
झोला र चप्पल पुलमा छाडेर कहाँ गइन पाण्डेय, खोजी गर्दै प्रहरी, पुलबाट हाम फालेको वा अन्यत्र गएको आशंका

महेन्द्रनगर । सुदूरपश्चिम विश्वविद्यालय व्यवस्थापन संकायमा अध्ययनरत विद्यार्थीको झोला सहित समान महाकाली नदीक चार लेन पुलमा भेटिएपछि खोजी थालिएको छ ।
बैतडीको पाटन नगरपालिकाकी कमला पाण्डेयको झोला, पर्स, कापी किताब, परिचय पत्र र चप्पल पुलमा भेटिएको छ । पुलमा सर समान भेटिएपछि प्रहरीले उनको खोजी सुरु गरेको छ ।

पाण्डेयले समान छाडेपछि नदीमा हाम फालेको वा अन्यत्र हिँडेको प्रहरीले आशंका गरेको छ । स्थानीयले खोजी कार्यमा प्रहरीलाई सहयोग गरेको छ ।
साँझसम्म पाण्डेय भेटिएकी छैनन् । उनी सुदूरपश्चिम विश्वविद्यालमा बीबीएस तेस्रो वर्षमा अध्ययनरत छात्रा हुन् ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी प्रवक्ता टेक बहादुर रावतले किशोरी छात्राको सरसमान भेटिएपछि खोजी कार्य भईरहेको बताए ।
‘नदीमा हाफ फालेको वा सरसमान छाडेर कतै अन्तै गएको भन्ने यकिन हुन सकेको छैन’ डीएसपी रावलते भने ।
सुदूरपश्चिम विश्वविद्यालय भने छात्रा बेपत्ताबारे अझैसम्म बेखबर देखिएको छ । विश्वविद्यालयको अहिलेसम्म आधिकारिक धारणा बाहिर आएको छैन ।
पाण्डेय बेपत्ता भएको जानकारी फैलिएपछि पुल पुगेका स्थानीयले विश्वविद्यालयका अधिकारी आएको आफूहरुले नदेखेको बताए ।
विश्वविद्यालयका पदाधिकारी, कर्मचारी सहित शिक्षकहरु विश्वविद्यालयका प्राध्यापकको छोरोको विहेमा भोज खाज पुगेका छन् ।
जिल्ला प्रहरी कार्यालयले खोजीमा सहयोगका लागि आग्रह गरेको छ ।
