यस कारण सुदूरपश्चिम आउनै पर्ने बाध्यतामा छन् एमाले अध्यक्ष ओली

महेन्द्रनगर । नेकपा(एमाले) का अध्यक्ष केपी शर्मा ओली बुधबार जन सभा तथा पार्टी प्रवेश कार्यक्रमका लागि महेन्द्रनगर आउन लागेका छन् । महेन्द्रनगरको स्मारक क्षेत्रमा हुने सभाका लागि तयारी थालिएको छ । एमाले जिल्ला कमिटीको पूर्ण बैठकले नेताहरुको जिम्मेवारी बाँडफाँट गरी सभाको तयारी थालेका छन् ।

एमाले विभाजन भएर बनेको नेकपा एकीकृत समाजवादी गएका सहित अन्य दलका नेता कार्यकर्तालाई पार्टी प्रवेश गराउन ओली आउन लागेका हुन् । समाजवादी सहित अन्य दलका नेता कार्यकर्ता ठूलो संख्यामा आउन लागेपछि अध्यक्ष ओली आफैं आउन तयार भएका छन् । उनी आउने भएपछि मंसिर ४ गतेको चुनावलाई लक्षित गरी जन सभाको तयारी गरिएको छ । जन सभामा २५ हजार भन्दा बढी मानिस सहभागी गराउने तयारी एमालेको छ ।

अध्यक्ष ओली यस अघि स्थानीय तह निर्वाचनमा बेलौरी आएका थिए । एमाले केन्द्रीय सदस्य एवम् कञ्चनपुर सह इन्चार्ज कमला बोहराको चुनावी प्रचारका लागि आएका ओलीले अन्य तहका उम्मेदवारलाई बेलौरी बोलाएका थिए ।

बालकोटसित पहुँच भएकी बोहराको प्रचारमा आएपछि एमाले नेता कार्यकर्ता ओलीसित असन्तुष्ट बनेका थिए । केही उम्मेदवार बेलौरी नगएर ओलीलाई आफ्नो असन्तुष्टि पोखेका थिए । अध्यक्ष ओलीले प्रचार गरेकी बोहरा मेयरमा फराकिलो मत अन्तरले पराजित भइन् । अघिल्लो निर्वाचनमा तीन सय मतले हारेको एमाले यस पटक दुई हजार बढी मत अन्तरले चुनाव हारेको छ ।

स्थानीय तह निर्वाचनमा बेलौरी आएको पाँच महिनामै अध्यक्ष ओली फेरि महेन्द्रनगर आउन लागेका छन् । अध्यक्ष ओलीको महेन्द्रनगर आगमनले उनी पछिल्लो पटक कञ्चनपुरलाई प्राथमिकता दिने मनस्थितिमा देखिएका छन् । अध्यक्ष ओली महेन्द्रनगर बाहेक सुदूरपश्चिम प्रदेशका अन्य जिल्लाका कार्यक्रममा पनि सहभागी हुने भएका छन् ।

अध्यक्ष ओलीको संसद विघटन र त्यसपछि पार्टी विभाजनले सुदूरपश्चिममा एमाले कमजोर अवस्थामा पुगेको छ । स्थानीय तह निर्वाचनको नतिजाबाट अध्यक्ष ओली झस्किएका छन् । अघिल्लो निर्वाचनमा सुदूरपश्चिमका आधा भन्दा बढी स्थानीय तह जितेको एमाले यस पटक एक चौथाईमा खुम्चिएको छ ।

अध्यक्ष ओली स्थानीय तह निर्वाचनको नतिजाले भयभित भएका छन् । उनी आगामी निर्वाचनमा स्थानीय तह निर्वाचनको लज्जास्पद नतिजालाई फेरबदल गरी सम्हालिन खोजेका छन् । त्यसका लागि उनले आफै आएर पार्टी प्रवेश गराउने र चुनावी माहौल बनाउन रणनीति लिएका छन् ।

सुदूरपश्चिममा अध्यक्ष ओलीले आफ्नो विश्वासपात्रलाई पार्टीको नेतृत्व दिएका छन् । अध्यक्ष ओलीको संसद विघटनलाई साथ दिएर एमाले आएका माओवादी केन्द्रका नेता लेखराज भट्ट प्रदेश इन्चार्ज बनाइएका छन् । सुदूरपश्चिममा वर्षौैदेखि ओली समूहमा रहेका बैतडीका दामोदर भण्डारी प्रदेश अध्यक्ष, अर्का नेता कर्ण थापा र राजेन्द्र सिह रावल सह इन्चार्ज बनाइएका छन् ।

स्थानीय तह निर्वाचनमा उनीहरुमध्ये बाजुराका थापा बाहेक सबैले आफ्नो नगरमा लज्जास्पद हार व्यहोरेका छन् । सबै आफ्ना विश्वासिला भएपछि अध्यक्ष ओली उनीहरुसित गुनासो गर्न नसक्ने अवस्थामा छन् । चुनावी हारको गुनासो गरेपछि विश्वासिला पार्टीभित्र अप्ठेरोमा पर्ने भएपछि उनी आफैं अघि सरेका छन् ।

सुदूरपश्चिममा स्थानीय तह निर्वाचनको हार अध्यक्ष ओलीका लागि आगामी निर्वाचनमा बदला नलिई नहुने बाध्यतात्मक परिस्थिति बनेको छ । मंसिर ४ गतेको निर्वाचनमा स्थानीय तह निर्वाचनको हार फर्काउन नसकेपछि उनी सुदूरपश्चिममा एमाले नेता डा. भीम रावलसित पराजित नेताका रुपमा चिनिने खतरा छ । एमालेका निवर्तमान उपाध्यक्ष रावल चितवनमा एमालेका १० औं महाधिवेशनमा अध्यक्ष ओलीसित पराजित भइ सकेका छन् ।

अध्यक्ष ओलीका कटु आलोचक रावललाई उनले पार्टी विभाजनपछि जिम्मेवारी विहीन गरी निष्क्रिय बनाई दिएका छन् । संसद विघटन कदम विरुद्ध सडकमा आएका रावल १० बुँदे सहमति गरी एमालेमा बसे पनि ओली उनीसित अनुदार देखिएका छन् । एमालेको १० औं महाधिवेशन अघि नै उनलाई एमाले सुदूरपश्चिम प्रदेशको इन्चार्जबाट हटाएर भट्टलाई जिम्मेवारी दिएका थिए । त्यसका लागि अध्यक्ष ओलीले संसद विघटन विरुद्ध रावल सडकमा भएका बेला भट्टलाई जिम्मेवारी दिएका थिए ।

एमाले विभाजनपछि तत्कालिन माधव नेपाल समूहका प्रभावशाली नेता पार्टी छाडेर गएपछि अध्यक्ष ओलीले रावललाई काउन्टर गरी दिने आफू नजिकका नेताहरुलाई जिम्मेवारी दिए ।

एमाले माओवादी एकीकरण अघि सुदूरपश्चिममा एमालेभित्र वर्चश्वशाली नेपाल समूह बाहिरिएपछि वर्षौसम्म ओली समूहमा लागेर पार्टी नेतृत्वमा आउन नसकेका उनीहरु एकाएक जिम्मेवारी आएका हुन् । अध्यक्ष ओलीले विश्वास गरी जिम्मेवारी दिएका नेताले स्थानीय तह निर्वाचनमा अपेक्षित नतिजा ल्याउन नसकेपछि अध्यक्ष ओली आन्तरिक रुपमा उनीहरुसित असन्तुष्ट छन् ।

स्थानीय तह निर्वाचनपछि अध्यक्ष ओली सुदूरपश्चिममा डा. भीम रावल विना पार्टीलाई बलियो बनाउन नसकिने मनस्थितिमा पुगेको नेताहरु बताउँछन् । एमालेमा ओलीका कटु आलोचक रावल सुदूरपश्चिममा प्रधानमन्त्री शेर बहादुर देउवा पछिका नेताका रुपमा हेरिएका छन् । भट्ट नेतृत्वको एमालेको प्रदेश कमिटी स्थानीय तह निर्वाचनमा मेयर उप मेयर टिकट बाँडफाँट समेत गर्न नसकी ओलीलाई गुहार्दै बालकोट पुगेको थियो ।

एमाले नेता रावल नेतृत्वको एमालेले २०७४ को स्थानीय तह निर्वाचनमा सुदूरपश्चिमका ८८ स्थानीय तहमध्ये आधा भन्दा बढीमा जित हात पारेको थियो । माओवादीसित गठबन्धन गरिएको आम निर्वाचनमा प्रतिनिधि सभामा डडेल्धरा सबै क्षेत्रमा जित हात पारेको थियो ।

स्थानीय तह निर्वाचनमा टिकट विवाद देखिएका नगरमा रावल आफैं आएर विवाद हल गरी चुनाव जितेका थिए । यस पटक टिकट दिन नसकेर प्रदेश कमिटी उम्मेदवारको सूची बोकेर बालकोट पुगेको थियो । बालकोटबाट टिकट दिइएका अधिकाँश नेता पराजित भएपछि ओलीले असहज रुपमा लिएका छन् ।

अध्यक्ष ओलीसम्म बलियो पहुँच भएका सुदूरपश्चिमका अधिकाँश नेता चुनावी मैदानमा धेरै कमजोर देखिएका छन् । संसदीय निर्वाचन जितेर साँसद भएका प्रदेश अध्यक्ष भण्डारी आफ्नै गृह नगर पाटनमा दुई पटक स्थानीय तह निर्वाचन हारि सकेका छन् ।

उनी बैतडीमा पालिकाको टिकट वितरण मिलाउन समेत चुकेका छन् । डिलाशैनी गाउँपालिकामा एमाले संस्थापनका सन्तोस जोशीले स्वतन्त्र भएर चुनाव जितेका छन् । अध्यक्ष ओलीसम्म पहुँच भएर युवा समितिमा नियुक्ति खाएका जोशी एमाले जिल्ला अध्यक्षसित विवादपछि स्वतन्त्र लडेका हुन् ।

प्रदेश इन्चार्ज भट्टले गृह नगर गोदावरी नगरपालिकामा आफ्नै भाईलाई मेयरमा जिताउन सकेन । प्रदेश इन्चार्ज भट्ट र अध्यक्ष भण्डारीले कञ्चनपुरमा टिकट वितरणमा एकलौटी गरेपछि एमाले अधिकाँश स्थानीय तह गुमाउनु पुगेको छ ।

एमाले जिल्ला कमिटीबाट सिफारिश नभएकी सह इन्चार्ज बोहराको जबरजस्ती उम्मेदवार बनाइएको थियो । अध्यक्ष ओलीसम्म पहुँच भएका एमालेका पोलिटब्युरो सदस्यद्वय निरुदेवी पाल र राजेन्द्र सिह रावल पनि पार्टीभित्र साँगठनिक पकड बलियो नभएका नेतामा पर्छन् । अध्यक्ष ओलीसित पहुँचका कारण पाल पोटिलब्युरो सदस्य भएर जिल्ला इन्चार्ज बनाइएकी छन् ।

मंसिर ४ को निर्वाचनमा प्रतिनिधि सभा सदस्य चुनाव लड्न एमालेसित क्षेत्र नं. १ मा बलियो नेता नभएपछि पूर्व अध्यक्ष तारालामा तामाङ्गलाई फर्काउन लागिएको छ ।

२०७४ मा प्रदेश सभा सदस्य भएका उनी दोस्रो संविधान सभा सदस्य निर्वाचन लडेका थिए । कञ्चनपुर क्षेत्र नं. १ मा बलियो साँगठनिक पकड भएका तामाङ्ग एमाले नेता रावलका विश्वासिला मानिन्छन् । उनीसंगै पूर्व जिल्ला इन्चार्ज बिक्रम बहादुर शाही, बीर बहादुर बुढाथोकी, विना बुढाथोकी र अशोक कुमार चन्द ओलीले स्वागत गरेपछि एमाले फर्किन लागेका छन् ।

सुदूरपश्चिममा ओली समूहका शाहीले मात्रै संसद विघटन कदमको विरोध गरेका थिए । एमालेको नवौ महाधिवेशनबाट केन्द्रीय सदस्य भएर कञ्चनपुर इन्चार्ज बनाइएका उनी तामाङ्गसंगै एमाले छाडेर समाजवादी गएका हुन् । उनले औपचारिक रुपमा समाजवादी छाडि सकेका छन् ।

सम्बन्धित
Leave A Reply

Your email address will not be published.