भीमदत्तका प्रवक्ता खड्काले गरे पत्रकार सम्मेलन गरी कार्यपालिका बैठकका निर्णय सार्वजनिक
महेन्द्रनगर । भीमदत्त नगरपालिकाका प्रवक्ता महेन्द्र खड्काले पत्रकार सम्मेलन गरी दुई नगर कार्यपालिका बैठकका निर्णय सार्वजनिक गरेका छन् । भीमदत्त नगरपालिकामा पत्रकार सम्मेलन गरी ती दुबै बैठकका निर्णय सार्वजनिक गरिएको छ ।
स्थानीय तह निर्वाचनबाट भीमदत्तका मेयर पदम बोगटी निर्वाचित भएपछि जेठ १२ गते पहिलो कार्यपालिका बैठक बसेको थियो । त्यसको ८ दिनपछि जेठ २० गते दोस्रो कार्यपालिका बैठक बसेको थियो । खड्कालाई दोस्रो बैठकबाट प्रवक्ताको जिम्मेवारी दिइएको थियो ।
पत्रकार सम्मेलनमा प्रवक्ता खड्काले दुबै बैठकका निर्णय वाचन गरे । उनले आगामी दिनमा पनि सबै बैठकका निर्णय पत्रकार सम्मेलन गरी सार्वजनिक गर्ने जनाए ।
पहिलो बैठकबाट भीमदत्त नगरपालिका २ उल्टाखाममा यौन हिंसा पीडित बनेकी किशोरीलाई नगद सहयोग सहित उनको उच्च शिक्षा अध्ययनसम्मको जिम्मा लिने, असार ७ गते नगर सभा गर्ने र त्यसको समय तालिका स्वीकृत गर्ने र मतदातालाई धन्यवाद दिने निर्णय गरिएका छन् ।
नगर कार्यपालिका पूर्ण नहुँदै पहिलो बैठक बसेको थियो । नगर कार्यपालिका सदस्यको निर्वाचन भएपछि जेठ २० गते दोस्रो बैठक बसेको थियो ।
कार्यपालिकाको दोस्रो बैठकबाट समिति र उप समिति गठन, गर्भवति महिलालाई निःशुल्क एम्बुलेन्स सेवा उपलब्ध गराउने, ज्येष्ठ नागरिकको घरदैलोमा मासिक रुपमा स्वास्थ्य परीक्षण सेवा उपलब्ध गराउने, भीमदत्तलाई दुव्र्यसनी मुक्त नगरपालिका बनाउने, विज्ञहरुको रोष्टर तयार गर्ने, आगामी वर्षको नीति, योजना तथा कार्यक्रम तयार गर्ने, विपन्न विद्यार्थीको शिक्षामा पहुँच बढाउन कार्यविधि बनाउने लगायतका निर्णय गरिएका छन् । यसैगरी बैठकबाट एकीकृत फोहरमैला व्यवस्थापन केन्द्र बनाउन अध्ययनका लागि विज्ञ सहितको कार्यदल बनाउने जिम्मा मेयर पदम बोगटीलाई दिने निर्णय पनि बैठकबाट गरिएको छ ।
फोहरमैला व्यवस्थापन केन्द्रका लागि चाहिने जग्गा प्राप्ति गरिएका अवरोधका कारण केन्द्र निर्माणमा अन्यौलमा परेको छ ।
नगर प्रवक्ता खड्काले जिम्मेवारी पाएपछि पहिलो पटक पत्रकार सम्मेलन गरी निर्णय सार्वजनिक गरेका हुन् । उनले नगरपालिकाको विकासका लागि सबै पत्रकारको साथ सहयोग चाहिएको बताए ।
पत्रकार सम्मेलनमा भीनपा ११ का वडा अध्यक्ष प्रकाश थापा, १२ का वडा सदस्य नर बहादुर साउँद, भीमदत्तका प्रशासकीय अधिकृत हरि सिह धामी, विज्ञ गौराज बहादुर लिम्बू लगायतका सहभागी भएका छन् ।