महेन्द्रनगर । कृष्णपुर नगरपालिका ६ मा बन्जरियामा रहेको महाकाली सामुदायिक वनले सोमवार आयोजना गरेको परिचयात्मक अन्तक्रिया गोष्ठीका सहभागीहरुले सामुदायिक वनको विकासका लागि कानुन कार्यान्वय गरिनु पर्नेमा जोड दिएका छन् । प्रदेश सरकारले वन ऐन बनाए पनि कार्यविधि र निर्देशिका नबन्दा अन्यौलताको अबस्था रहेको गोष्ठीका सहभागीहरुले उल्लेख गरेका छन् ।
सामुदायिक वन संरक्षणका क्रममा चुनौती र समस्या संग जुध्दै सफलताको चरणमा पुगेका छौं सामुदायिक वनका अध्यक्ष विर बहादुर राजवंशीले भन्नु भयो, सकारात्मक पक्षको समिक्षा र कमिकमजोरीबाट सिकाई भएको छ । वन संरक्षणमा सबै उपभोक्ता जुटेपछि हाल बाध्यात्मक चोरी र जानी जानी गर्ने चोरी सून्यमा झरेको उहाँले बताउनु भयो । उपभोक्ताकै सक्रियतामा वन क्षेत्र हराभरा भएको छ ।
पुर्नउत्पादन आशा गरे अनुरुप हुदा वन क्षेत्रले पुर्नजीवन पाएको छ उहाँले भन्नु भयो, वन संरक्षणमा टेवा पुरयाउने उपभोक्ताले वन पैदावारको उपभोग गरेर आवश्यकता पूर्ति गर्दै आएका छन् ।
आर्थिक रुपमा सवल बनाउनका लागि महिलाहरुलाई सामुदायिक वनले सशक्तिकरणका कार्यक्रम मार्फत गरिवि निवारण र उद्यमशिलता विकासका कार्यक्रम सञ्चालन गरी टेवा पुरयाउदै आएको छ ।
घुम्ती कोष सञ्चालन गरी आर्थिक रुपमा विपन्न परिवारको जीविकोपार्जनका कार्यक्रमहरु सञ्चालन गरिदै आएको छ । जसबाट उपभोक्ताको आयस्तरमा बृद्धि हुन थालेको उहाँको भनाई रहेको छ ।
स्थानिय तहलाई सामुदायिक वनले रु १२ लाख र संघीय सरकारलाई रु २१ लाख गरी सामुदायिक वनले वार्षिक रुपमा ३३ लाख कर मात्रै बुझाउदै आएको छ । कर अनुसारको सामुदायिक वनको विकासका लागि सरकारी तवरबाट समेत लगानी हुनु पर्नेमा कार्यक्रमका सहभागीहरुले उल्लेख गरे ।
पिपरैया सव डिभिजन वन कार्यालयका प्रमुख नविन सिंहले सामुदायिक वनले आवश्यकताका आधारमा मात्रै उपभोक्तालाई न्यायोचित तरिकाले काठ दाउरा वितरण गर्ने प्रणालीको विकास गरिनु पर्ने बताउनु भयो । पूर्व वडा सदस्य सिता चौधरीले उपभोक्ताले हातेमालो गरी सामुदायिक वन वनाउनका सघाउ पुरयाएकाले उपभोक्तालाई पहिलो प्राथमिकतामा राखि वन पैदावारको उपभोगमा सहभागी गराउनु पर्ने बताईन ।
काठ दाउरा उपभोक्ताले पाई राखेका छन उनले भनिन् अझै वन पैदावार वितरण प्रणालीलाई परिस्कृत गरी लैजानु पर्ने हुन्छ । उपभोक्ताको हितमा जहिले पनि सामुदायिक वनले न्याय गरी कार्य गर्नु पर्छ । काँग्रेसका प्रतिनिधि गजेन्द्र सिंह धामीले गरिवी निवारणमा सामुदायिक वनको उल्लेख भूमिका रहेको कुरामा जोड दिए ।
गरिवीको रेखामूनि रहेका उपभोक्ताको पहिचान गरी निःशुल्क रुपमा काठ दाउरा उपलव्ध गराउने व्यवस्था संगै सामुदायिक वनले उच्च शिक्षा पढने उपभोक्ताका बालबालिकालाई छात्रबृत्ति दिने व्यवस्था गरिनु पर्ने बताए ।
नगर प्रमुख हेमराज ओझाले सामुदायिक वन संग सहकार्य गरी अघि बढ्न तयार रहेको बताए । म्याचिङ फण्डमा सहकार्य गर्न तयार छौं उहाँले भन्नु भयो, यसका लागि पहल हुने छ । शिर झुकाउने कार्य म बाट हुदैन । जनप्रतिनिधि भएपछि जिम्मेवारी पूर्वक कार्य गर्न मेरो कर्तव्य हो । त्यसका लागि कटिवद्ध छु ।
गोष्ठीमा वडा नं ६ का वडा सदस्य आस्पती राजवंशी, चक्र रैकाल, सामुदायिक वनका उपाध्यक्ष गणेश कुवँर लगायतले आ आफनो मन्तव्य राख्नु भएको थियो । गोष्ठीको सभापतित्व सामुदायिक वनका अध्यक्ष विर बहादुर राजवंशी र सञ्चालन रामकृष्ण चौधरीले गरेका थिए ।