कञ्चनपुर १ मा टिकट हत्याउन सत्तारुढ गठबन्धनका यी दुई नेताले खेल्दै छन् यस्ता दाउ

महेन्द्रनगर । सत्तारुढ गठबन्धनका दुई नेता दलभित्र आफूलाई बलियो देखाएर टिकट हात पार्ने दाउ अपनाएका छन् । माओवादी केन्द्रका साँसद विना मगर र काँग्रेसका नेता दिवान सिह विष्ट कञ्चनपुर निर्वाचन क्षेत्र नं. १ मा सत्तारुढ गठबन्धनबाट प्रतिनिधि सभा सदस्यका आकाँक्षी छन् । उनीहरु दुबैले प्रतिनिधि सभा सदस्यको टिकटका लागि सबै हत्कण्डा अपनाउन थालेका छन् ।

दुबै जना प्रतिनिधि सभा सदस्यको टिकटका लागि एकल सिफारिश गरिएका छन् । माओवादी केन्द्रका साँसद मगरको बिहीबार सुदूरपश्चिम प्रदेश कमिटीमा एकल नाम सिफारिश गरिएको छ । काँग्रेसका विष्टको गत साता प्रदेश समितिमा नामावली सिफारिश गरिएको थियो । विष्टले निर्वाचन क्षेत्र नं. १ बाट समानुपातिकमा समेत एक जनाको नाम सिफारिश गरेका छन् ।

यस क्षेत्रमा माओवादी साँसद काँग्रेसको सहयोगमा दोस्रो पटक चुनाव जित्ने आकाँक्षा राखेकी छन् । उनी २०७४ को निर्वाचनमा काँग्रेसका विष्टलाई फराकिलो मत अन्तरले पराजित गरी निर्वाचित भएकी थिइन् । उनी एमालेसित गठबन्धन गरी निर्वाचित भएकी हुन् । त्यस अघि २०७० को संविधान सभा सदस्य निर्वाचनमा विष्टले उनलाई पराजित भएका थिए । संविधान सभा सदस्य निर्वाचनमा साँसद मगर तेस्रो स्थान हासिल गरेकी थिइन् ।

साँसद मगर माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालकी बुहारी हुन् । अघिल्लो निर्वाचनको प्रचारका क्रममा उनका श्रीमान प्रकाश दाहालको निधन भएको थियो । श्रीमानको निधन भएपछि उनले चुनावमा सहानुभूति पाएर विष्टलाई फराकिलो मतले हराएकी हुन् ।

सत्तारुढ गठबन्धनमा चुनावी तालमेल गर्ने निर्णय भएपछि कञ्चनपुर क्षेत्र नं १ माओवादी केन्द्रले लिएर साँसद मगरलाई लडाउन सक्ने आशंका गरिएका थिए । बिहीबार माओवादी जिल्ला कमिटीले साँसद मगरको नाम एकल सिफारिश गरेपछि मगर चुनाव लड्ने आशंका बलियो बनेको छ । सत्तारुढ गठबन्धनमा चुनाव लड्न उनी आफ्नो क्षेत्रबाट एकल सिफारिश भएको नेताहरुको भनाई छ ।

साँसद मगरको माओवादी हेडक्वाटरसित सिधैं सम्बन्ध भएपछि माओवादी नेताहरु उनीसित उम्मेदवारका लागि आकाँक्षा राख्न समेत डराएका छन् । २०७० को संविधान सभा सदस्य निर्वाचनपछि साँसद मगरसित नेताहरुका टिकटका लागि आँकाक्षा राख्न समेत नसक्ने अवस्थामा छन् ।

संविधान सभा सदस्य निर्वाचनमा माओवादी केन्द्रका युवा नेता गगन सिहले साँसद मगर विरुद्ध उम्मेदवारी दिएका थिए । माओवादी केन्द्रले छलफलपछि सिहले फिर्ता लिएका थिए ।

अहिले पनि माओवादी केन्द्रका नेता कार्यकर्ता साँसद मगरसित आन्तरिक रुपमा असन्तुष्टि छन् । अध्यक्ष दाहालकी बुहारी भएकाले मौन बसेर पार्टीमा बसेका छन् । उनीसित असन्तष्ट नेता भने पार्टी छाडेर अन्यत्र जान थालेका छन् ।

काँग्रेस नेता विष्ट पनि साँसद मगरलाई पराजित गरी अघिल्लो निर्वाचनको हारको बदला लिने दाउमा छन् । उनी मगरलाई कुनै पनि हालतमा सत्तारुढ गठबन्धनबाट उम्मेदवार हुन नदिने पक्षमा देखिएका छन् । त्यसका लागि विष्टले निर्वाचन क्षेत्र नं. १ मा चुनावी तालमेल नगर्ने निर्णय समेत गरि सकेका छन् । स्थानीय तह निर्वाचनमा पनि क्षेत्र नं. १ मा सबैभन्दा पहिलो तालमेल नगर्ने निर्णय भएको थियो ।

निर्वाचन क्षेत्र नं. १ मा काँग्रेसका नेता विष्ट बलिया छन् । काँग्रेस संस्थापन इतरका विष्ट आफ्नो क्षेत्र माओवादीको भाग पर्न नदिने रणीनीति बनाएर अघि बढेका छन् । उनले चुनावी तालमेलपछि काँग्रेस संस्थापन इतरका नेताहरुलाई भेटेर आफ्नो क्षेत्र माओवादीलाई नदिन सचेत गराई सकेका छन् ।

काँग्रेस सभापति शेर बहादुर देउवाले क्षेत्र नं. ३ र २ लिएर क्षेत्र नं. १ माओवादीलाई छाड्न सम्भावना सबैभन्द बढी भएको काँग्रेसका नेताहरु बताउँछन् । उनीहरुका अनुसार प्रतिनिधि सभा सदस्यका उम्मेदवार विष्टलाई प्रदेश सभा सदस्य ख बाट टिकट दिन पनि छलफल समेत गरिएका छन् ।

संविधान सभा सदस्य विष्टलाई मनाउन नसकी चुनावमा जाँदा सत्तारुढ गठबन्धनले नराम्रो नजिता व्यहोर्न सक्ने आशंका गरिएका छन् । माओवादी अध्यक्ष दाहालसित साँसद मगर जोडिएकाले विष्टलाई खुसी बनाएर अघि बढ्न पक्षमा काँग्रेस नेताहरु देखिएका छन् ।

काँग्रेसका तीन नेताका कारण सभापति देउवा विवादमा आउने अवस्थामा पुगेका छन् । संस्थापन इतरका विष्टले सभापति देउवालाई दबाव पुग्ने गरी आफ्नो एकल नाम सिफारिश गरेका छन् । लेखक र साउँदसित टिकटका अन्य आकाँक्षीका नाम पनि सिफारिश गरिएका छन् ।

‘लेखक र साउँद दुबै देउवाका विश्वासिला नेता हुन्, दुबै जना देउवाको प्राथमिकता पर्छन्, त्यसो हो भने संस्थापन इतरका विष्ट बाहिरन सक्ने ठूलो सम्भावना हो’ काँग्रेसका एक नेताले भने,‘त्यहीं भएर विष्टले आफूसित सबै पार्टी पंक्ति रहेकोले टिकट दिन दबाव पुग्ने गरी एकल नाम सिफारिश गरेका छन्, पार्टीभित्र यसले पनि ठूलो अर्थ लाग्छ ।’

कञ्चनपुरमा काँग्रेस संस्थापनका दुई नेता लेखक र साउँदका आ–आफ्नै समूह छन् । काँग्रेस १४ औं महाधिवेशनमा साउँद र विष्ट समूहले तालमेल गरेका थिए । लेखक समूह काँग्रेसको पूरानो संस्थापनका नेतालाई तान्न लागि परेको छ ।
काँग्रेसका यी नेता तीन क्षेत्रमा बलियो छन् । आफ्नो क्षेत्र बाहेक अन्य सबै क्षेत्रमा यी नेता कमजोर अवस्थामा दरिएका छन् ।

काँग्रेस नेता विष्ट सार्वजनिक कार्यक्रममा साँसद मगरको आलोचना गरी आफ्नो पक्षमा चुनावी माहौल बनाउन लागेका छन् । उनले शुक्रबार काँग्रेसको कार्यक्रममा साँसद मगरलाई लक्षित गर्दै सिक्ने समेत नभाँच्ने नेतालाई जिताउन नसकिने भनेर भाषण गरेका छन् ।

Sisu
सम्बन्धित
Loading...