श्रीकृष्ण माविमा बाली विज्ञानका विद्यार्थीहरुका लागि सञ्चालन गरिएको पाँच दिने तालिम समापन

महेन्द्रनगर । शुक्लाफाँटा नगरपालिका १० झलारीस्थित श्रीकृष्ण माध्यमिक विद्यालयले बाली विज्ञान तर्फका विद्यार्थीका लागि सोमबारदेखि पाँच दिन सम्म सञ्चालन गरेको सहभागितात्मक ग्रामीण लेखाजोखा(पिआरए÷ आरआरए) तालिम शुक्रबार समापन गरिएको छ ।

तालिम समापन कार्यक्रममा त्रिभुवन विश्वविद्यालयका कृषि प्रसार निर्देशक तथा तालिमका मुख्य प्रशिक्षक महेश जैशीले त्रिविको सहकार्यमा पहिलो पटक विद्यालय स्तरमा लेखाजोखा तालिमको आयोजना गरिएको बताए ।

deepak

उनले विद्यार्थीहरुलाई व्यवसायिक बन्नका लागि आवश्यक पर्ने तत्वहरुका बारेमा जानकारी दिईएको चर्चा गर्दै विद्यार्थीले कार्य क्षेत्रमा पुगेर कार्य गर्नु पर्ने बताए ।

कृषि साधन(टुल) र टेक्नीकलको प्रयोग गरी पाँच दिने व्यवहारिक तालिम दिएर विद्यार्थीलाई दक्ष पारिएको उनले बताए । बाली विज्ञान पढने विद्यार्थीहरुको सफलता दर निकै कम भएको उल्लेख गर्नु हुँदै उनले त्रिविमा यसलाई कसरी सहजन गर्न सकिन्छ यसबारे छलफल गरी निष्कर्षमा पुगिने बताए ।

शुक्लाफाँटा बहु प्राविधिक शिक्षालयका प्रमुख तथा कार्यक्रमका प्रमुख अतिथि दिपक विष्टले कृषि बहुमूल्य पेशा भएकाले जसले माटोलाई स्पर्स गर्छ । त्यसलाई माटोले आर्शिवाद दिने भएकाले कृषिको आयात प्रतिस्थापन गरी निर्यातलाई बढावा दिन सक्ने जनशक्ति उत्पादन गरिनु पर्ने बताए ।

तालिम जीवन उपयोगी भएको धारणा अघि सार्दै उनले समुदायलाई फाईदा पुग्ने गरी तालिमका सहभागीहरुले कार्य गर्नु पर्ने बताए । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष लाल बहादुर सिंहले तालिमले जीवनमा महत्वपूर्ण योगदान दिने कुरा अघि सार्दै विद्यार्थीको दक्षता वृद्धिमा यसले सहयोग पुरयाएको बताए ।

पुनः यस्ता तालिम सञ्चालनका लागि पहल गरिने उनको भनाई थियो । विद्यालय व्यवस्थापन समितिका सदस्य तेज बहादुर शाहले तालिममा सिकेका कुराहरुलाई विद्यार्थीहरुले व्यवसायिक जीवनमा लागु गर्नु पर्ने बताए ।

उनँले विद्यार्थीहरु समुदायका विचमा जादा बोल्न समेत हिच्किचाउने गरेको उल्लेख गर्दै तालिमको प्रभावका कारण सबैका अगाडी बोल्न सक्ने भएको बताए ।

विद्यालयका प्रधानाध्यापक लक्ष्मी थापा ऐरले तालिमबाट सिकेका सैद्धान्तिक ज्ञानलाई व्यवहारमा उत्तार्नु पर्ने बताइन् । कार्यक्रममा तालिमका मुख्य प्रशिक्षक जैशीलाई विद्यालयका तर्फबाट सम्मान पत्र र विद्यार्थीका तर्फबाट मायाको चिनो स्वरुप विजयसालको करुवा दिइएको छ ।

तालिममा सहभागी ६४ विद्यार्थीलाई प्रमाण पत्र हस्तान्तरण गरिएको छ । तालिम समापन कार्यक्रमको सञ्चालन विद्यालयको प्राविधिक तर्फका कार्यक्रम संयोजक जगदिशप्रसाद जोशीले गरेका थिए ।

 

सम्बन्धित
Loading...