महेन्द्रनगर । भीमदत्त नगरपालिकाले अघिल्लो कार्यकालको आर्थिक दायित्व र आगामी लक्ष्य सहितको श्वेतपत्र जारी गरेको छ । भीमदत्त नगरपालिकाको दुई दिनपछि बस्ने नगर सभा बैठकको पूर्व सन्ध्यामा पत्रकार सम्मेलन गरी श्वेतपत्र जारी गरिएको छ ।
श्वेतपत्रमा अघिल्लो कार्यकालको ३९ करोड ३३ लाख दायित्व देखिएको छ । त्यसमा ३८ करोड ६८ लाख पूँजीगत र ६५ लाख ४६ हजार चालु खर्च छ ।
श्वेतपत्रमा बजेट सुनिश्चितता नभएर ठेक्का लगाएको, ठूलो रकम रकमान्तर गरिएको, डीपिआर प्रतिवेदन बनाइएको, आन्तरिक स्रोतले धान्न नसक्ने गरी कर्मचारी भर्ना गरिएको, इन्धन खर्चमा मितव्यतिता अपनाउन नसएिको र ठूलो मात्रामा कोटेशन गरिएको कारणबाट दायित्व बढेको उल्लेख गरिएको छ ।
दायित्वलाई संघ र प्रदेश सरकारसित पहल गरी घटाउने जाने नगरपालिकाको योजना छ । आन्तरिक स्रोतले मात्रै धान्न नसकिने भएकाले माथिल्लो सरकारसित पहल गरी आवश्यक निर्माणका कार्य सञ्चालन गरिने श्वेतपत्रमा उल्लेख गरिएको छ ।
अघिल्लो कार्यकालका राम्रा कामलाई निरन्तरता दिँदै जाने, दरबन्दी पुनरावलोकन, भ्रष्टाचारमा शुन्य सहनशिलताको नीति अपनाइने, सबै वडामा सेवाग्राहीलाई सहज रुपमा सेवा सुविधा दिने र नगरपालिकाका भित्र हुने अनियमिततालाई छानबिनको दायरामा ल्याएर सुशासन कायम गर्ने श्वेतपत्रमा उल्लेख गरिएको छ ।
भीमदत्त नगरपालिकाका नगर प्रवक्ता महेन्द्र खड्काले वर्तमान जनप्रतिनिधिले नगरपालिकाको जिम्मेवारी सम्हाल्दा अघिल्लो कार्यकालका गरिएका गतिविधि नगर वासिन्दालाई जानकारी गराउन श्वेतपत्र जारी गरिएको बताए ।
‘हामीले यो नगरपालिकामा आएर कार्यकाल सम्हाल्दा के कस्तो अवस्था थियो, त्यसको जानकारी गराउन यो श्वेतपत्र जारी गरिएको हो’ उनले भने,‘दायित्व नतिर्ने भन्ने हुँदैन, तिर्छौ, त्यसका लागि संघ र प्रदेशसित पनि समन्वय र पहल गर्छौ ।’
भीमदत्तका मेयर पदम बोगटी र उप मेयर निलम लेखक जोशी सहित कार्यपालिकाका सदस्य सहभागी कार्यक्रममा प्रवक्ता खड्काले श्वेतपत्र पत्र वाचन गरेका थिए । नगर प्रवक्ता खड्काले श्वेतपत्र सम्बन्धी पत्रकारहरुले राखेको प्रश्नको जवाफ दिएका छन् ।
मेयर बोगटीले कार्यक्रममा सहभागी सबैलाई धन्यवाद दिएर समापन गरे । मेयर बोगटी श्वेतपत्र सम्बन्धी केही पनि बोलेनन् ।
कार्यक्रममा भीमदत्तका प्रमुख प्रशासकीय अधिकृत पुस्कर प्रसाद भट्ट, प्रशासकीय अधिकृत हरि सिह धामी लगायतका कार्यपालिकाका सदस्यहरु सहभागी भएका छन् ।