
महेन्द्रनगर । नेकपा एमालेबाट पुनर्वास नगरपालिकाको मेयर टिकट नपाएपछि असन्तुष्ट भएर माओवादी केन्द्र प्रवेश गरेका बीरबल विश्वकर्मा समानुपातिक उम्मेदवारमा सिफारिश भएका छन् । उनी कञ्चनपुर क्षेत्र नं. १ क बाट प्रदेश सभा सदस्यका लागि समानुपातिक सिफारिश भएका हुन् ।
विश्वकर्मासंगै कृष्ण पण्डित, पदम परियार, फुल्लन राना, भागुराम चौधरी, र रिता विक सिफारिश भएका छन् । स्थानीय तह निर्वाचनमा उनी मेयरका आकाँक्षी थिए । एमाले नेताले मेयरको टिकट दिने आश्वासन दिएका उनी अन्तिममा जिल्लाबाट सिफारिशमा नपरेपछि असन्तुष्ट भएका थिए ।

एमालेले माओवादी छाडेर आएका पदम पुजारालाई मेयरको बनाएको थियो । उनी पराजित भएका थिए । एमालेले दलित समुदायलाई टिकटमा समावेश नगरेको भन्दै उनी त्यसपछि असन्तुष्ट भएर माओवादी प्रवेश गरेका थिए ।
एमालेमा पुराना नेता विश्वकर्मा पूर्व मन्त्री लाल बहादुर विश्वकर्माका भाई हुन । उनी व्यवसायिक क्षेत्रमा पनि सक्रिय छन् । उनले एमाले छाडेपछि अन्य नेता कार्यकर्ता पनि माओवादी केन्द्र प्रवेश गरेका छन् ।
