दोधारा । दोधारा चाँदनी नगरपालिकाले बिपद् प्रतिकार्यको लागी मोटर बोट खरिद गरेको छ । दोधारा चाँदनी नगरपालिका कार्यालय, नेपाल राष्ट्रिय समाज कल्याण संघ (एनएनएसडब्लुए) र डिसी नेपालको सहयोग र सहकार्यमा बिपद् ब्यवस्थापन तथा प्रतिकार्यको लागी मोटर बोट खरिद गरेको हो ।
बिहीबार साँझ दोधारा चाँदनी नगरपालिका वडा नं. १० कुतियकवर नजिक जगबुडा नदीमा मोटर बोटको नमूना अभ्यास समेत गरिएको नेपाल राष्ट्रिय समाज कल्याण संघ (एनएनएसडब्लुए) का राजकुमार सुनारले जानकारी दिएका छन् । नेपाल राष्ट्रिय समाज कल्याण संघ (एनएनएसडब्लुए), डिसीए नेपालको ५ लाख र दोधारा चाँदनी नगरपालिका कार्यालयले झण्डै ७ लाख गरि १२ लाखमा उक्त उद्धार मोटरबोट खरिद गरिएको छ ।
नमुना अभ्यासको क्रममा स्थानियले दोधारा चाँदनी नगरपालिका कार्यालयले संघसंस्थासंग सहकार्य गरि बाढीको बेला उद्धारका लागि ल्याएको मोटर बोटलाई स्वागत गरेका छन् ।
सशस्त्र प्रहरीका सई उद्धव बहादुर धानुकको कमाण्डमा आएको ६ जनाको खोज उद्धार टोलीले मोटर बोटको नमुना अभ्यास समेत गरेका थिए । अभ्यास कार्यक्रममा दोधारा चाँदनी नगरपालिकाका मेयर किशोर कुमार लिम्बु, उप मेयर गंगा जोशी, वडाध्यक्षहरु, नेपाल राष्ट्रिय समाज कल्याण संघ (एनएनएसडब्लुए) का राजकुमार सुनार लगायत स्थानिय सहभागी भएका छन् ।
कुतियावकरका स्थानिय मोतीराम सुनारले कुतियकवर, शान्ती टोल, बैतिफाँटा, अठार नम्वर पिल्लर बस्ती लगायत वस्तीमा बाढी आएको बेला उद्धारको लागि मोटर बोटबाट सहयोग पुग्ने बताए ।
बाढी आएको बेला बिगतमा काठले बनाइएको किस्तीको सहारा बाढी पीडितहरुलाई उद्धार गरिँदै आएका अवस्थामा काठले बनाईएको किस्तीबाट उद्धार गर्दा निकै सकस हुने गरेको स्थानिय मोती राम सुनारले बताए । ‘बाढी आएको बेला मोटर बोटले उद्धार गर्न निकै सहज हुनेछ’ उनले भने ।
दोधारा चाँदनी नगरपालिकामा गएको कार्तिक २ गते आएको बिनासकारी बाढीले महाकाली नदी र जगबुडा नदीको तटिय क्षेत्रमा बसोबास गर्ने स्थानियको लाखौंको धनमालको क्षति भएको थियो । त्यति बेला उद्धार सामाग्रीको निकै अभाव भएको कारण स्थानियको ज्यान जोगाउन समेत उद्धारकर्मीलाई हम्मे हम्मे परेको थियो ।
दोधारा चाँदनी नगरपालिकाका मेयर किशोर कुमार लिम्बुले दोधारा चाँदनी नगरपालिकाको ८ र १० बाढीको बढी प्रभावित क्षेत्र रहेको बताउँदै बाढीको बेला उद्धार सामाग्रीको आभाव सृजना भएको अवस्थामा नगरपालिका कार्यालय, नेपाल राष्ट्रिय समाज कल्याण संघ (एनएनएसडब्लुए) र डिसीए नेपालसंग सहयोग सहकार्य गरी उद्धारका लागि मोटर बोट खरिद गरिएको बताए ।
बाढी आएको बेला धनमालसंगै मानवीय क्षतिलाई रोक्न समेत मोटर बोटको अहम भुमिका रहने मेयर लिम्बुले बताए ।