
सरकारले आगामी मंसिर ४ गते संघ र प्रदेशको निर्वाचन घोषणा गरेपछि राजनीतिक दलहरु आन्तरिक तयारीमा लागेका छन् । नेताहरु भेटघाट, भेला, बैठक सहितका विभिन्न कार्यक्रमबाट जनतासम्म पुग्न थालेका छन् । चुनाव घोषणापछि नेताहरु आन्तरिक रुपमा टिकटका लागि लबिङ्गमा लागि सकेका छन् । स्थानीय तह निर्वाचनझै यस पटक सत्तारुढ गठबन्धन, नेकपा एमाले लगायतका दलहरुबीच नै चुनावी प्रतिस्पर्धा छ । मंसिर ४ गतेको चुनावका लागि संसदको प्रतिपक्षी दल नेकपा एमालेको चुनावी रणनीति, तयारी, सत्तारुढ गठबन्धनको चुनावी तालमेल, समसामयिक राजनीति लगायतका विषयमा एमालेको केन्द्रीय सल्लाहकार परिषद् सदस्य अधिवक्ता नन्दलाल चटौतसित गरिएको कुराकानी
–नेकपा एमालेका उपाध्यक्ष युवराज ज्ञवालीले केही दिन अघि महेन्द्रनगरमा सरकार चुनाव हुन नदिन विभिन्न षडयन्त्र गरि रहेको आरोप लगाउनु भएको थियो । चुनाव त घोषणा भयो । सरकारले मंसिर ४ गते घोषणा गरेको चुनावलाई एमाले कसरी लिएको छ ?

चुनाव घोषणा हुन स्वागत योग्य कुरा हो । आवधिक निर्वाचन अपरिहार्य हुन्छ । आवधिक निर्वाचन नियमित प्रक्रिया नै हो । अब कुरा रह्यो हाम्रो पार्टीको । एमालेले चुनाव घोषणालाई सहज रुपमा लिएको छ । जनताको बिचमा जान्छौ । जनताका समस्या, हाम्रो पार्टी सरकारमा हुँदा गरेको कामकुरा सबै जानकारी गराउँछौ । अहिले पनि हाम्रो पार्टी नम्बर एक नै छ । स्थानीय तह चुनावमा मतको हिसाबले बलियो हामी नै छौ । सीट केही तलमाथि भएको छ । जनताले विश्वास गरेको नै छ । आगामी निर्वाचनमा बहुमतका साथ सरकारमा जानेमा ढुक्क छौ ।
–चुनावलाई सहज रुपमा लिएका छौ भन्नु भयो । स्थानीय तह निर्वाचनझैं यस पटक पनि सत्तारुढ दलबीच तालेमल हुने निर्णय भएको छ । यसले त एमाले असहज अवस्थामा पुग्दैन र ?
स्थानीय चुनावको बेला तयारी नपुगेको अवस्था थियो । अहिले त्यस्तो अवस्था छैन । तैपनि स्थानीय चुनावमा एमाले एक नम्बर पार्टी बन्यो । पार्टीभित्र आन्तरिक कमीकमजोरी छन् । टिकट वितरणका कमजोरी होलान । अहिले ती सबै कमीकमजोरी सच्याएर जनतामा जान्छौ । खास गरी स्थानीय तहमा हाम्रो पार्टी नेतृत्वको सरकारले गरेका राम्रा कामलालाई जनतासम्म लगेर प्रचार गर्न सकिएन । विघटित नेकपा सरकार हुँदा जनताका लागि थुप्रै काम गरिएका थिए । अब यस पटक यस अघिका सबै कमजोरीलाई सच्याएर जान्छौ । त्यसका लागि सबै कार्यकर्तालाई पार्टीको सिद्धान्त, विचार, नीति, कार्यक्रम सम्बन्धी प्रशिक्षण दिन्छौ । अहिले पनि सबैले जनताले हाम्रो पार्टीको विचार सिद्धान्त नबुझेको अवस्था छ । हामीले गरेको काम, अब गर्ने काम, राष्ट्र निर्माणलाई प्राथमिकता राखेर सबै कार्यकर्तालाई प्रशिक्षित गछौ । प्रशिक्षित कार्यकर्तालाई त्यसपछि डोर टु डोर पुगाउँछौ । अहिलेको गठबन्धन सरकारका बिकृति, विसंगति, भ्रष्टाचार, महँगी, कुशासन, भुटमुठ सबैलाई जनतामा लैजानेछौ । जनताले यो सबै राम्ररी बुझेका छन् ।
–एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारको पालामा पनि जन अपेक्षा अनुसार का हुन सकेन । एमालेमाथि सरकारमा हुँदा जनतालाई आश्वासन मात्रै दिएर झुलाई रहेको आरोप लाग्ने गरेको छ । अहिले गठबन्धनको विरोध गर्दा एमालेललाई पनि अप्ठेरो त पर्ला नि ?
सबैभन्दा ठूलो काम त राष्ट्रको स्वभिमान बचाउने काम गरेको छ । नम्बर एक यहाँ चुच्चे नक्साको कुरा छ । यो काम त सबैले देखेकै छन् । थाहा पाएकै छन् । यो काम अहिलेसम्म कसैले गर्न सकेको थिएन । विकासका काम भएका छन् , भूकम्पले ढलेको धरहरा पुनः निर्माण गरिएको छ । सात ओटै प्रदेशमा अस्पताल, कलेज, राजमार्ग, सञ्चार क्षेत्र,प्रविधिसित युवालाई जोड्ने कुरा, युवालाई रोजगारीको कुरा नै भन्नु, यस्ता धेरै काम भएका छन् । विपक्षीले त भन्ने नै हुन् जनताले बुझेका छन्, तमाम काम भएका छन्, जनताले धेरै बुझेका छन् ।
–त्यसो भए मंसिर ४ गतेको निर्वाचनमा एमालेले बहुमत ल्याउनेमा विश्वस्त हुनु हुन्छ ?
एमाले बाहेक यो देशमा देशको राष्ट्रियता र स्वाधिनताको रक्षा गर्ने, चिन्ता गर्ने अरु कुनै पार्टी नै छैन । देख्नु भयो नि ओलीजी प्रधानमन्त्रीबाट हट्ने बित्तिक्कै एमसीसी पास भयो । अमेरिकन सेना आउने कुरा आएको छ । एसपीपी अघि बढेको छ । यी सबै राष्ट्रघात गठबन्धन सरकारले गरेको छ । राष्ट्रघात गर्नका लागि यो गठबन्धन बनेको हो जस्तो देखिन्छ । यस्तो राष्ट्रघात गर्ने गठबन्धनलाई जनताले विश्वास गर्दैन । त्यस कारण एमालेको बहमुत कसैले पनि रोक्न सक्दैन । अहिले सरकार राष्ट्रघातमा लागेको छ । जनतालाई सेवा सुविधा केही पनि दिन सकि राखेको छैन । जनता मलखाद नपाएर समस्यामा छन् । बाढी पीडित वासिन्दा राहत सहयोग नपाएर कष्टकर जीवन बिताउन बाध्य छन् । खाली यस गठबन्धनको उद्देश्य भनेको जनतामा एमालेको राम्रो जनमत देखेपछि त्यसलाई कमजोर बनाउने । त्यसैले त ४÷५ पार्टी मिलेर हराउन गठबन्धन बनाएका छन् । सत्ताको कुर्सीका लागि विदेशीको ईशारामा निहित स्वार्थ पूर्ति गर्न लागेका छन् । राष्ट्र, देश जोगाउने, राष्ट्रियता, सार्वभौमसत्ता , जनताको समस्याको केही पनि मलतब नै छैन । अरु त अरु हाम्रो प्रदेशमा एउटा मेडिकल कलेज बनाउने भनेर पूर्वाधार तयार भइ सकेको छ । त्यसलाई गठबन्धनले हुन नदिने मनसाय राखेर डडेल्धुरा पुगाएको छ । यो प्रकारको हातल भएको गठबन्धनसित एमाले डराउने, पछाडि पर्ने केही कारण छैन ।
–अघिल्लो निर्वाचनबाट दुई तिहाई जनमत पाएर पनि सरकार टिकाउन सकिएन । संसद नै विघटन गरियो । यस पटक निर्वाचनमा एमालेलाई फेरि किन बहुमत चाहिएको हो ?
त्यति बेला माओवादी सहित मिलेर दुई तिहाई ल्याएको हो । एमाले एक्लैले होइन् । त्यो दुई तिहाईमा प्रचण्डको गेम के थियो । केपी कमरेडलाई काम गर्न नदिने निहित स्वार्थ देखियो । काम गर्न नदिएर दुई तिहाई बहमुतको सरकारलाई त्यहाँ भएका सबै पार्टी कमजोर बनाउन लागे । जसरी पनि सरकार ढलाउन सबै लागे । काम गर्नै नदिएपछि सरकार चलाउने सक्ने अवस्था भएन । तत्कालिन नेकपा नेकपाभित्रको आन्तरिक कारण थियो यो । यस बाहेक विदेशीको इशाराले पनि काम ग¥यो । अर्को चुच्चे नक्साका कारण पनि केपी कमरेडको सरकार ढलाउने काम भयो । काँग्रेस, माओवादी, एमालेबाट छुट्टिएर गएका माधव नेपाल सबै मिलेर सरकार ढाले । त्यसपछि अहिलेको यो गठबन्धन बनेको हो नि । त्यस कारण अहिले एमाले आफैं बहुमतको सरकार बनाउन चाहन्छ । त्यसका लागि पार्टी अघि बढेको छ । एमालेको विचार, सिद्धान्त, नीति, कार्यक्रम अनुसार राष्ट्र र राष्ट्रिय स्वाधिनताको संरक्षण, मिचिएको भूमि फिर्ता, स्वदेशमै रोजगारी, नेकपाकालिन सरकारको पालामा अपूरा काम पूरा गर्ने, जनजीविका, जनताको समस्या किसानमा समस्या, गरीब, सुकुम्बासी, भूमिहिन, मजदर, हलिया कमैया सबैको समस्या समाधान गर्न बहुमतको सरकार बनाउँछौ । मंसिर ४ मा जनताले एमालेका यी एजेण्डालाई अनुमोदन गरी बहुमत दिनेमा विश्वस्त छौ ।
–तपाई आफैं पनि अधिवक्ता हुनु हुन्छ । एमाले अध्यक्ष ओलीले तत्कालिन नेकपाको सरकारको नेतृत्व गर्दा दुई दुई पटक संसद विघटन गर्नु भयो । सर्वोच्च अदालते त्यसलाई असंवैधानिक करार गरि दियो । फेरि पनि मंसिर ४ गते एमालेलाई संसदका लागि भोट माग्न जनतासम्म जाँदा अप्ठेरो लाग्दैन त ?
संसदीय व्यवस्थामा संसद विघटन गर्ने अधिकार प्राइम मिनिस्टरलाई हुन्छ । दुई तिहाई नेतृत्वको सरकारको प्रधानमन्त्रीलाई काम गर्न दिएन भने ताजा जनादेशका लागि जनतामा जाने मात्रै विकल्प हुन्छ । त्यो बाहेक अन्य केही हुँदैन । संसद विघटन गरी ताजा जनादेशका लागि जनतामा जान खोजिएको हो । अदालतसित सेटिङ्ग गरी परमादेशबाट ताजा जनादेश लिने कामलाई रोकियो । यो जगजाहेर नै छ । यसबारे केही भन्नु नै छैन । ओलीजीले रहरले त संसद विघटन गरेको होइन भन्ने पनि जनताले बुझेका छन् । संसद विघटनका गर्नका कारण मैले यस अघि नै भनि सके । देशी विदेशी सबै शक्ति मिलेर चौतर्फी घेराबन्दीमा हालेपछि यस बाहेक अरु विकल्प नै हुन्थ्यो त । त्यस कारण यस पटक जनतामा हामी बहमुतको सरकार बनाउन म्यान्डेटका लागि जानेछौ । जनताले हामीलाई साथ दिनेमा पूर्ण आश्वास्त छौ ।
–आगामी निर्वाचनमा एमालेले बहुमत ल्याउने कुरा धेरै पटक गर्नु भयो । स्थानीय तह निर्वाचनमा सत्तारुढ गठबन्धनका कारण एमाले कमजोर देखियो । अहिले पनि सत्तारुढ दलले चुनावी तालमेल गर्ने निर्णय गरि सकेका छन् । त्यसले त एमाले फेरि पनि पछाडि पर्ने सम्भावना देखिदैँन र ?
एमालेलाई त्यसको केही डर छैन । एमाले एक्लै लड्न सक्षम छ । राष्ट्र निर्माण गर्ने सोचका साथ पार्टी अघि बढ्छ । पाँच दलले एमालेको डरले गठबन्धन बनायो भन्दैमा हामीले पनि बनाउनु पर्ने भन्ने त केही छैन । र पनि पार्टी यसमा सोच्ला । त्यो पार्टीले बाहिर पनि ल्याउँला । यस पटक निर्वाचनमा गठबन्धनले केही फरक पार्दैन । स्थानीय तह निर्वाचनमा एमालेले ३४ प्रतिशत मत पाएको छ । बहुमतका लागि १६ प्रतिशत चाहिएको छ । एमालेको ध्यान १६ प्रतिशत मत बढाउन पार्टीलाई बलियो बनाएर चुनावमा जान्छौ । यस अघिका सबै गल्ती, कमजोरी, त्रुटी अबको निर्वाचन दोहोरिदैन ।
–अब, कञ्चनपुर जिल्लाको कुरा गरौ, स्थानीय तह निर्वाचनमा टिकट वितरणमा असन्तुष्टि देखियो । नतिजा पनि त्यसै अनुसारको आयो त । यो निर्वाचनमा पनि त्यस्ता कमजोरी दोहोरिन सक्छन् नि ?
विगतमा भएका कुनै पनि कमीकजोरी यस पटक दोहोरिदैन । दोहोरो¥याउन हुन्न । टिकट वितरणमा पनि असन्तुष्टि हुनु हुँदैन । विगतको समीक्षा पार्टीमा भई रहेको छ । त्यसबाट पनि सत्यतथ्य कुरा त आउँला । प्रदेश केन्द्रमा यसका समीक्षा भई रहेका छन् । तल पनि होलान् । यी पार्टीका आन्तरिक कामकाज नै हुन् । चुनावका लागि सबै मिलेर जान्छौ । त्यसका लागि नेता कार्यकर्ता सबैसित सल्लाह गर्छौ । प्रशिक्षण, भेला लगायतका कार्यक्रम गर्छौ । अहिले गठबन्धनका विरुद्ध लड्न छ भनेर सबै कार्यकर्तालाई एक मन एक तन बनाएर अघि बढ्छौ । एक भएर अघि बढ्यौ भने हाम्रो जितलाई कसैले पनि रोक्न सक्ने अवस्था नै छैन । एक ढिक्का भएर जान्छौ । एमाले मात्रै भएर लाग्छौ । टिकटका दाबेदा व्यक्ति जो भए पनि पार्टीले टिकट दिई सकेपछि जनता र राष्ट्रलाई सर्वोपरी राखेर अघि बढ्छौ ।
–एमालेले चुनावमा चाहिँ के कस्ता एजेण्डा लिएर जनतामा जाने सोच बनाएको छ ?
पार्टीले चुनावी घोषणा पत्र बनाउँछ । त्यसलाई नै जनतासम्म पुगाउँछौ । अहिले बेरोजागरीका समस्या छन् । युवा रोजगार नपाएर विदेश जान बाध्य छन् । युवा पलायन रोक्न कुरालाई प्राथमिकता दिन्छौ । उद्योगधन्दा, कलकारखना, उत्पादन मुलुक कार्यक्रम सुरु गर्छौ । यस अघिका अधुरा कामलाई पनि पूरा गर्ने विषय जनतामा लैजान्छौ । जनजीविका, जनताका समस्या, शिक्षा, स्वास्थ्य, महँगी, भ्रष्टाचार, कुशासनका विषयलाई पनि चुनावी एजेण्डा बनाउँछौ । समसायिक राजनीति, गठबन्धन सरकारको राष्ट्रघात, वैदेशिक हस्तक्षेप लगायतका विषय पनि चुनावी एजेण्डाका रुपमा आउने छन् ।
–एमाले विभाजनका कारण जनतामा जति राम्रा एजेण्डा जनतामा लगे पनि धेरैले त अप्ठेरो छ भन्छन् नि ?
एमालेको आफ्नै बलियो संगठन छ । माधव नेपालजी छुट्टिएर समाजवादी पार्टी बनाएपछि त्यसको खास असर परेको छैन । पार्टीले योजना बनाएर नै चुनावका लागि सबै संगठनलाई चुस्त दुरुस्त बनाउँछ । एमाले जिताउने लक्ष्य लिएर अघि बढ्दा जित अवश्य पनि हासिल हुनेछ । पार्टीले जे निर्णय गर्छ, त्यो सबैले मान्नु पर्छ । होइन भने पार्टी छाडेर जाँदा हुन्छ । पार्टीमा बसेर टिकट पाउनु ठूलो कुरा होइन् । राजनीतिक त समाज सेवाका लागि गरिएको हो । देश जनताको लापग गरिएको हो । टिकट पाउने मात्रै होइन, नेता भएर भाषण गर्न मात्रै होइन भनेर बुझेर सबै नेता कार्यकर्ता अघि बढ्छौ । पार्टीभित्रका विगतका कमी कमजोरी पनि सच्याएर जान्छौ । यसो गर्दा एमालेलाई रोक्ने कसैसित पनि तागत छैन । जहाँसम्म गठबन्धनको कुरा छ, यसको लक्ष्य उद्देश्य केही छैन । देशलाई कँगाल बनाउने छ । देशलाई श्रीलंका बनाउने छ । देश विकास गर्ने कुनै योजना छैन, भिजन छैन ,मिसन छैन । ऋणको भारी बोकाउने छ । जनताको समस्याको मतलब छैन । देख्नु भयो, अहिले बैंकमा समेत पैसा छैन । यस्तो अवस्था त देशमा कहिले नि आएन । अहिले नै आयो । यो अपवित्र, अप्राकृतिक गठबन्धनको कुनै काम छैन । चुनावबाट यसको नामोनिशासन मेटिनेछ ।
–एमालेले पनि अघिल्लो निर्वाचनमा गठबन्धन बनाएको थियो नि । त्यो गठबन्धन पवित्र, यो गठबन्धन अपवित्र भन्ने नि हुन्छ र ?
समान विचारधारा भएका पार्टीबीच गठबन्धन हुन समान्य कुरा हो । त्यहाँ दुई कम्युनिष्ट पार्टी मिलेका थिए । उनीहरुको बाटो फरक भए पनि लक्ष्य, उद्देश्य र गन्तव्य एउटै थियो । त्यहीं कारण त देशी विदेशी मिलेर सबै तोडि दियो । त्यसको परिणाम स्वरुप विचार, सिद्धान्त, नीति, कार्यक्रम केही नमिल्नेबीच गठबन्धन बन्यो । समान विचार भएका पार्टी मिलेर गठबन्धन भए मात्रै देश विकासको बाटोमा अघि बढ्छ । सही दिशा समात्छ । जनता सुखी हुन्छन् । समृद्ध हुन्छन् । स्वार्थपूर्तिका लागि विदेशीको ईशारामा बनेको गठबन्धनले देश जनताका लागि केही हुँदैन । खासमा देशलाई यसको आवश्यकता पनि हुँदैन ।
–अब चुनावतिर नै लागौ, २०५१ को मध्यावधि निर्वाचनदेखि चुनाव लड्दै आउनु भएको छ । अघिल्लो निर्वाचनमा पनि आकाँक्षा राख्नु भयो । टिकट पाउनु भएन । यस पटक फेरि चुनाव लड्ने सोच बनाउनु भएको छ ?
यो पार्टीले गर्ने निर्णय हो । पार्टीले चुनाव लड भनेपछि लड्छु । नलड भनेपछि लड्दिन । पार्टीलाई चुनाव लड्न योग्य लागे भने टिकट दिन्छ । म योग्न देखेन भने अरुलाई दिन्छ । यो पार्टीभित्रको कुरा हो । पार्टीले टिकट दिँदा पार्टीमा योगदान, सक्रियता, जनताको चाहना, जनतामा लोकप्रियता सबैलाई हेरर टिकट दिन्छ । यी सबैमा मलाई राम्रो देख्यो भने टिकट दिन्छ । फेरि मलाई टिकट दिन ठूलो कुरा पनि होइन्, देश र जनताका लागि पार्टी बलियो बनाउने ठूलो हो । म त्यसमा सधैं सक्रिय भएर अघि बढ्ने नै छ ।
महेन्द्रनगर । बेदकोट नगरपालिका २ मा बाल विवाह घट्नाको गरौ उजुरी, कडा कारवाही छ जरुरी भन्ने नारा सहित जनचेतना मुलक कार्यक्रम गरिएको छ । बेदकोट २ का वडा सदस्य एवम् लाली गुराँस बाल क्लबका संस्थापक जोगराम डगौराको प्रमुख आतिथ्यमा कार्यक्रम गरिएको छ ।
लाली गुराँस किशोरी जागरण समूह र लाली गुराँस बाल क्लबको आयोजना गरिएको कार्यक्रममा सुतिया थारु युवा समाजको सह आयोजक थिए । वडा कार्यालयसित कार्यक्रमका लागि समन्वय गरिएको छ ।
लाली गुराँस बाल क्लबका अध्यक्ष सिम्पन्ल चौधरीको अध्यक्षतामा गरिएको कार्यक्रममा द्वन्द्व पीडित तथा एकल महिला विकास केन्द्रका अध्यक्ष सीता बोहरा, मुक्त कमैया समाजका उपाध्यक्ष अनिल चौधरी लगायतका सहभागी भएका छन् ।
कार्यक्रममा सहभागीहरुले सामाजिक जनचेतना फैलाएर बाल विवाह न्यूनीकरण गर्न सकिनेमा जोड दिएका छन् । द्वन्द्व पीडित तथा एकल महिला विकास केन्द्रका अध्यक्ष एवम् अधिकारकर्मी बोहराले समाज बालबालिका विकृतिका रुपमा अगाडि बढेकाले जनचेतना मुलक कार्यक्रम गरी न्यूनीकरण गर्न पर्नेमा जोड दिइन् ।
