महेन्द्रनगर । एमालेमा प्रतिनिधि सभा सदस्यका दाबेदार पनि थपिएपछि कञ्चनपुर क्षेत्र नं. ३ क मा टिकटका लागि आकाँक्षी ८ जना पुगेका छन् । एमाले जिल्ला कमिटीले उनीहरु सबैको नामावली प्रदेश कमिटीमा सिफारिश गरेको छ ।
यस क्षेत्रबाट एमाले केन्द्रीय लेखा आयोग सदस्य ईश्वरी प्रसाद खरेल, सल्लाहकार परिषद् सदस्य नन्दलाल चटौत, जिल्ला उप सचिव कर्ण बहादुर चन्द, प्रदेश कमिटी सदस्य हिरा चन्द लगायतका सिफारिश गरिएका छन् ।
एमालेका भीमदत्त नगरपालिकाका नगर अध्यक्ष हिमाल चन्द, नेताहरु रबिन्द्र कुँबर, नर बहादुर विश्वकर्मा र कमला भट्ट जोशी सिफारिश गरिएका छन् ।
प्रदेशमा सिफारिश गरिएकामध्ये खरेलले प्रतिनिधि सभा सदस्य र प्रदेश ख मा दावी गरेका थिए । खरेल प्रदेश ख का वासिन्दा हुन् । उनलाई जिल्ला कमिटीले अर्को क्षेत्रबाट उम्मेदवारका लागि सिफारिश गरेको छ ।
उनी स्थानीय तह निर्वाचनमा भीमदत्तको मेयरमा पनि सिफारिश गरिएका थिए । उनीसंगै मेयरमा सिफारिश गरिएका चन्द पनि प्रदेशमा सिफारिश गरिएका छन् ।
एमालेका महिला संघका निवर्तमान अध्यक्ष भट्ट स्थानीय तह निर्वाचनमा उप मेयरको दाबेदार थिइन् । एमाले जिल्ला कमिटीको सिफारिशमा नपरेपछि उनी असन्तुष्ट थिइन् ।
प्रदेश सदस्यमा सिफारिश गरिएकामध्ये कुँबर स्थानीय तह निर्वाचनमा एकीकृत समाजवादीबाट एमाले फर्किएका हुन् । उनी समाजवादीबाट फर्केपछि उनकी धर्मपत्नि भुवन कुँबर भीमदत्तको उप मेयरमा चुनाव लडेकी थिइन् ।
प्रदेश सभा सदस्यका आकाँक्षी चन्द भीमदत्तको मेयरमा आँकाक्षी थिए । उनी जिल्ला कमिटीको सिफारिशमा बाहिर परेका थिए । २०७४ को निर्वाचनमा पनि मेयरका आकाँक्षी उनले बैतडी प्रदेश सभा सदस्य ख बाट पनि आकाँक्षा राखेका थिए ।
एमालेका उप सचिव चन्दले २०७४ को निर्वाचनमा ३ क मा बागी उम्मेदवारी दिएका थिए । उनले पछि उम्मेदवारी फिर्ता लिएर वाम गठबन्धनका उम्मेदवारलाई सघाएका थिए ।
कञ्चनपुर क्षेत्र नं. ३ क एमालेका पोलिटब्युरो सदस्य एवम् सुदूरपश्चिम प्रदेश सह इन्चार्ज राजेन्द्र रावलको क्षेत्र हो । प्रतिनिधि सभा सदस्यम आकाँक्षी उनी प्रदेश सभा समानुपातिकमा सिफारिश भएका छन् ।