महेन्द्रनगर । स्थानीय तह निर्वाचनमा असहयोग गरेको आरोप लागेर कारवाहीका लागि सिफारिश भएका काँग्रेस दुई नेता आगामी निर्वाचनमा उम्मेदवारका लागि सिफारिश भएका छन् । उनीहरु दुबै जना कञ्चनपुर निर्वाचन क्षेत्र नं. २ क बाट उम्मेदवारका लागि सिफारिशमा परेका छन् ।
प्रदेश सभा २ क बाट प्रत्यक्षमा गणेश राज पाण्डेय र समानुपातिकमा पार्वती देवी महता सिफारिश गरिएका छन् । उनीहरु दुबै नेतामाथि स्थानीय तह निर्वाचनमा पार्टीका उम्मेदवार विरुद्ध प्रचारप्रसार गरिएको आरोप लागेको थियो ।
काँग्रेसका वडा र नगर समितिले पाण्डेय र महतालाई कारवाहीका लागि सिफारिश गरेको छ । कृष्णपुर नगरपालिकाको उप मेयर लड्ने तयारी गरि सकेकी महतालाई अन्तिममा आएर रोकिएको थियो । चुनाव लड्न महताले शिक्षण पेशाबाट राजीनामा दिएकी थिइन् ।
काँग्रेस जिल्ला समितिले प्रदेश समितिमा सिफारिश सूचीमा पनि उनीहरु दुबै जनाको नाममा कारवाहीका लागि सिफारिश गरिएको भनेर उल्लेख गरिएको छ ।