले आज यो शिविर लगाएर आँखाको समस्या हेरि दिनु भएको छ, युवा वृद्ध सबैमा समस्या छ’ उनले भने, ‘वहाँहरु आएर शिविर लगाई दिनु भएकोमा धन्यवाद दिन चाहन्छु ।’
भीमदत्त नगरपालिकाको दुर्गम क्षेत्र खल्ला मुसेट्टीका वासिन्दाले शिविरमा आएर आँखा जाँच गराएका छन् ।
नेपाल नेत्रज्योति संघ कञ्चनपुरका अध्यक्ष डा. भोजराज पन्तले लाइन्स क्लबले सबैभन्दा बढी आँखा सम्बन्धि काम गर्दै आएको बताए ।

‘लाइन्सले विपत्तिमा सहयोग गर्छ, नेत्र ज्योति संघले आँखा सम्बन्धि काम गर्छ, दृष्टि सम्बन्धि काम गर्दै आएको छ, रेडक्रसले जसरी ब्लड बंक सम्बन्धि काम गर्छ, हामीले आँखा सम्बन्धि गर्छौ’ उनले भने ।
आँखा समस्याका लागि देशभर २२ अस्पताल सञ्चालनमा भएको उनले जानकार दिए ।
आँखा अस्पताल महेन्द्रनगरका नेत्र अधिकृत बिर सिह धामीले गाउँ वस्तीका वासिन्दालाई आधारभूत सेवा पुगाउन सहयोगी निकायको सहयोगमा शिविर आयोजना गरिएको बताए ।

‘यसबाट अस्पतालमा जान नसक्ने वासिन्दाले फाइदा लिन्छन्, वहाँहरुको हामीले निःशुल्क जाँच गर्छौ, औषधि वितरण गर्छौ र चश्मा दिन्छौ’ उनले भने ।
शिविरमा डा. रामेश्वर यादव सहितको विशेषज्ञ टीमले आँखा जाँच गरेको धामीले बताए ।
‘आँखा समस्या छ भन्ने धेरैलाई थाह हुँदैन, अर्को कुरा अस्पतालसम्म जानलाई पनि धेरै समस्या हुन्छ, धेरैलाई आँखाको उपचार हुन्छ भन्ने पनि थाह छैन’ उनले भने,‘यो शिविरमा आँखा सम्बन्धि अवारनेश पनि हुन्छ भन्ने आशा लिएका छौ ।’
लाइन्स क्बल अफ महाकाली इन्जिनियर्सका संस्थापक अध्यक्ष पवनचन्द्र लेखकले समाजलाई थोरै भए पनि सहयोग पुगोस भनेर शिविर सञ्चालन गरिएको बताए ।
गत वर्ष लाइन्सको च्याप्टर अन्र्तगत क्लब गठन गरिएको थियो ।

क्लबका अध्यक्ष रोहित प्रसाद जोशीले शिविरबाट आफूहरुले रोशनी प्रदान गर्न चाहेको बताए ।
तीन सय जनाको आँखा जाँच गर्ने गरी शिविर आयोजना गरिएको थियो । शिविरमा लक्ष्य बढी आएको आँखा अस्पताल महेन्द्रनगरका नेत्र अधिकृत धामीले बताए ।

