ghar sansar

माओवादीका दुई प्रभावशाली नेता किन आउँदैछन् एमाले

महेन्द्रनगर । सत्ता साझेदार नेकपा माओवादी केन्द्रका दुई प्रभावशाली नेता पार्टी छाडेर नेकपा एमाले आउन लागेका छन् । उनीहरु भदौ १५ गते एमाले अध्यक्ष केपी शर्मा ओली महेन्द्रनगर आएका बेला एमाले आउने तयारी गरेका हुन् ।

एमाले विभाजन भएर बनेको नेकपा एकीकृत समाजवादीका नेता कार्यकर्तालाई स्वागत गर्न अध्यक्ष ओली महेन्द्रनगर आउन लागेका छन् । अध्यक्ष ओली आएका दिन माओवादी केन्द्रका नेताद्वय हरिश ठकुल्ला र मोहन गिरी एमाले आउन लागेका छन् ।

एमाले नेताहरुका अनुसार समाजवादीबाट फर्किएका र माओवादी छाडेर आउने सबै नेता कार्यकर्तालाई अध्यक्ष ओलीले स्वागत गर्ने कार्यक्रम बनेको छ । त्यसका लागि महेन्द्रनगर स्मारक क्षेत्रमा जनसभा तथा पार्टी प्रवेश कार्यक्रम राखिएको छ ।

एमाले कञ्चनपुरका पूर्व जिल्ला अध्यक्ष तारालामा तामाङ्ग सहित बिक्रम बहादुर शाही, विना बुढाथोकी, अशोक चन्द, बिर बहादुर बुढाथोकी लगायतका नेता एमाले फर्किन लागेका छन् । उनीह अध्यक्ष ओली संसद विघटनको विरोधी गरी गत वर्ष समाजवादी गएका हुन् ।

एमाले प्रवेश गर्ने तयारी गरि रहेका माओवादी केन्द्रका नेताद्वयमा ठकुल्ला कृष्णपुर नगरपालिका र गिरी बेलडाँडी गाउँपालिका हुन् । स्थानीय तह निर्वाचनमा यी दुबै स्थानीय तहमा एमाले लज्जास्पद हार भएको थियो । यसमा पनि बेलडाँडी एमालेको गढ मानिँदै आएको थियो ।

मओवादीको सशस्त्र जनयुद्धदेखि पार्टीमा सक्रिय ठकुल्ला २०६५ को संविधान सभा सदस्य निर्वाचनमा तत्कालिन कञ्चनपुर क्षेत्र नं. ४ बाट सभा संविधान सभा सदस्य निर्वाचित भएका थिए । प्रधानमन्त्री शेर बहादुर देउवासित झिनो मत अन्तरले पराजित भएका उनी त्यसपछि भएको उप निर्वाचनमा काँग्रेसका यज्ञराज जोशीलाई पराजित गरी निर्वाचित भएका थिए ।

उनीसित एमालेका निरुदेवी पालले संविधान सभा सदस्य निर्वाचन लडेकी थिइन् । अध्यक्ष ओलीसित बलियो पहुँच भएकी पाल एमालेको पोलिटब्युरो सदस्य र कञ्चनपुर इन्चार्ज छिन् । पहिलो संविधान सभा सदस्य निर्वाचनमा माओवादी केन्द्रले तत्कालिन चार ओटै निर्वाचन क्षेत्र जितेको थियो ।

संविधान सभा सदस्य निर्वाचित भएपछि काठमाडौं केन्द्रित भएका उनी अघिल्लो निर्वाचनपछि गृह नगर फर्किएका हुन् । उनी अहिले राजनीतिसंगै विद्यालय व्यवस्थापन समितिको नेतृत्व गरी सामाजिक गतिविधिमा सक्रिय छन् । क्षेत्रीको पालामा तत्कालिन माओवादी मन्त्री लेखराज भट्टले दोधारा चाँदनीमा सुख्खा बन्दरगाह घोषणा गरेका थिए । अहिले भट्ट पनि एमालेमा छन् । उनी एमालेको सुदूरपश्चिम प्रदेश इन्चार्ज छन् ।

एमाले आउन लागेका अर्का नेता गिरी तत्कालिन कञ्चनपुर क्षेत्र नं. ४ बाट संविधान सभा सदस्य निर्वाचन लडेका थिए । काँग्रेस केन्द्रीय सदस्य रमेश लेखक निर्वाचित हुँदा गिरी दोस्रो भएका थिए । गिरीले माओवादी केन्द्रबाट शुक्लाफाँटा वन्यजन्तु आरक्ष आयोग र महेन्द्रनगर नगर विकास समितिको अध्यक्ष भएका छन् ।

स्थानीय तह निर्वाचनमा गिरीकी श्रीमति कल्पना गिरी बेलडाँडी गाउँपालिकाको उप प्रमुख लडेकी थिइन् । उनी २०७४ मा उपाध्यक्षमा चुनाव लडेकी थिइन् ।

पाँच वर्ष अघि माओवादी केन्द्रले एमालेसित वाम गठबन्धन गरी चुनाव लडेपछि आफ्नो नेता कार्यकर्ता एकपछि अर्को गरी गुमाउन पुगेको हो । दुबै दलको एकतापछि बनेको नेकपालाई सर्वोच्च अदालतले विघटन गरि दिएपछि माओवादी केन्द्रका नेता पार्टी छाडेर एमाले आउन थालेका हुन् । सुदूरपश्चिम प्रदेशमा माओवादी केन्द्रका प्रभावशाली नेता लेखराज भट्टै अध्यक्ष ओलीको संसद विघटन कदमलाई स्वागत गरी एमाले भएर केन्द्रीय सचिव भएका छन् ।

कञ्चनपुरमा माओवादी केन्द्रका पूर्व जिल्ला अध्यक्ष बीर बहादुर थापा, भक्तराज जोशी लगायतका नेता यस अघि एमाले आएका छन् । उनीहरुमध्ये थापा एमालेको आठौं जिल्ला अधिवेशनसम्म जिल्ला अध्यक्ष भएका थिए ।

माओवादी केन्द्रका साँसद विना मगरका स्वकीय बसेका रमेश भट्ट पनि एमाले आएका छन् । उनले एमाले आएपछि भूमि आयोगमा सदस्य भएर राजनीतिक नियुक्ति खाएका छन् ।

भूमि आयोगको अध्यक्ष हुने निवर्तमान अध्यक्ष थापाको अध्यक्ष ओलीसम्म पहुँच नभएपछि एमाले केन्द्रीय सदस्य कमला बोहरालाई अध्यक्ष बनाइएको थियो । एमालेका जिल्ला सचिव पल्लवराज भट्ट पनि आयोगको अध्यक्ष हुने प्रतिस्पर्धामा सहभागी भएका थिए ।

Himal dental
सम्बन्धित
Loading...