
महेन्द्रनगर । न्यायका लागि प्रहरीसम्म पुगेका पीडित महिलाहरुले जाहेरी लेखाउने पैसा नभएपछि अन्यायलाई सहन गरी घर फर्किने गरेका छन् । सीमान्तकृत समुदायका महिलाहरु आर्थिक रुपमा कमजोर भएर प्रहरी कार्यालय पुगेर पनि फर्किन बाध्य छन् ।
‘प्रहरी कार्यालयमा गएपछि जाहेरी चाहन्छ, दलित महिला जो आर्थिक रुपमा कमजोर छन्, पछाडि छन्, तिनीसित एक हजार डेढ हजार दिएर जाहेरी लेख्न सक्ने क्षमता हुँदैन’ अधिकारकर्मी एवम् नेतृ सीता नागरी भन्छिन्,‘अनि न्याय मिल्ने कुरा नै हुँदैन ।’

प्रहरी कार्यालयमा जाहेरी लेख्न नसक्ने कमजोर अवस्थाका महिलाका लागि प्रहरीले जाहेरी लेखी दिनु पर्ने उनको भनाई छ ।
अधिकारकर्मी नागरी आफैंले पनि जाहेरी लेख्न नसकेका पीडित महिलाको समस्या देखेको बताइन् । ‘कतिपय महिलाका केसमा त आफैं प्रहरी कार्यालय पुगेकी छु’ उनी भन्छिन्,‘केहीलाई त सक्दो सहयोग पनि गरेको छु ।’
दलित महिला संघ(फेडो) कञ्चनपुरले अयोजना गरेको नागरिक अभियन्ताहरुको कानुन सम्बन्धी क्षमता अभिवृद्धि कार्यक्रममा जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक लोकेन्द्र सिह ठगुन्नाले महिला, बालबालिका र ज्येष्ठ नागरिक विरुद्धको अपराधमा बढी संवेदनशिल हुने बताए । प्रहरी कार्यालय वा जानकारी पाएपछि मात्रै प्रहरीले सक्रियता देखाउने धारणा उनले राखे ।
प्रहरी निरीक्षक ठगुन्नाले बोलेपछि अधिकारकर्मी नागरीले उनलाई प्रहरी कार्यालयसम्म पुगेर पनि महिला जाहेरी लेखाउन नसकेर फर्किने गरेको बताइन् । उनले जाहेरी लेख्न पैसा तिर्न नसक्ने महिलाका समस्यामा प्रहरी गम्भीर हुन पर्ने बताइन् ।
फेडोका अध्यक्ष लक्ष्मी विकले लैङ्गिक र जातीय दोहोरो विभेदमा परेका दलित समुदायका महिलाहरु समाजका पिंधमा भएकाले न्याप पाउन नसकेको बताइन् ।
‘सबैभन्दा पछाडि छ भने यहाँ दलित महिला छन्, जो दोहोरो शोषणमा छन्’ उनले भने,‘न्याय पाउन के गर्नु पर्छ, कसरी न्याय पाउन सकिन्छ, कानुनी व्यवस्था के छन् भनेर नै सचेतना फैलाउन नै यो कार्यक्रम राखिएको छ ।’
कार्यक्रममा फेडोका संयोजक नर बहादुर आउजीले नेपाल जात व्यवस्था र दलित समुदायको अवस्थाबारे जानकारी दिए । संविधानमा हक अधिकार राखिए पनि दलित समुदायले अझैं सामाजिक विभेद र उत्पीडन खेप्दै आएको उनको भनाई छ ।
‘कानुनी रुपमा धेरै कुरा हटि सक्यो, व्यवहारिक रुपमा छैन, अझै पनि अन्तरजातीय विवाहका समस्या छन्, सार्वजनिक सेवा उपभोगमा समस्या छ’ उनले भने,‘ अन्तरजातीय विवाहमा त प्रहरीको महिला सेलभित्र नै दुव्र्यवहारसम्म हुने गरेको गुनासा आएका छन् ।’
भीमदत्त नगरपालिकाको अल्पकालिन सेवा केन्द्रका संयोजक अन्जु केसीले जाहेरी लेखाउन नसक्ने महिलालाई नेपाल बार एसोसिएसन लगायतले सहयोग गर्ने बताइन् । ‘जाहेरी लेख्न नसक्ने महिलाहरु हामी कहाँ पनि आउँछन्, बार एसोसिएसन लगायतसित समन्वय गरी जाहेरी लेखाएर न्याय दिलाउने काम हुन्छ’ उनले भनिन् ।
कानुन व्यवसायी कौशिल्या ओझाले कानुन र त्यसको कार्यान्वयनमा एक रुपमा नभएकाले सबैले समान रुपमा न्याय पाउनु पर्ने बताइन् ।
जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक ठगुन्नाले जाहेरी लेखाउन नसक्ने पीडित महिलाको प्रहरी कार्यालयमा जाहेरी लेखिने बताए । ‘जाहेरी लेख्न पैसा छैन भने प्रहरीले नै जाहेरी लेखि दिन्छ’ उनले भने ।
