सामुदायिक वन महासंघका अध्यक्ष पाठक भन्छिन्– अधिकार कटौती विरुद्ध टुलटुल हेरेर बस्न सकिदैन

महेन्द्रनगर । सामुदायिक वन उपभोक्ता महासंघ नेपालका अध्यक्ष भारती पाठकले उपभोक्ता अधिकारी कटौती गरी आएको वन नियमावली विरुद्ध टुलटुल हेरेर बस्न नसकिने बताएकी छन् ।

वन नियमाली २०७९ विरुद्ध मंगलबार महेन्द्रनगर स्मारक क्षेत्रमा हुने विरोध सभामा सहभागी हुन आएकी उनले सोमबार पत्रकार सम्मेलनमा अपराधिक शैलीमा नियमावली ल्याएको बताइन् ।

‘यतिसम्म तल झरेर अपराधिक कार्य गर्ने सरकारलाई कसरी टुलटुल हेरेर बस्न सक्छौ’ पत्रकार सम्मेलनमा अध्यक्ष पाठकले भनिन्,‘यस विरुद्ध लाग्छौ, छाड्दैनौ ।’

सरकारले अहिले मात्रै नभएर पटक पटक वन उपभोक्ताका अधिकार कटौती गर्दै आएकाले उल्लेख गर्दैै उनले महासंघ यस पटक पनि नियमावली विरुद्ध देशव्यापी आन्दोलनमा उत्रिएको बताइन् ।

महासंघ अध्यक्ष पाठकले वन उपभोक्ताका अधिकार कटौती गरी वन क्षेत्रलाई व्यापारीकरण गर्ने नियत नियमावलीमा राखिएकाले खारेज हुनु पर्नेमा जोड दिइन् ।

‘वन संरक्षण गर्ने समुदायका अधिकार कटौती गर्न वन ऐन विरुद्ध नियमावली ल्याइयो, यसमा चित्त बुझेन भने निर्देशिका ल्याइन्छ, यतिले पुगेन भने कार्यविधि ल्याइन्छ, यतिले पनि पुगेन भने परिपत्र गरिन्छ’ उनले भनिन्,‘कानुन त देखाउन मात्रै बनाउँछन्, अहिले पनि वन क्षेत्रलाई व्यापारी गर्न नियमावली ल्याइएको छ, ३० वर्षसम्म ५० हेक्टर जमिन कुरा त्यसैका लागि हो त्यहाँ रिसोर्ट, स्वीमिङ्ग पुल बनाउने कुरा, अनि वन भित्रका ढुङ्गा, गिट्टी स्रोत पनि बेच्न खोजिएको छ ।’

वन ऐन २०७६ बनाउँदा पनि अधिकार कटौती गर्न खोजिए पनि त्यस विरुद्ध महासंघले दबाव दिएर रोकिएको उनको भनाई छ । ‘वन ऐन आउँदा पनि अधिकार कटौती गर्न खोजिएको थियो’ उनले भनिन्,‘त्यस बेला सकेन, अहिले फेरि नियमावली ल्याएर यस्तो गरि दियो ।’

वन नियमावलीले सामुदायिक वनमा महिला समावेशीतालाई कटौती गरी अधिकारमाथि हस्तक्षेप गरेको अध्यक्ष पाठकको भनाई छ ।

‘सामुदायिक वनमा महिलाको निर्णायक सहित ५० प्रतिशत प्रतिनिधित्व थियो, त्यसलाई हटाइएको छ’ उनले भनिन्,‘किन त्यसो गरियो भन्दा महिलासित कुरा मिल्दैन भनियो, संरक्षण गर्ने महिलासित कुरा मिल्दैन, यस्तो पनि हुन्छ, अब उपाध्यक्ष वा कोषाध्यक्षमा मात्रै महिलालाई सीमित गर्न खोजिएको देखिन्छ ।’

पत्रकार सम्मेलनमा महासंघमा महासचिव बिर्ख बहादुर शाही, केन्द्रीय सदस्य धर्म सिह कुँबर, कञ्चनपुर अध्यक्ष लक्ष्मी साउँद लगायतका सहभागी भएका छन् ।

महासंघले मंगलबार स्मारक क्षेत्रमा जिल्लाभरका सामुदायिक वनलाई सहभागी गरी विरोध प्रदर्शन गर्ने तयारी गरेको छ । वन नियमावली विरुद्ध प्रदर्शनपछि स्मारकमा विरोध सभा गरिने महासंघका जिल्ला अध्यक्ष साउँदले बताइन् ।

ghar sansar
सम्बन्धित
Loading...