महेन्द्रनगर । बेदकोट नगरपालिकाले अघिल्लो आर्थिक वर्षमा ३४ लाख बढी खानामा खर्च गरेको छ । महालेखा परीक्षकको कार्यालयले सार्वजनिक आर्थिक वर्ष २०७७÷०७८ को वार्षिक प्रतिवेदनमा खाना तथा विविध खर्चमा ३४ लाख १ हजार ७३ रुपैँया खर्च भएको उल्लेख गरिएको छ ।
महालेखाको प्रतिवेदनमा विविध खर्च भने खुलाइएको छैन । महालेखाले खाना र विविध खर्चलाई नियन्त्रण गरिनु पर्ने नगरपालिकालाई सुझाव दिएको छ ।
अघिल्लो आर्थिक वर्षमा नगरपालिकाले एक करोड भन्दा बढी मात्रै आन्तरिक स्रोत थियो । आन्तरिक स्रोत थोरै भएको नगरपालिकामा खानामै ३४ खर्च भएको देखिएपछि नगरपालिकाको वर्तमान नेतृत्व अचम्ममा परेको छ ।
नगरपालिकाका स्रोतका अनुसार खाना खर्च वापत भुक्तानी लिनेमा बेदकोट र महेन्द्रनगर बजारका होटल अधिकाँश छन् । तीमध्ये दुई होटलले खानामा सबैभन्दा बढी भुक्तानी लिएको स्रोतले जनायो ।
अघिल्लो वर्ष नेकपा एकीकृत समाजवादीका नेता अशोक कुमार चन्द नगरपालिकाको मेयर थिए । २०७४ को स्थानीय तह निर्वाचनमा उनी नेकपा एमालेबाट निर्वाचित भएका थिए । गत वैशाख ३० गतेको निर्वाचन घोषणापछि उनी एमाले छाडेर समाजवादी भएका थिए ।