एमालेमा सर्वसम्मत उम्मेदवारी बनाउने दुई दिनका प्रयास विफल, सबै आकाँक्षीका नामावली प्रदेशमा सिफारिश

महेन्द्रनगर । नेकपा एमाले कञ्चनपुरले प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनका लागि उम्मेदवारका आकाँक्षीहरुको नामावली प्रदेश कमिटीमा सिफारिश गरेको छ । एमाले जिल्ला कमिटीले दुई दिनसम्म निर्वाचन र प्रदेश समन्वय कमिटीबाट आएका आकाँक्षीका नामावलीमा छलफल गरी प्रदेश कमिटीमा पठाएको हो ।

जिल्ला कमिटीले एमालेको उम्मेदवार सिफारिश मापदण्ड अनुसार आकाँक्षीको नामावली प्रदेश कमिटीमा पठाउन सोमबारदेखि छलफल गरेको थियो ।

एमाले नेताहरुका अनुसार जिल्लाबाट सबै क्षेत्रमा एकल नाम सिफारिशका लागि पनि अन्तिमसम्म प्रयास गरिएको थियो । दुई दिनसम्म चलेको छलफलमा आकाँक्षीहरु पछि हट्न तयार नभएपछि जिल्ला कमिटीले आएका सबै नामलाई प्रदेशमा पठाएको हो ।

एमालेले प्रतिनिधि सभा प्रदेश सभाका प्रत्यक्ष र समानुपातिक दुबैमा आकाँक्षीको नामावली सिफारिश गरेको हो । उम्मेदवारका आकाँक्षीको नामावली प्रदेशमा पठाउन सोमबार पार्टी कार्यालयमा जिल्ला कमिटी बैठक बोलाइएको थियो । एमालेमा सबै क्षेत्रबाट एक महिला सहित तीन जनाको नामावली पठाउने मापदण्ड बनाइएको छ ।

कञ्चनपुर निर्वाचन क्षेत्र नं. २ ख बाट संविधान सभा सदस्य कृपाराम राना मात्रै एकल सिफारिश भएका छन् । त्यस बाहेक सबै क्षेत्रबाट एक भन्दा बढी आकाँक्षी सिफारिश गरिएका छन् ।

प्रतिनिधि सभाका तीन क्षेत्रबाट ११ जना उम्मेदवारका लागि सिफारिश गरिएका छन् । निर्वाचन क्षेत्र नं. ३ बाट सबैभन्दा बढी ५ जना छन् । क्षेत्र नं. ३ बाट साँसद डा. दिपक प्रकाश भट्ट सहित समानुपातिक साँसद निरुदेवी पाल, राजेन्द्र सिह रावल, ईश्वरी प्रसाद खरेल र हिरा सिह सार्की सिफारिश भएका छन् ।

निर्वाचन क्षेत्र नं. २ बाट साँसद नर बहादुर धामी सहित बचन बहादुर सिह र दिलसरा खत्री सिफारिश भएका छन् । सुदूरपश्चिम प्रदेश सभा सदस्य तारालामा तामाङ्ग सहित खेम सुवेदी र बीर बहादुर निर्वाचन क्षेत्र नं. १ बाट सिफारिश भएका छन् ।

प्रदेश सभा क्षेत्रका ६ ओटै निर्वाचन क्षेत्रका आकाँक्षीका नाम पनि सिफारिश भएका छन् । जिल्ला कमिटीले प्रतिनिधि सभा र प्रदेश सभाका समानुपातिक उम्मेदवारका आकाँक्षीको नाम पनि सिफारिश गरेको छ ।

सम्बन्धित
Leave A Reply

Your email address will not be published.