

महेन्द्रनगर । बिहीबार विहान रेडियन्ट माध्यमिक विद्यालयले गरेको कार्यक्रममा उत्सव जोशी र उमङ्गलाई टिका र खादा लगाएर सम्मान गरेपछि प्राचार्य त्रिभुवन कुमार भट्टले भने – एउटा कुरा के वहाँहरु दुई जना जुम्ल्याहा हो त ।
रेडियन्ट माविले बिहीबार चिकित्सा शिक्षा आयोगको एमबीबीएस, बाम्स र नर्सिङ्ग विषय अध्ययनका लागि पूर्ण छात्रबृत्तिमा छनौट भएका विद्यार्थीलाई सम्मान गरेको थियो ।

भीमदत्त नगरपालिका १८ गोबरैयाका जुम्ल्याहा दाई भाईले एमबीबीएस अध्ययनका लागि पूर्ण छात्रबृत्तिमा छनौट भएका छन् । उनीहरु दुबै विद्यालय पुगेर सम्मान ग्रहण गरे ।
‘ विद्यालयमा आज यसरी सम्मान पाउँदा निकै राम्रो लागेको छ, खुसी लागेको छ’ सम्मान कार्यक्रमपछि उत्सवले भने ।
उत्सव उमङ्गका दाई हुन् । रेडियन्ट भर्ना भएपछि दुबैले चिकित्सक बनेर देशको सेवा गर्ने लक्ष्य बनाएका हुन् ।
‘पढेर केही गरौ भनेर सोच्थ्यौ, अब डाक्टर बनेर देशमा सेवा गर्छौ’ उनले भने, ‘दुर्गम ठाउँमा गएर समस्या भएका मान्छेसम्म पुगेर सेवा गर्छु ।’
गोबरैयाका गणेश जोशीका तीन सन्तानमध्ये उनीहरु माइलो र कान्छो हुन् । जोशी नेपाल विद्युत प्राधिकरण महेन्द्रनगर वितरण केन्द्रमा प्रशासन प्रमुख छन् । जोशी पत्नि उर्मिला गृहिणी हुन् ।
दुबैले महेन्द्रनगरस्थित ग्लोबल एकेडेमीबाट एसइई उत्तीर्ण गरी रेडियन्ट पढेका हुन् । एसईइमा दुबैले लगभग समान जीपीए ल्याएका छन् । उत्सवको ३ दशमलव ७२ र उमङ्गको ३ दशमवल ७५ जीपिए थियो ।

घर नजिक र पढाई राम्रो भएकाले आफूहरुले रेडियन्ट पढेको उत्सवले बताए ।
‘कक्षा १० सम्म त खासै केही सोचिएको थिएन, पास भएपछि केही गर्नु पर्छ भनेर साइन्स पढ्यौ’ उनले भने, ‘पढाई राम्रो भएकोले रेडियन्टमा भर्ना भयौ ।’
सानामो आफूहरुले पढाई बाहेक खेल खेल्ने गरेको उत्सवले स्मरण गरे ।
‘पढाई बाहेक अरुतिर त खास ध्यान दिएनौ, कहिलेकाँही खेल्ने गरेका थियौ, फोकस त पढाईमै थियौ’ उनले भने ।
रेडियन्ट भर्ना भएपछि पहिलो दिन कक्षा कोठा प्रवेश गर्दा नर्भस भएको उमङ्गले सुनाए ।
‘पहिलो दिन र आजको दिन धेरै फरक छ, त्यो दिन नर्भस भएको थिए, आज त निकै खुसी छु’ उनले भने, ‘अब पढेर देशको सेवा गर्छौ ।’
चिकित्सा शिक्षा आयोगले लिएको एमबीबीएस सहित विभिन्न विषयका परीक्षामा रेडियन्टका १४ विद्यार्थीले पूर्ण छात्रबृत्तिमा अध्ययनका लागि प्रवेश परीक्षा पास गरेका छन् ।
उनीहरुमध्ये सबैभन्दा बढी एमबीबीएसमा १० जना छन् । बाम्स र नर्सिङ्गमा दुई दुई जना पास भएका छन् ।
विद्यालयका प्राचार्य भट्टले उनीहरु सबैलाई टिका र खादा लगाएर सम्मान गरे ।
सम्मानित सबै विद्यार्थीलाई बधाई दिँदै उनले देशका लागि असल चिकित्सक बन्न सुझाव दिए ।
