सम्मान नभएको भन्दै एमाले छाडेका बेदकोटका निवर्तमान मेयर चन्द पाँच महिनामै फर्किए, ओलीले खादा ओढाएर गरे स्वागत
महेन्द्रनगर । एमालेमा सम्मान नभएको भन्दै छाडेर नेकपा एकीकृत समाजवादी गएका बेदकोट नगरपालिकाका निवर्तमान मेयर अशोक कुमार चन्द एमाले फर्किएका छन् । स्थानीय तह निर्वाचन घोषणापछि गत चैतमा समाजवादी गएका उनी पाँच महिनापछि एमाले फर्किएका हुन् ।
एमाले अध्यक्ष केपी शर्मा ओलीले चन्दलाई बुधबार स्मारक क्षेत्रमा खादा ओढाएर स्वागत गरेका छन् । अध्यक्ष ओलीको संसद विघटन विरुद्ध सडकमा आएका उनी पार्टी विभाजनपछि एमाले छाडेर समाजवादी गएका थिए ।
समाजवादीका अध्यक्ष माधव कुमार नेपालले दैजी आएर चन्द सहित नेता कार्यकर्तालाई समाजवादी प्रवेश गराएका थिए । उनीसंगै समाजवादी प्रवेश गरेका रामचन्द्र रेग्मी, बीर बहादुर डगौरा, दुर्गा भण्डारी, तिलक ठकुल्ला, भास्कर भट्ट, केशव रावल सबै एमाले फर्किएका छन् ।
एमाले फर्किएकामध्ये रेग्मी स्थानीय तह निर्वाचनमा बेदकोटको मेयरमा चुनाव लडेका थिए । स्थानीय तह निर्वाचनमा समाजवादी र माओवादी केन्द्रबीच चुनावी गठबन्धन थियो ।
निवर्तमान मेयर चन्द एमाले कञ्चनपुरको आठौं जिल्ला अधिवेशनमा सचिव पदमा चुनाव लडेका थिए । सचिवमा पराजित भएपछि निष्क्रिय भएका उनी एमाले छाडेका थिए । आठौं जिल्लामा उनी निवर्तमान अध्यक्ष बीर बहादुर थापाको समूहबाट चुनाव लडेका थिए ।
एमालेमा युवा संघबाट राजनीतिमा आएका उनी २०७४ को निर्वाचनमा बेदकोटको मेयरमा निर्वाचित भएका थिए । उनी एमालेको सातौ जिल्ला अधिवेशनबाट जिल्ला सदस्य निर्वाचित भएर सचिवलाय सदस्य थिए ।