महेन्द्रनगर । एमाले कैलालीको इन्चार्ज नारदमुनी रानाले सोधेको स्पष्टीकरणको जवाफ नफर्काएपछि जिल्ला अध्यक्ष रतन बहादुर थापा कारवाहीका लागि सिफारिश गरिएका छन् । एमाले कैलालीको जिल्ला सचिवालयको बैठकले थापालाई साधारण सदस्यता समेत नरहने गरी कारवाही गर्न प्रदेश कमिटीमा सिफारिश गरिएको हो ।
स्थानीय तह निर्वाचनमा पार्टीका आधिकारिक उम्मेदवार हराउन भूमिका निर्वाह गरेको र पार्टी नेतृत्व विरुद्ध जथाभावी बोलेको भन्दै थापालाई इन्चार्ज रानाले २३ बुँदे स्पष्टीकरण सोधेका थिए । अध्यक्ष थापाले इन्चार्ज रानाको स्पष्टीकरणलाई वेवास्ता गरी जवाफ नफर्काएपछि करावाहीका लागि सिफारिश गरिएको छ ।
एमाले कैलालीका सचिव डेजी पाण्डेयले बिहीबार बसेको जिल्ला सचिवालय बैठकले थापालाई साधारण सदस्य समेत नरहने गरी कारबाही गर्न प्रदेश कमिटीमा सिफारिस गरेको बताए । ‘जिल्ला सचिवालय बैठकको सिफारिसका आधारमा अब प्रदेश कमिटीले थापालाई कारबाही गर्छ’ उनले भने ।
सुदूरपश्चिम प्रदेश सभा सदस्य समेत रहेका थापा गत पुसमा सम्पन्न जिल्ला अधिवेशनबाट जिल्ला अध्यक्ष भएका थिए । एमाले सुदूरपश्चिम प्रदेश कमिटीका इन्चार्ज लेखराज भट्टको सहयोगमा उनले जितेका थिए ।