
महेन्द्रनगर । शुक्लाफाँटामा कालोपत्रे गरिएको सडक १३ दिन नपुग्दै उप्किन थालेको छ। वडा नम्बर १२ कालागौडीमा गरिएको कालोपत्रे भत्किएको हो ।
कालोपत्रे भत्किा थालेपछि स्थानीयले विरोध गरेका छन् । सडक कालोपत्रे भइरहेको बेलामा पनि स्थानीयले पटक–पटक ठेकेदारलाई गुणस्तरमा प्रश्न उठाएकोमा कसैले चासो नदिएको स्थानीय केशवबहादुर साउँदले बताए ।

‘मन्त्रीको दबाबमा यहाँ सडक निर्माण भइरहेको छ। तिमीहरूले अवरोध गरे अर्को ठाउँमा जान्छौँ यो काम यहीँ छोड्छौँ भन्दै हामीलाई प्राविधिकले धम्की दिएर काम भएको हो’ उनले भने ।
उक्त सडक सुदूरपश्चिम प्रदेश सरकारको बजेटमा बनेको हो । ४२ लाखको योजना रहेकोमा प्रकाश नेगीले सडक निर्माणको ठेक्का २५ लाखमा सम्झौता गरेका थिए । उनीसँगै शुक्लाफाँटा नगरपालिकाका कर्मचारी टेकेन्द्रप्रसाद भट्टले पनि उक्त काम गरेका थिए । उनी नगरपालिकाको योजना शाखामा सवइन्जिनियर पदमा कार्यरत छन् ।
पूर्वाधार विकास कार्यालय प्रमुखका भाइ र नगरपालिकाका सवइन्जिनियरले ठेक्का लिएर गरेको काम गुणस्तरीय नभएको स्थानीयको आरोप छ । तर पूर्वाधार विकास कार्यालयका प्रमुख नेगीले पारिवारिक सम्बन्धका कारण ठेक्का उपलब्ध नगराइएको दाबी गरेका छन् ।
अहिले काम गुणस्तरहीन भएको गुनासो आएपछि निकासा रोकिएको र पुनः कालोपत्रे गर्न लगाइने सूचना अधिकारी हेमराज भट्टले बताए ।
स्थानीयले विरोध गरेपछि शुक्लाफाँटाका नगर प्रमुख रण बहादुर महराले कालोपत्रे सडकको निरीक्षण गरेका थिए । अनुगमनपछि मेयर महराले नगरपालिका कार्यालयमा निर्माण व्यवसायी ठेकेदारलाई बोलाएर छलफल गरेका थिए । छलफलका क्रममा ठेकेदार नेगीले सडक मर्मत गर्ने प्रतिबद्धता जनाएका छन् ।
