शुक्लाफाँटामा फोहरमैला व्यवस्थापन केन्द्र बनाउन २६ करोडमा ठेक्का सम्झौता, २० महिनाभित्र निर्माण सकिने

महेन्द्रनगर । शुक्लाफाँटा नगरपालिकामा एकीकृत फोहरमैला व्यवस्थापन केन्द्र निर्माणका लागि ठेक्का सम्झौता गरिएको छ । वन तथा वातावरण मन्त्रालयले श्रीकृष्ण सामुदायिक वन क्षेत्रमा जग्गा प्रयोग गर्न स्वीकृत दिएपछि ठेक्का सम्झौता गरिएको हो ।

यस अघि जग्गा प्राप्ति नहुँदा केन्द्रको ठेक्का प्रक्रियामा ढिलाई हुन पुगेको थियो । एशियाली विकास बैंकको सहुलियत ऋण सहयोगमा क्षेत्रीय सहरी विकास आयोजना अन्र्तगत २६ करोड ७७ लाखमा फोहरमैला व्यवस्थापन केन्द्र बनाउन लागिएको हो । आयोजना अन्र्तगत निर्माण हुने ढल सहितको चार किलोमिटर सडक निर्माण कार्य अन्तिम चरणमा छ ।

janjyoti campus

शुक्लाफाँटाका नगर प्रमुख रण बहादुर महराले लामो समयदेखि फोहरमैला व्यवस्थापन केन्द्र निर्माणले निकै चर्चा पाए पनि निर्माण हुन नसकेको बताए । ‘ठेक्का सम्झौता भएर प्रक्रिया अगाडि बढिसकेको छ’ उनले भने, ‘वातावरणमा असर नपर्ने गरी केन्द्र निर्माण हुन्छ ।’

अघिल्लो स्थानीय तह निर्वाचन अघि नै शुक्लाफाँटा सहित सुदूरपश्चिम प्रदेशमा धनगढी उप महानगरपासलका, भीमदत्त नगरपालिका र गोदावरी नगरपालिका आयोजना लागू गरिएको थियो । शुक्लाफाँटा मेयर महरा त्यति बेला राजनीतिक दलका संयन्त्रबाट सदस्य थिए ।

अहिले उनको कार्यकालमा फोहरमैला व्यवस्थापन केन्द्र निर्माण कार्य अघि बढेको छ । उनले स्थानीय तह निर्वाचनमा शुक्लाफाँटाको विकासका लागि सहरी विकास योजना बनाउने प्रतिवद्धता गरेका छन् ।

सामुदायिक वनको पाँच हेक्टर जमिनमा केन्द्रका लागि लिइएको छ । केन्द्र निर्माणका लागि जेठ २३ गते क्षेत्रीय सहरी विकास आयोजना कार्यान्वयन इकाइ र रमण केएसजेभी कैलालीबीच ठेक्का सम्झौता भएको आयोजनाका इन्जिनियर द्रोण कटुवालले बताए । ‘बीस महिनाभित्र उक्त केन्द्र निर्माण गरि सक्ने गरी ठेक्का सम्झौता भएको छ’ उनले भने, ‘निर्धारित समयभित्रै केन्द्र निर्माण हुन्छ ।’

शुक्लाफाँटा नगरपालिकाले अहिले बजारबाट फोहर संकलन गरी वन क्षेत्रमा बिर्सजन गर्दै आएको छ । पाँच वर्ष अघि स्थानीय तह निर्वाचनपछि नगरपालिका आफैंल फोहर संकलन गरी विर्सजन गर्न थालेको हो । त्यस अघिसम्म झलारी उद्योग बाणिज्य संघले फोहर व्यवस्थापन गर्दै आएको थियो ।

झलारी बजार सहित वन समिति, कलुवापुर लगायतका क्षेत्रबाट फोहर संंकलन गरी व्यवस्थापनका लागि नगरपालिकाले चार जना कर्मचारी राखेको छ ।

यसैबीच भीमदत्त नगरपालिकाले एकीकृत फोहरमैला व्यवस्थापन केन्द्र निर्माणका लागि विस्तृत अध्ययन गरी कार्यान्वयनका लागि विज्ञसहितको कार्यदल बनाउने भएको छ । नगरपालिकाको दोस्रो कार्यपालिका बैठकबाट कार्यदल बनाउने निर्णय गरिएको हो ।

राजनीतिक दलका नेता र स्थानीयवासीले फोहरमैला व्यवस्थापन केन्द्र बनाउन अवरोध गर्दै आएका छन् । नगरपालिकाका प्रवक्ता महेन्द्र खड्काले कार्यपालिका बैठकमा छलफल गरी यसलाई अघि बढाउने निर्णय गरिएको बताए । क्षेत्रीय सहरी विकास आयोजनाका लागि फोहरमैला व्यवस्थापन केन्द्र निर्माण पहिलो शर्तका रुपमा छ ।

उक्त केन्द्रको काम अघि बढ्न नसक्दा आयोजनाअन्तर्गत निर्माण हुने ३६ किलोमिटर ढलसहित सबै सडकको निर्माणकार्य अघि बढ्नसकेको छैन ।

अहिले भीमदत्तमा १४ किलोमटिर सडक निर्माणकार्य मात्रै अघि बढेको छ । यो परियोजना एशियाली विकास बैंकको सहुलियत पूर्ण ऋण सहयोगमा सञ्चालित छ । आयोजनाअन्तर्गत रु ६० करोडको लगानीमा फोहरमैला व्यवस्थापन केन्द्र बनाउन लागिएको हो । नगरपालिकाको बजार र आसपासका क्षेत्रमा अहिले दैनिक सात दशमलव २९ टन फोहर निस्कने गरेको छ ।

नगरपालिकाले महेन्द्रनगर बजारसहित आसपासका ७ सय घरबाट फोहर सङ्कलन गर्दै आएको छ । २०३४मा स्थापना गरिएको नगरपालिकामा यस अघि डम्पिङ साइट बनाउन पटक–पटक प्रयत्न गरिएको थियो ।

ghar sansar
सम्बन्धित
Loading...