पप्पु गुरुङ्ग
दोधारा । दोधारा चाँदनी नगरपालिकाका ज्येष्ठ नागरिकले आफ्नै टोल वस्तीमा सामाजिक सुरक्षा भत्ता पाउन थालेका छन् । दोधारा चाँदनी नगरपालिकाका मेयर किशोर कुमार लिम्बुले आफ्नै चुनावी प्रतिद्धता अनुसार नगरपालिकास्थित बैकसित छलफल गरी वस्तीमा भत्ता वितरणको व्यवस्था गरेका हुन् ।
दोधारा चाँदनीका कृषि विकास बैक, कुमारी बैंक, एनआईसी एसिया बैक र सनराईज बैंक, जनप्रतिनिीि, नगरपालिकाका कर्मचारीले अहिले टोल बस्तीमा गएर सामाजिक सुरक्षा भत्ता वितरण गर्न थालेका छन् ।
दोधारा चाँदनी नगरपालिका ८ स्थित जनज्योती माध्यमिक विद्यालयमा सामाजिक सुरक्षा वितरणमा आज दोधारा चाँदनी नगरपालिकाका मेयर किशोर कुमार लिम्बुले वितरण कार्य अनुगमन गरेका छन् । भत्ता वितरण कार्यलाई अझै प्रभावकारी बनाउन उनले कर्मचारीलाई निर्देशन दिएका छन् । भत्ता वितरणमा कुनै समस्या परे सिधै आफूलाई सम्पर्क गर्न समेत आग्रह गरेका छन् ।
अपाङ्गता भएका व्यत्ति, विरामी, अशक्त व्यत्तिलाई उनीहरुको घरमै सामाजिक सुरक्षा भत्ता दिने ब्यवस्था गरिएको मेयर लिम्बुले बताए । वृद्धवृद्धा तथा अपाङ्गता भएका व्यक्तिको सहजताका लागि बैंकसंग सहकार्य गरी टोल बस्तीमा गएर सामाजिक सुरक्षा भत्ता वितरण भईरहेको दोधारा चाँदनी नगरपालिकाका मेयर किशोर कुमार लिम्बुले बताए ।
विगतमा भत्ता लिन बैंकमा दिनभपर लाईनमा उभिँदा ज्येष्ठ नागरिकले सास्ती खेप्न परेपछि टोल वस्तीमा सामाजिक सुरक्षा भत्ता वितरण थालिएको हो । लिम्बुले कार्यभार सम्हालेपछि वडामा भत्ता बाँड्ने पहिलो निर्णय गरेका थिए ।
भत्ता वितरणमा जनप्रतिनिधि, बैंकका प्रतिनिधि र नगरपालिकाका कर्मचारीसंगै स्थानीयले पनि सहयोग गरेका छन् । दोधारा चाँदनी नगरपालिकाको टोल बस्तीमा गएर सामाजिक सुरक्षा भत्ता दिने निर्णय स्वागत योग्य भन्दै जनप्रतिनिसधहरुको प्रशंसा गरेका छन् ।
मेयर लिम्बुले केही दिन अघि मात्रै कृषि विकास बैंक, कुमारी बैंक, एनआईसी एसिया बैक र सनराईज बैंकका शाखा प्रमुख, तथा नगरपालिकाका कर्मचारीसंग टोल वस्तीमा भत्ता वितरण गर्नका लागि छलफल गरेका थिए ।
कृषि विकास बैंकमा कर्मचारीको अभाव भएको बताउँदै यस पटक बैंकमा सामाजिक सुरक्षा भत्ता वितरण गर्ने जानकारी दिएको छ । टोल बस्तीमा गएर भत्ता वितरण गर्ने कार्य सराहनीय रहेको स्थानीय बिनोद चौधरीले बताए । ‘नगर सरकारले सामाजिक सुरक्षा भत्ता वितरणको सन्दर्भमा सहि तथा समय सापेक्ष निर्णय गरेको छ’ स्थानीय चौधरीले भने ।
स्थानिय तहको निर्वाचनका बेलामा जनताका बिचमा गरेका वाचा अनुसार भत्ता वितरणलाई सहज बनाइने मेयर लिम्बुले बताए ।