
पप्पु गुरुङ्ग
दोधारा । भारतीय वन विभागले वृक्षारोपणको प्रयास गरी विवादित बनाएको दोधारा चाँदनी नगरपालिका ३ जमुनाघारीस्थित नेपाली भूमिमा बुधबार नेपाल र भारतका अधिकारी पुगेका छन् । उनीहरुले विवादित भूमिमा स्थलगत निरीक्षण गरेका छन् ।
भारतीय वन विभागले केही दिन अघि सीमा स्तम्भ नं. १४ र १५ को बिचमा पर्ने तीन बिगाहा नेपाली भूमिमा वृक्षारोपणका लागि तारबार र पोल गाडेपछि विवाद देखिएको थियो । त्यसपछि दुबै देशले छलफल गरी तत्काललाई वृक्षारोपण नगर्ने सहमति गरेका थिए ।

वृक्षारोपण नगर्ने सहमति गरिएको तीन दिनपछि सहायक प्रमुख जिल्ला अधिकारी अशोक सिह भण्डारी, प्रहरी नायब उपरीक्षक चक्र बहादुर शाह, सशस्त्र प्रहरीका प्रहरी नायब उपरीक्षक बीर सिह धामी र भारतबाट एसएसबीका बृजपाल सिह नेगी, वन रेन्जर राजेन्द्र मनरल लगायतले स्थलगत निरीक्षण गरेका छन् । उनीहरुसंगै दोधारा चाँदनी नगरपालिका ३ का अध्यक्ष हरि सिह धनाडी पनि सहभागी भएका छन् ।
भारतीय वन विभागले पोल गाडेपछि धनाडीको अगुवाईमा स्थानीयले विरोध गरी काम रोक्न लगाएका थिए ।
