ज्येष्ठ नागरिकको स्वास्थ्य परीक्षण गर्ने घोषणा कार्यान्वयन गराउन भीमदत्तमा मेयरलाई नै लाग्यो तीन महिना, ८ नम्बर वडाबाट थालियो स्वास्थ्य परीक्षण

मेयर आफैं भने कार्यक्रममा अनुपस्थित

महेन्द्रनगर । भीमदत्त नगरपालिकाले ८ नम्बर वडाको भानु टोलमा ७५ वर्षमाथिका ज्येष्ठ नागरिकको स्वास्थ्य परीक्षण गरेको छ । भीमदत्त नगरपालिकाका मेयर पदम बोगटीले पदभार ग्रहण गरेपछि हरेक महिना ७५ वर्ष माथिका ज्येष्ठ नागरिकको घरमा स्वास्थ्य परीक्षण गर्ने घोषणा गरेका थिए । मेयर बोगटीले गत जेठ ९ गते पदभार सम्हालेका हुन् ।

पदभार सम्हालेको तीन महिनापछि मेयर बोगटीले आफ्नो घोषणा अनुसार ज्येष्ठ नागरिकको स्वास्थ्य परीक्षण गरेका छन् । भीमदत्त नगरपालिकाको आफ्नै स्वास्थ्य शाखा र स्वास्थ्यकर्मी भएकाले मेयर बोगटीले घोषणा अनुसार तत्काल ज्येष्ठ नागरिकको स्वास्थ्य परीक्षण सुरु गर्ने अनुमान गरिएको थियो ।

मेयर बोगटीले पदभार सम्हालेको तीन महिनापछि मात्रै स्वास्थ्य परीक्षण सुरु गरेका छन् । स्वास्थ्य परीक्षण कार्यक्रममा मेयर बोगटी भने अनुपस्थित भएका छन् । उनी काठमाडौं गएका छन् ।

भीमदत्तका कार्य वाहक मेयर उप मेयर निलम लेखक जोशीले स्थानीय तह निर्वाचनको चुनावी घोषणा अनुसार ८ नम्बर वडाबाट स्वास्थ्य परीक्षण सुरु गरिएको बताइन् । ‘सबै वडामा यो कार्यक्रम लागू हुन्छ, हामीले चुनावमा गरेको सबै प्रतिवद्धता यसरी नै पूरा गर्दै जानेछौ’ उनले भनिन् ।

कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत याम नायरण गौल, वडा अध्यक्ष मदनराज मिश्रा लगायतका सहभागी भएका छन् ।

भीनपा ८ का अध्यक्ष मिश्राले ज्येष्ठ नागरिक कोही पनि नछुट्ने गरी सबैको स्वास्थ्य परीक्षण गरिएको बताए । उनका अनुसार वडामा ७५ वर्ष माथिका १ सय ८० जना ज्येष्ठ नागरिक छन् ।

स्वास्थ्य परीक्षणमा ब्लड प्रेसर(विपि),ज्वरो चेकजाँच गरिएको छ । जाँचपछि उनीहरुलाई औषधि वितरण गरिएको छ ।

सम्बन्धित
Leave A Reply

Your email address will not be published.