

महेन्द्रनगर । ‘ए राजेन्द्र कि गरेबला, ए राजेन्द्र कि गरे बला, क्या छाडि बरे गएब’
महाकाली नदीको भुजेला घाटमा पत्रकार राजेन्द्र विष्टको पार्थिव शरिरलाई चितामा राखेपछि ८० वर्ष पुग्न लागेका बुवा जय बहादुर विष्टले आँखाभरि आँशु झार्दै निरन्तर बिलौना गर्न थाले ।

विष्टको पार्थिव शरिरमा दागबत्ती दिएपछि उनी फेरि चिता नजिक काठमा आएर बसे । दनदनी जलि रहेको चितातिर हेर्दै उनले बिलौना गरि रहे ।
आफन्तले उनलाई सम्झाउने प्रयास गरे । पुत्र वियोगले विक्षिप्त विष्टले मन थाम्नै सकेनन् । छोरालाई अन्तिम विदाई गरी विष्ट घाटबाट फर्किए ।
शुक्लाफाँटा नगरपालिका १ बन्साहा विष्ट पत्निपछि पुत्र वियोगको पीडामा परेका छन् । विष्टका जेठा छोरा राजेन्द्रको बिहीबार बिहान धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा उपचारका क्रममा निधन भएको थियो ।
कार्तिक २२ गते धर्मपत्नि बिस्नादेबी विष्टको निधन भएपछि उनी छोरा राजेन्द्रसंगै उनलाई भुजेला घाटबाट अन्तिम विदाई गरेका थिए । १९ दिनपछि त्यहीं घाटमा छोरालाई पनि उनले भक्कानिँदै अन्तिम विदाई गरेका छन् ।
आमाको निधनपछि किरिया बसेका उनी केही दिन अघि विराम भएपछि अस्पताल भर्ना भएका थिए । कलेजो सम्बन्धि समस्याबाट पीडित उनको केही महिना अघि काठमाडांैका अस्पताल भर्ना गरी उपचार भएको थियो ।

जण्डिसको समस्या जटिल बन्दै गएका विष्टको पछिल्लो पटक कलेजोमा संक्रमण देखिएको थियो ।
दुई दशक अघि महेन्द्रनगरमा पत्रकारिता सुरु गरेका उनी पछिल्लो १० वर्षदेखि काठमाडौंमा थिए । काठमाडौंमा गोरखापत्र दैनिकमा काम गरेपछि उनी पछिल्लो केही वर्षदेखि राष्ट्रिय समामाचार समितिमा कार्यरत थिए ।
महेन्द्रनगरमा उनले अभियान दैनिकबाट पत्रकारिता सुरुवात गरेका थिए । तत्कालिन सिद्धनाथ बहुमुखी क्याम्पसमा अध्ययनसंगै विष्टले पत्रकारिता थालनी गरेका थिए ।
शुक्रबार बिहान बन्साहास्थित घरबाट शव यात्रा गरी विष्टको पार्थिव शरिरलाई भुजेला घाट ल्याइएको थियो । राजनीतिक दलका नेता, पत्रकार, नागरिक समाज, शैक्षिक क्षेत्रका अगुवाले महाकाली नदी पुगेर उनलाई श्रद्धाञ्जली दिएका छन् ।
विष्ट परिवारका जेठो हुन् । उनका एक भाई छन् । उनी ४२ वर्षको उमेरमा संसारबाट सदाका लागि विदा भएका छन् ।
विष्टको मलामीमा सहभागी भीमदत्त नगरपालिका ६ का राजेन्द्र बहादुर चन्दले बाबुको बिलौना आफूलाई सहन नसकेको बताए ।
‘यस्तो त कसैलाई पनि नहोस, मैले त्यो बिलौना सुन्नै सकेन, एउटा बाउका लागि यो भन्दा ठूलो बज्रपात अरु के हुन सक्छ’ उनले भने ।
नेपाल प्रेस युनियन कञ्चनपुरका अध्यक्ष तेज बहादुर सिंहले विष्टको निधनले पत्रकारिता क्षेत्र स्तब्ध भएको बताए ।
‘स्वर्गिय विष्ट एक कर्मठ, होनहार, जुझारु तथा क्रियाशिल पत्रकार हुनु हुन्थ्यो । वहाँको निधनले कञ्चनपुरको पत्रकारिता क्षेत्रले एक असल, कर्मठ र अनुभवी पत्रकार गुमाएको छ’ उनले भने, ‘वहाँले पुगाउनु भएको योगदान सधैं स्मरण रहनेछ, हामीबाट कहिल्यै टाढा हुने छैनन् ।’
