महेन्द्रनगर । मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनका लागि कञ्चनपुर क्षेत्र नं. ३ ख बाट काँग्रेस नेता कृष्ण प्रसाद पाठकले उम्मेदवारीमा दावी गरेका छन् । उनले बुधबार काँग्रेस प्रदेश समितिमा टिकटका लागि पार्टीको प्रतिवद्धतामा हस्ताक्षर गरी आकाँक्षा राखेका छन् । पार्टीले टिकट दिए प्रत्यक्ष वा समानुपातिक दुबैमा चुनाव लड्ने मनस्थिति उनले बनाएका छन् ।
‘हिजो प्रतिवद्धता पत्रमा हस्ताक्षर गरी आकाँक्षा राखेको छु, पार्टीले टिकट दिए प्रत्यक्ष समानुपातिक जता पनि लड्छु’ उनले भने,‘पार्टीले मूल्याङ्कन गर्नेमा आशावादी छु ।’
पाठक यस अघि अघिल्लो निर्वाचनमा पनि प्रदेश ख बाट टिकटका लागि सिफारिश गरिएका थिए । यस पटक पनि उनी प्रदेश समितिबाट सिफारिश हुनेमा ढुक्क छन् । काँग्रेसमा नेपाल विद्यार्थी संघको राजनीतिबाट सक्रिय उनी हाल काँग्रेसका सुदूरपश्चिम प्रदेश समिति सदस्य छन् ।
काँग्रेसको १४ औं महाधिवेशनबाट उनी प्रदेश सदस्य भएका हुन् । त्यस अघि १३ औं महाधिवेशनमा उनी काँग्रेसको केन्द्रीय सहकारी विभाग सदस्य भएका थिए ।
प्रदेश सभा सदस्यको टिकटका आकाँक्षी पाठक पार्टीलाई सञ्चालनको परम्परागत ढाँचा फेरिएर युवा पुस्तालाई समावेश गरिनु पर्ने मान्यताका पक्षपाती छन् । उनी अहिलेको चुनावमा काँग्रेसले युवा पुस्तालाई प्राथमिकता दिनु पर्ने बताउँछन् ।
‘पार्टीलाई परम्परागत ढङ्गबाट सञ्चालन नगरी युवालाई प्राथमिकता दिने नीति लिनु पर्छ’ उनले भने,‘परम्परागत ढङ्गले सञ्चालन हुँदा अहिलेका समस्या हल गर्न सकिदैन ।’
काँग्रेसमा धेरै अघिदेखि परम्परा रुपान्तरणका लागि प्रयास गरिए पनि नेतृत्वको आनाकानीले सफलता हुन नसकेको बताए । ‘त्यसैले अझै पनि यसमा प्रयास जारी छ’ उनले भने ।
पाठकले आफ्नो व्यवसायिक पृष्ठभूमिलाई मध्यनजर गरेर सुदूरपश्चिम प्रदेशलाई समृद्ध बनाउने सपना पनि देखेका छन् । उद्योग बाणिज्य महासंघ सुदूरपश्चिम प्रदेशको उपाध्यक्ष भई सकेका उनी कञ्चनपुर उद्योग बाणिज्य संघमा महासचिव र सदस्य भएर जिम्मेवारी वहन गरि सकेका छन् ।
‘युवालाई मौका र सुदूरपश्चिमलाई समृद्ध बनाउने कुरा गरेको छु, यी दुबै कुरामा नयाँपन छ’ उनले भने,‘परम्परागत भन्दा केही न केही त फरक हुनु पर्छ ।’
२०४९ मा काँग्रेसको सदस्यता लिएका उनी १३ औं महाधिवेशनपछि भीमदत्त नगरको कार्य वाहक सभापति भइ सकेका छन् । भारतमा पढ्दा राजनीतिमा लागेका उनी अर्थशास्त्रमा स्नातकोत्तर हुन् ।
पाठक सामाजिक संघ संस्थामा पनि सक्रिय छन् । उनी नेपाल परिवार नियोजन संघको केन्द्रीय सदस्य भएका उनले दुई कार्यकाल संघको कञ्चनपुर समितिको नेतृत्व गरेका थिए । उनी महेन्द्रनगर जेसिजका पनि पूर्व अध्यक्ष हुन् ।
काँग्रेसभित्र पुरानालाई अघि बढाउँदा नयाँले पार्टीभित्र अवसर नपाएको अवस्था आउन नसक्ने चिन्ता पाठकलाई छ । ‘मन्त्री, साँसद र मेयर भएकालाई मात्रै टिकट दिने हो नयाँले त कहिले पनि मौका पाउँदैन’ उनले भने,‘त्यस कारण पार्टीमा नयाँ पुस्तालाई प्राथमिकता दिन आवश्यक भइ सकेको छ ।’