
महेन्द्रनगर । बेदकोटमा दैजी जोगबुढा सडक खण्डको दैजीस्थित कालोपत्रे सडकमा गरिएको वृक्षारोपणका तस्बिर अहिले सामाजिक सञ्जालमा भाइरल भएका छन् । स्थानीयले सडक ममर्तका लागि दबाव दिन केही दिन अघि खाल्डाखुल्डीमा वृक्षारोपण गरेका हुन् ।
कालोपत्रे सडकका खाल्डाखुल्डीमा वृक्षारोपण गरिएका तस्बिरलाई धेरैले सामाजिक सञ्जालमा पोष्ट गरेका छन् । ती तस्बिर पोष्ट गरी उनीहरुले सरकारी निकायलाई व्यङ्ग्य प्रहार गरेका छन् ।
केहीले स्थानीयको वृक्षारोपणलाई रचनात्मक शैलीको विरोध भनेर फेसबुकमा उल्लेख गरेका छन् । स्थानीयले सडकमा वृक्षारोपण गरी संघ, प्रदेश र स्थानीय सरकारको ध्यान आकर्षण गर्न खोजेका छन् ।
सुदूरपश्चिम प्रदेश सरकारले प्रदेश गौरबको योजनामा राखेको यो सडक केही वर्ष अघि सडक डिभिजन कार्यालय महेन्द्रनगरले कालोपत्रे गरेको थियो । सडक कालोपत्रे गरिएको केही वर्षपछि भत्किएको थियो ।
सडक मर्मतका लागि स्थानीयले बर्सेनी माग गर्दै आएका छन् । सरकारी निकायले माग सुनवाई नगरेपछि स्थानीयले केही दिन अघि कालोपत्रे सडकका खाल्डाखुल्डी परेका स्थानमा वृक्षारोपण गरेका छन् ।
