महेन्द्रनगर । बेलडाँडी गाउँपालिकाका उपाध्यक्ष शान्तिले बेल्डाँडी महिला साना कृषि सहकारी संस्थामाथि कारवाही प्रक्रिया अघि बढाएकी छन् ।
बेदकोट नगरपालिकाका दुई जनाले बेलडाँडीका वासिन्दा बनेर रसायनिक मलखाद लिएपछि सहकारीमाथि कारवाही गर्न लागिएको हो । त्यसका लागि बेलडाँडी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत पदमराज जोशीले सहकारी संस्थालाई तीन दिने स्पष्टीकरण सोधेका छन् । सहकारीलाई कारावही किन नगर्ने भनेर स्पटीकरण सोधिएको छ ।
केही दिन अघि बेलडाँडी गाउँपालिका ५ का स्थानीय बनेर बेदकोटका दुई जनाले मलखाद ल्याएका थिए । उनीहरुलाई क्याम्पबाट नियन्त्रणमा लिएर प्रहरीको जिम्मा लगाइएको थियो । प्रहरीले नियन्त्रणमा लिएर उनीहरुलाई छाडेपछि उपाध्यक्ष नाथले सहकारीमाथि कारवाही प्रक्रिया अघि बढाएकी हुन् ।
मलखाद नियन्त्रणका लिएका दिन उपाध्यक्ष नाथले प्रमुख प्रशासकीय अधिकृतलाई कारवाही अघि बढाउन निर्देशन दिएकी थिइन् । उनी गाउँपालिकामा मलखाद वितरण समितिकी संयोजक छन् । उपाध्यक्षको निर्देशन अनुसार प्रमुख प्रशासकीय अधिकृत जोशीले सहकारीलाई स्पष्टीकरण सोधका हुन् ।
स्पष्टीकरण पत्रमा सहकारी संस्थाले कार्यक्षेत्रभन्दा बाहिरका वासिन्दालाई अवैध रुपमा मलखाद बिक्री वितरण गरिएको आरोप लगाइएको छ । प्रमुख प्रशासकीय अधिकृत जोशीले अनुदानको मलखाद विक्री वितरण व्यवस्थापन सम्बन्धी निर्देशिका २०७७ को दफा २० बमोजिम सहकारीलाई कारवाहीका लागि स्पष्टीकरण सोधेका छन् ।
सहकारी संस्थाका अध्यक्ष कमला रेग्मी जोशीले गाउँपालिकाबाट स्पष्टीकरण पत्र आएको बताइन् । ‘सहकारीको कार्यालयमा आएर बेलडाँडी ५ का वासिन्दा हौ भनेर उनीहरु मलखाद लगेका हुन, त्यो मलखाद नियन्त्रण लिइ सकेको छ’ उनले भनिन्,‘त्यसैलाई विषय बनाएर स्पष्टीकरण सोधिएको छ, सहकारीले त्यसको जवाफ पठाउँछ ।’
गाउँपालिका उपाध्यक्ष नाथले निर्वाचित हुन अघि गत वर्ष सहकारी संस्थाको भवन तोडफोड गरेपछि उनी विवादमा मुछिएकी थिइन् । सहकारीले उपाध्यक्ष नाथलाई जिल्ला प्रशासन कार्यालयसम्म पुगाएर माफी माग्न लगाएको थियो । उनले प्रशासन कार्यालयमा सहकारी भवनमा पुगाएको क्षतिपूर्ति तिर्ने कागज गरेकी थिइन् ।
गाउँपालिकाका निवर्तमान अध्यक्ष धन बहादुर थापाको कार्यकालमा सहकारीलाई भवन बनाउन जमिन दिएको भन्दै उनले तोडफोड गरेकी थिइन् । भवन तोडफोडपछि प्रशासन कार्यालय पुगाएर माफी मगाएको प्रतिशोध साँध्न उनले अहिले कारवाही प्रक्रिया अघि बढाएको सहकारीको पदाधिकारीहरु बताउँछन् ।