मदिरा सेवन गरी प्रहरी कार्यालय गएका शुक्लाफाँटा ८ का अध्यक्ष महरा पक्राउ, मेडिकल जाँच गरी आज विहान छाडियो

महेन्द्रनगर । शुक्लाफाँटा नगरपालिका ८ का अध्यक्ष बहादुर सिह महरा पक्राउ परेका छन् । मदिरा सेवन गरी इलाका प्रहरी कार्यालय आएका महरालाई सोमबार राति कार्यालय नजिकबाट पक्राउ गरिएको हो । उनलाई सोमबार राति मेडिकल जाँच गरी विहान छाडिएको छ ।

प्रहरीका अनुसार इलाका प्रहरी कार्यालयको गेटमा अध्यक्ष महराले अन्य व्यक्तिसित विवाद गरी होहल्ला गरेपछि उनलाई पक्राउ गरिएको हो । श्रीमानले कुटपिट गरेपछि प्रहरी कार्यालय आएकी एक महिलाको विवादमा अध्यक्ष महरा राति इप्रका आएका थिए ।

प्रहरी कार्यालयको गेटमा अन्य व्यक्तिसित विवाद भएर होहल्ला भएपछि प्रहरीले पक्राउ गरेको थियो । उनलाई त्यसपछि उनलाई महाकाली प्रादेशिक अस्पताल ल्याएर मेडिकल जाँच गरिएको थियो । मेडिकल जाँचमा महराले मदिरा सेवन गरेको देखिएको छ ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक चक्र बहादुर शाहले अध्यक्ष महरालाई विहान छाडिएको बताए । वडा अध्यक्ष महरालाई सोमबार राति प्रहरी हिरासतमा राखिएको थियो ।

सत्ता साभेदार नेकपा माओवादी केन्द्रका नेता महरा दोस्रो पटक स्थानीय तह निर्वाचनबाट वडा अध्यक्ष भएका हुन् । पहिलो पटक २०७४ मा अध्यक्ष हुँदा उनले वडालाई मदिरा निषेधित क्षेत्र घोषणा गरेका थिए ।

Sisu
सम्बन्धित
Loading...