
महेन्द्रनगर । नेकपा एमालेका केन्द्रीय सदस्य एबम् कञ्चनपुर सह इन्चार्ज कृपाराम रानाले अर्थमन्त्री जनार्दन शर्मा फेरि विवादमा मुछिएपछि व्यङ्ग्य गरेका छन् । उनले अर्थमन्त्री शर्मालाई विरोलाले जति लखेट्दा पनि मुसोले धान खान नछाडेको भन्दै व्यङ्ग्य गरेका छन् ।

‘विरालोले लखेट्दैमा मुसोले धान खाना छाड्छ र ? सन्दर्भ अर्थमन्त्री’ नेता रानाले फेसबुकमा भनेका छन् । अर्थमन्त्री शर्माले नेपाल राष्ट्र बैंकका गभर्नरलाई निलम्बन गरेपछि एमाले अध्यक्ष केपी शर्मा ओलीले दाह्री भएको मुसोले धान खाँदा दाह्री नभएका भ्यागुताले चोट खाएको टिप्पणी गरेका थिए ।
गभर्नर निलम्बनमा मुछिएपछि मन्त्री शर्मा चौतर्फी विवादमा परेका थिए । अहिले फेरि शर्माले आगामी आर्थिक वर्षका लागि अनाधिकृत व्यक्तिलाई बोलाएर करका दर हेरफेर गर्न लगाएको बाहिर आएपछि विवादमा तानिएका छन् ।
