

महेन्द्रनगर । पत्रकार राजेन्द्र विष्टको महाकाली नदीमा हिन्दू परम्परा अनुसार अन्त्ेयष्टि गरिएको छ । कलेजो सम्बन्धि समस्याबाट पीडित विष्टको बिहीबार बिहान धनगढीस्थित अस्पतालमा उपचारका क्रममा निधन भएको थियो ।
महाकाली नदीको भुजला घाटमा शुक्रबार बिहान विष्टको दाहसंस्कार गरिएको छ । ्विष्टका बुवा र उनका भाईले विष्टलाई दागबत्ती दिए । स्वर्गिय विष्टका एक भाई छन् । ८० वर्ष पुग्न लागेका बुवाले विष्टलाई चितामा राखेपछि रुँदै बिलौना गरे ।

मलालीमा गएका अधिकाँशका आँशु खसे । कार्तिक २३ गते स्वर्गिय विष्टकी आमाको पनि महाकाली नदीमा अन्त्येष्टि गरिएको थियो ।
आमाको निधन भएको १८ दिनपछि उनी पनि संसार छाडेर ब्रह्मलिन हुन पुगेका छन् । स्वर्गिय विष्टका बुवाले त्यस दिन पनि आफूलाई छाडेर गएको भन्दै डाको छाडेर रोएका थिए ।

विष्टको पार्थिव शरिरलाई शुक्लाफाँटा नगरपालिका १ स्थित घरबाट बिहान शव यात्रा गरी महाकाली नदी ल्याईएको थियो ।
विष्टलाई राजनीतिक दलका नेता, पत्रकार, नागरिक समाज सहित विभिन्न क्षेत्रका व्यक्तिले अन्तिम श्रद्धाञ्जली दिएका छन् ।
नेपाल पत्रकार महासंघ सहित प्रेस सम्बद्ध विभिन्न संघ संस्थाले शोक विज्ञप्ति जारी गरी विष्टप्रति श्रद्धाञ्जली र घर परिवारमा समवेदना दिएका छन् ।
दुई दशक अघि महेन्द्रनगरबाट पत्रकारिता सुरु गरेका विष्ट केही वर्षदेखि काठमार्डाैंमा पत्रकारिता गर्दै आएका थिए ।
अभियान दैनिकबाट विष्टले पत्रकारिता सुरु गरेका थिए । विष्ट प्रेस चौतारी नेपालको केन्द्रीय सदस्य र केन्द्रीय उपाध्यक्ष भएका थिए ।
नेपाल प्रेस युनियन कञ्चनपुरले प्रेस युनियन कञ्चनपुरले विष्टको निधनले पत्रकारितामा ठूलो क्षति पुगेको भन्दै चिन्ता व्यक्त गरेको छ । युनियनले पत्रकार विष्ट असल, कर्मठ, जुझारु र अनुभवी पत्रकार गुमाउनु् परेकोमा दुःख व्यक्त गरेको छ ।
‘स्वर्गिय विष्ट एक कर्मठ, होनहार, जुझारु तथा क्रियाशिल पत्रकार हुनु हुन्थ्यो । वहाँको निधनले कञ्चनपुरको पत्रकारिता क्षेत्रले एक असल, कर्मठ र अनुभवी पत्रकार गुमाएको छ’ प्रे विज्ञप्तिमा भनिएको छ, ‘वहाँले पुगाउनु भएको योगदान सधैं स्मरण रहनेछ ।’
