
महेन्द्रनगर । बेलडाँडी गाउँपालिकाका अध्यक्ष हरिशचन्द्र रानाले आर्थिक बेथिति नियन्त्रणलाई आफूले पहिलो प्राथमिकता दिएको बताएका छन् । स्थानीय तह निर्वाचनमा गरिएको प्रतिवद्धता अनुसार गाउँपालिकामा सुशासन कायम राख्न आफूले आर्थिक सुशासनलाई प्राथमिकता दिने उनले जनाए ।
‘स्थानीय सरकारको रुपमा गर्नु पर्ने धेरै काम छन्, विकास निर्माणका काम गर्छौ, सेवा प्रवाहलाई सहज र सुलभ बनाउँछौ’ उनले भने,‘त्यस भन्दा पनि विगतमा धेरै मात्रामा आर्थिक बेथिति देखिएका छन्, त्यसलाई नियन्त्रण गर्न म प्रयास गर्छु ।’

यस अघि गाउँपालिका नेतृत्वले कार्यपालिका बैठकमा लगेर हचुवामा निर्णय गरी आर्थिक रकम बाँड्दा गाउँपालिकाका चौतर्फी विवादमा तानिएको छ । गाउँपालिकाका निवर्तमान अध्यक्ष धन बहादुर थापा क्षेत्रीले कार्यपालिका बैठकबाट हचुवामा रकम बाँडेका थिए ।
अध्यक्ष रानाले थापाको कार्यकाललाई संकेत गर्दै गाउँपालिकाले सबै प्रकारका दबाव र प्रभाव अस्वीकार गरी आर्थिक अनुशासन कायम राख्ने बताए । ‘आर्थिक ऐन विनियम बाहेक कुनै पनि खर्च हुँदैन’ उनले भने,‘अहिलेसम्म जे भएको छ, त्यो अब हुँदैन ।’
दुई दशकसम्म शिक्षण पेशामा आवद्ध रानाले शिक्षा क्षेत्रलाई सबैभन्दा बढी प्राथमिकता दिएका छन् । अंग्रेजी विषयका शिक्षक रानाले काँग्रेस कञ्चनपुरको उप सभापति भएपछि मात्रै शिक्षण छाडेका थिए । शिक्षण छाडेका उनी स्थानीय तह निर्वाचनमा गाउँपालिकाको अध्यक्ष भएका हुन् ।
